सम्पादकीय

दोषी पक्रन र उपचार खर्च व्यवस्थापन आवश्यक

गत वैशाख २१ मा दमकमा गोली प्रहारबाट सख्त घाइते भएकी एक किशोरी खर्च अभावले अस्पतालबाट डिस्चार्ज हुन नसकेको विडम्बनापूर्ण अवस्था छ । दिनदहाडै दमक बजार क्षेत्रमा गोली प्रहार हुनु, त्यसको दोषी हालसम्म पक्राउ पर्न नसक्नु र घाइतेको जीवन बाँचेपनि उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट घर जान नसक्नु विडम्बनापूर्ण अवस्था हो ।

उदयपुर घर भएकी दलित किशोरी दमक ५ मा आफ्नी दिदीकोमा बसेर हिमालय माविमा कक्षा १२ मा पढ्दै थिइन् । उनी मोडल क्याम्पसको परीक्षा केन्द्रबाट परीक्षा दिएर निस्किइ कोठातर्फ जाँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भयो । प्रहार भएको गोली उनको पेटमा लाग्यो । गोलीको छर्रा लागेर उनको आन्द्रामा सात वटा प्वाल परेको थियो । स्थानीय लाइफलाइन अस्पतालमा उपचाररत उनलाई अस्पतालले चारदिन अघि नै डिस्चार्ज दिएको थियो । उपचारका क्रममा करिब ६ लाख रुपैयाँ खर्चको बिल भएको र सो रकम तिर्न नसक्दा उनी डिस्चार्ज हुन नपाएकी हुन् । आर्थिक अवस्थाले कमजोर उनको परिवारमा आफुसँगै राखेर पढाउँदै आएकी उनकी दिदीले ऋण गरेर करिब डेढ लाख अस्पताललाई बुझाएको र बाँकी रकम तिर्न असमर्थ भएको पीडादायी अवस्था छ ।

उनी बाँचेकोमा खुसी भएका उनका विद्यालयका विद्यार्थीहरुले उनी पैसा अभावमा बन्धक सरह हुनुपरेको अवस्था बुझेपछि खाजा खान ल्याएको पैसा काटेर उपचार खर्च जुटाए । शिक्षकहरुले समेत गरेर ४५ हजार बढी रकम आर्थिक सहयोग पुर्याए । तर त्यतिले कत्तिपनि धानेन । विद्यालयले पनि उनको उपचारमा नगरपालिका सहितका संघ संस्थामा सहयोगको अनुरोध गर्यो । अहिलेसम्म उनलाई आवश्यक पर्नेजति रकम जुटन् सकेको छैन । समस्या टर्न सकेको छैन । परिवार चिन्तामा छ ।

एकातिर बल्लतल्ल छोरीको ज्यान बँचेको भएपनि पैसाको अभावमा घर लान नपाएको पीर । अर्कातिर गोली हान्ने व्यक्ति पक्राउ पर्न नसकेको त्रासपूर्ण चिन्ता ।

ती किशोरीले आफुलाई करिब दुई वर्ष अघि सिराहाका शिक्षक अमितकुमार यादवले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि यादव विरुद्ध पक्राउ पूर्जी जारी भयो । त्यसयता फरार उनले मुद्दा फिर्ता लिन नमान्दा किशोरीमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको हुनसक्ने परिवार र पीडितको भनाई छ । सोही बमोजिम प्रहरीमा यादव विरुद्ध उजुरी दिइएपनि अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको भन्दै परिवारले दुःख व्यक्त गरेको छ । परिवारले असुरक्षा महसुस गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाले दोषीको खोजी भइरहेको जनाइरहेको छ । तर पनि दोषी पक्राउ पर्न नसक्दा परिवार त्रासमा छ । फेरि कतैबाट आक्रमण हुने होकि भन्ने त्रासले समेत सताएको छ । यस्तो अवस्थामा प्रहरी प्रशासन सहित सरकारका निकायले किशोरीलाई भयरहित वातावरणमा जिउने सुनिश्चिता प्रदान गर्नु अति आवश्यक छ । त्यसका लागि सर्वप्रथम दोषी भनिएका व्यक्ति पक्राउ गरेर निष्पक्ष छानविन गर्नु पहिलो काम हुन आउँछ । अर्कातर्फ, उनलाई उपचार खर्च व्यवस्थापन गराएर घर फर्काउनु आवश्यक छ । यसका स्थानीय सरकारले नजिकबाट अप्ठेरो परिस्थिती नियाल्नु पर्ने देखिन्छ ।

कोशीमा विकास तथा सुरक्षाका दृष्टिले अगाडि ठानिएको दमक बजार क्षेत्रमै विद्यार्थीमाथि दिनदहाडै गोली प्रहार हुनु र हालसम्म दोषी पक्राउ पर्न नसक्नुले सुरक्षाको अवस्था यथार्थमा चाँही कमजोर रहेको देखाउँछ । आम नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षा निकायले संरक्षण गर्ने कुरामा चुस्तता आवश्यक छ । त्यसमा पनि महिला वर्ग अझ संरक्षण गर्नुपर्ने वर्गमा पर्छ । अझ आर्थिक अवस्थाले कमजोर तथा जातीय हिसावले पनि होचोअर्घेलो अवस्था भोग्दै आएको दलित समूदायकी किशोरीमाथिको यस्तो घटनाले भूँइमान्छेको नियतिलाई दर्शाउँछ ।

Author

You may also like