जीवनमा एकदिन मर्नु छ
अजम्बरी को छ र यहाँ ?
बाचुञ्जेल सत्कर्म रोपेर पुण्य कमाऔं
पुरानो रितिथिति तोडौं
कुसंस्कारको भण्डाफोर गरौं
मान्यजनले सिकाएको सिको बोकौं
फजुल खर्च अब हामी मिलेर रोकौं
मरेर जाने त गइजान्छ
बाँच्नेले भार बोक्छ
यो विधिको विधान हो
एकदिन बिलिन हुनुपर्ने
मानवीय चोला मानव शरीर हो ।
हो, वास्तवमा मृत्यु शास्वत सत्य हो । यसलाई कसैले रोक्न र छेक्न सक्दैन । जीवनमा मान्छे जन्मिने मात्र हो, धर्तीमा नमर्ने हो भने देशमा भोकमरी लाग्छ, खाधान्नको समस्या हुन्छ । यसैले जन्मदै भगवानले हामीलाई जन्मेपछि संसार छोडेर जानुपर्छ भनेर मानिसको रुप बनाएर यो धरामा जन्मको रुप दिएका हुन् । हुन पनि हामी यो भौतिक संसारमा जन्मियौं, हुर्कियौं, खेल्यौं, पढयौं, आफ्नो योग्यता अनुसारको जागीर खायौं । दुःख – सुख परिवार चलायौं, जेनतेन जीवन धान्यौं । माया, मोह एकअर्कामा बाँढ्यौं तर एकदिन ईश्वरको सामु झुक्नैपर्छ, यो संसार छोडेर जानैपर्छ सबैले । तर जीवनमा कहिले हार खानु हुन्न । मानिसको यो चोलामा हामी जत्तिको एउटा चेतनशील प्राणी भएर जस्तोसुकै परिस्थितिलाई सामना गर्नैपर्छ, दुःख मान्नु हुन्न । बाँचुञ्जेल सत्कर्म गर्नुपर्छ । मृत्यु संस्कारलाई मान्नुपर्छ ।
अब मैले अघि सारेको प्रसंग मृत्यु संस्कारमा केन्द्रीत होऔं । जैमिनी सूत्रमा ‘संस्कार’ शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थ हो भन्ने बुझिन्छ । यसको अर्थ शुद्ध वा पवित्र पार्नु भन्ने बुझिन्छ । सनातन धर्म एवं जीवन शैलीमा मानव जीवनलाई शुद्ध बनाउन विभिन्न संस्कारको व्यवस्था गरिएको पाइन्छ । यसरी नै मृत्यु संस्कारमा जीवनमा बदनाम भएको कुरालाई सुनाम बनाउने, विग्रिएको कुरालाई सपार्ने जिम्मेवारी पनि समाजकै हो । त्यसैले त, परापूर्वकालदेखि चलिआएको १३ दिने मृत्यु संस्कार अहिले आएर घटाएर ५ दिने बनाउने बहस चलिरहेको छ । यो समाजको आवश्यकता पनि होला । तर मुख्य चाहिँ हामीले हाम्रा संस्कारका कतिपय राम्रा कुरालाई वेवास्ता त गरिरहेका छैनौं ? वास्तवमा किन गरिरहेका छौँ, गर्नुपर्ने कारण के हो ? यो सब बहसको बिषय बन्नुपर्ने हो तर यहाँ दुईखाले मानवीय प्रवृत्ति भएकै कारणले गर्दा हाम्रा संस्कारहरुभित्र बिकृति र विसङ्गतिको जालोले हामीलाई फनफनी बेरेको छ । एउटा गरिब जो बाँच्नका लागि संघर्ष गर्छ तर उसैको घरमा अकस्मात कसैको मृत्यु भयो भने कात्रो किन्नेसम्म रकम नभएको हामीले देखेका छौं । त्यतिमात्रै कहाँ हो र ? मलामीजनहरुलाई घाटसम्म पुर्याउने गाडीको जोहो , विभिन्न प्रकारका फलफुलको व्यबस्थापन अनिवार्य गर्नुपर्दा एउटा श्रमिकका परिवारले यो सबै धान्नुपर्दा कतिसम्मको भार खेप्नु पर्ला ? यो चिन्ता र सरोकारको विषय धनी वर्गहरुलाई कहिले भएन । साधारण खर्चमा धार्मिक विधिका साथ गर्नुपर्ने कार्जे आज बहुमूल्य खर्च गरेर कर्म गर्नुपर्ने अवस्था छ । चाहे धनीले होस् चाहे गरिबले होस्, स्वच्छ खानेपानीको मात्र व्यवस्थापन गरेर धेरै मात्रा चलिआएको फलफूललाई कटौती गर्न सके सबैलाई आर्थिक भार हुँदैनथ्यो । आखिर मलामीहरु घाटसम्म पुगेपछि दाहसंस्कार गर्न चितामाथि दाउराको छेस्को अर्पण गर्नेबित्तिकै सरासर घर फर्किनेको ताती देखिन्छ । हिजोआज लामो समयसम्म कोही बस्दैनन् भने महंगा फलफूलमा खर्च गर्दा मृत्यु बारेर बस्नेहरुका परिवारहरुलाई कति आर्थिकभार भएको होला ? त्यो सम्म बुझिदिने मानिसको अभाव भएकै हो ? त्यतिमात्र होइन १३ दिनसम्म अलिनो खाएर काजक्रियामा बस्ने परिवारहरुलाई दैनिक रूपमा हुँदैगरेको विविध सामानहरुको खर्च र तामझाम हेर्दा अनि के दान दिनैपर्ने, के बुझाउनुपर्ने अनि ब्राह्मणलाई महँगो सामान खरिद गरिदिनुपर्ने धार्मिक मान्यतालाई अबको युवा नेतृत्वले परिमार्जन गर्नतिर लाग्नुपर्ने अवस्था आएको छ । हुनेखानेले त पर्याप्त मात्रामा दानदक्षिणा देलान् तर हुँदाखानेहरुले कसरी मृत्यु संस्कार टार्लान् ? यो सोचनीय विषय बन्न जरुरी छ । मृत्यु संस्कार गर्दा लाग्ने फजुल खर्च एउटा गरिब समुदायका परिवारलाई दिनसके उनीहरूको परिवार कति खुसीले मन शान्त बनाउला ? यो सम्म बुझ्न जरुरी छ । मैले यहाँ उठान गरेको बहस कुनै धर्म र सम्प्रदायमाथि लक्षित होइन । मैले संस्कार मान्ने कुरामा फजुल खर्च नगरौं मात्र भन्न खोजेको हुँ । आफ्ना पितृहरुको कर्म गर्नुपर्छ तर भावी सन्तानले ऋणको भारी भोग्नु नपरोस् । एउटा पुस्ताले बोकाएको भारी सात पुस्तासम्म भोग्नु नपरोस् भन्ने नै हो ।
मृत्यु एक शाश्वत सत्य हो, यसलाई कसैले पनि नकार्न सक्दैन । परिवारको कुनै सदस्यको देहावसान भयो भने परिवारजन सबै शोकमा डुबेका हुन्छन् । कुनैपनि ब्यक्ति दिवङ्गत भएमा उनका नातेदार, इष्टमित्र तथा शुभचिन्तकहरु मृतकका घरमा भेलाभएर परिवारलाई सान्त्वना दिन र आत्माको चिर शान्तिको कामना गर्नु नै हामी सम्पूर्ण धर्मावलम्बीहरुको नियमित प्रक्रिया हो । यही भएर नेपाल एक बहुभाषिक र बहुजातीय देश हो । हाम्रो देश नेपालमा धेरै जातजातिहरुको बसोबास छ, पहिचान छ, नयाँ नयाँ कला, संस्कृतिहरु छन् । त्यसलाई वैरभाव नराखी आ – आफ्नो तरिकाले बचाउन सक्नुपर्छ । हामी नेपाली – नेपालीबीच कटुता सम्बन्ध हुनु भएन । एकले अर्को जातको मृत्यु संस्कारलाई सम्मान गर्नुपर्छ । यसो गर्न सके हामी नेपालीहरुलाई कसैले पनि फुटाउन सक्दैन । मृत्यु संस्कार मनाउने क्रममा कतिले कपुरथान बनाएर लासलाई पुर्छन्, आगो लगाउँदैनन् । आफ्नो रितितिथि अनुसार कर्म गर्छन् । यो उनीहरूको मौलिक अधिकार हो यसलाई कसैले हनन् गर्नु हुन्न । बरु मृत्यु संस्कारको काममा नचाहिँदो बढी मात्रामा गरिदै आएको खर्च कटौती गर्नु चाहिँ उत्तम काम हो । यदी हामीले गर्नुपर्ने विधिहरु गरेनौं भने मृत जीवले प्रेत योनीबाट छुटकारा नपाउने धार्मिक भाव छ भने यसरी छुटकारा नपाएको प्रेतलाई वायु पनि भनिन्छ । उसले नूतन देह धारण गर्न नपाएकोले वायु वा हावाको रूपमा रहेको हुन्छ र उसले ज्यादै दुःख पाँउछ भन्ने मान्यता छ । त्यसकारण त्यस वायुले आफ्नो परिवारमा दुःख दिने, रोगी बनाउने, धनसम्पत्तिमा नोक्सान पुर्याउने आदि काम गर्छ भनिन्छ । त्यसकारण हामीले सोचबिचार नगरी शास्त्रमा उल्लेख नै नभएको कर्मको खर्चिलो विधिलाई नअपनाऔं । यी कुराहरुमा गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । मानिस मरेपछि उसको आत्मा प्रेत बन्छ र प्रेत अवस्थाबाट मुक्ति दिलाउन तन्त्रमन्त्रको साहरा लिनुपर्छ र भएको आत्मालाई सकुशल स्वर्ग पठाउन दानदक्षिणा गर्नुपर्छ भन्ने कुरा पनि बिलकुल झुट्टा र कपोकल्पित भन्दा अरु केही होइन भन्ने लाग्छ । संसारमा जे जति प्राणी छन् ती सबैको मृत्यु अस्वयमभावी छ भन्ने प्रकृतिको नियमलाई कसैले रोक्न छेक्न सक्दैन । प्राणीमध्ये पनि मानव मात्र त्यस्तो प्राणी हो जसले आफ्नो मृत्यु हुन्छ भन्ने बोध गर्छ । त्यसैले उसले मृत्युलाई पनि संस्कार दिएर मृतकप्रति सहानुभूति राख्छ । वर्षौसम्म मृतक सम्झेर रुन्छ, भावुक हुन्छ र उनीहरूको गुनको वखान गरिरहन्छ । मृत्यु संस्कार देश, समाज र संस्कृति अनुसार फरक – फरक हुन्छ । तर, शोकको अनुभव र दुःख भने संसारभरका मृतकका आफन्तलाई उस्तै हुन्छ नै । त्यसकारण केही संस्कृतिका भाष्य अनुसार मृत्यु संस्कार मानिसका जीवनका कठिन समयलाई सामना गर्ने र विगतलाई छाडेर अगाडि बढ्नका लागि एउटा सान्त्वनाको वस्तु हो । तसर्थ, बोझिलो मृत्यु संस्कार भन्दा म मर्छु एकदिन बाचुञ्जेल समाजका लागि केही कर्म गरौं भन्ने सोचले हामी मानव अघि बढौं ।