स्वभावैले हामीले कहिलेकाही आक्कलझुक्कल नगरौ भन्दापनि गल्ती गर्छौं अनि डर लाग्छ । यो सबैलाई हुने डर हो । डरका अनेकन प्रकार छन खुसी हुँदा नि डर लाग्ने काम बिगार्दा नि डर लाग्ने जे कुरामा पनि हाम्रो हृदयमा डरले जरो गाडिसकेको हुन्छ । तर डरलाई हाम्रो मष्तिष्कमा राखिरहयो भने एक न एकदिन हामी फन्दामा पर्छौ तर डरलाई मनभित्र राख्न सकेमा डर कहिलेपनि लाग्दै लाग्दैन, यो शाश्वत सत्य हो । हामीमा डर त्योबेला लाग्छ जुनबेला हामीले गलत गर्छौ । यहाँ मैले के कुरा उठान गर्न खोजेको हु भने डर भन्ने शब्द मनभित्रै उत्पन्न हुने कुरा हो । यो सबैलाई लाग्छ भने मान्छेको मनपनि गम्भीर, व्यापक र जटिल हुन्छ । चेतन, अचेतन, अवचेतन, अर्धचेतन मनभित्र मान्छेको रुप, अवयव विविध हुन्छन यसलाई क्रमशः आफैले रोक्ने प्रयत्न गर्न सक्नुपर्छ । यदि रोक्न सकेन भने गम्भीर दुर्घटना हुन सक्छ । हो आज नेपालमा कलाकारहरुले यस्तो अभिनय गरेर बाटोमै डर देखाए कि निलो पहिरनमा गालामा रातो रगत लेपिएको चोट लागेर रक्ताम्मे भएर सडकमा उभिएका दृश्यहरु आजभन्दा दुईहप्ता अघि प्रमुख सहरहरुमा देखिए । कतिले टिकटकमा यो दृश्यहरु पोष्ट गरे, भ्यूज कमाए । धेरैले नकारात्मक टीकाटिप्पणी गरे । कलाकारको खिल्ली उडाए, वास्तवमा त्यो खिल्ली उडाउनु उचित देखिएन किनकि ती रक्ताम्मे दृश्यले के बोध गरेको छ ।
सत्य– तथ्य र वास्तविकता के हो ? कथाका परिदृश्यले के खोजेको हो ? किन खोजिएको हो ? त्यो सम्म हामी सभ्य नागरिकले बुझ्न भने सकेनौ । यो नै हाम्रो दृष्टिदोष हो भन्न सकिन्छ । अघि बढाइएका अनुहार, अभिनयले के बोध गरेको छ , त्योसम्म बुझेर प्रतिक्रिया दिन नसक्नु हाम्रो घामडपना हो । हामीले त बुझ्न सकेनौ, अनि अरु कसले बुझिदेला, यहाँ प्रश्न यस्तो तेर्सिएको छ कि हामी सचेत र सजग ब्यक्तिहरुले बुझ्न जरुरी छ । अब प्रसङ्ग बदलौ कि यही सडकका रक्तिम अनुहारहरुको । यो सडकमा देखिएका अनुहारहरु हुन कलाकार पृयङका कार्की लगायतका नयाँ पुराना अनुहारहरु देखिए, सडकमा । हिजोदेखि आजसम्म सडकमा देखिएका ती अनुहार र रगतका टाटा लागेका पोशाकहरु अहिलेसम्म देखिएका थिएनन । जुन दृश्य हामीले चलचित्र प्रदर्शन हुनुभन्दा अघिनै देखिए तर सस्पेन्समा देखिए कसैले यो चलचित्रको हो भनेर ठम्याउन सकेनन । हो, आज यस्तै घटना जीवनमा “डर” भन्ने शब्दावली बोकेर नेपाली माटोमा आएको नेपाली कथानक चलचित्र “ममी” को यथार्थ कथा परिवेश बोकेर आएको चलचित्र तपाईं पाठक माझ लेख बनाएर आएको छु । प्रसंग मोडौ, जसरी प्रेम कथानक चलचित्र हेरेर प्रेमिल अनुभूति गर्छौ , जसरी मोटिभसनल चलचित्र हेरेर उत्प्रेरित गर्छौ, जसरी इमोसनल चलचित्र हेरेर रुन्छौ, त्यसरीनै हरर–डर ÷ आतंक ) चलचित्र हामी हेरेर डराउछौ । अर्को अर्थमा भन्ने हो भने, यो चलचित्र भनेको सिसाका गुच्छाहरुको पिरामिड जस्तै हो, त्यहाँ एउटा गुच्छामात्रै छिसिक्क तलमाथि भइदियो भने सिङ्गै चलचित्र भताभुङ्ग हुन्छ ।
त्यसरीनै भताभुङ्ग हुनबाट जोगिएको एउटा मात्र चलचित्र हो, ममी । जुन चलचित्र गत माघ २५ गते देश भर चलिरहेको छ । साचो अर्थमा भन्ने हो भने प्रेम, खुसी, सफलता र दुःख जस्तै डर पनि मानवीय गुण हो । त्यसैले त हलिउडमा डर, चिन्ता, उत्तेजना, मनको तरंग, आवेग, सुपरन्याचुरल हरर, फोक हररले बकस अफिसमा धमकेदार कमाइ गरिरहेका हुन्छन । बलिउडमै पनि हरर कमेडी चलचित्रहरुले बक्स अफिसमा उछाल कमाइरहेकै छन । सबैभन्दा पहिले दर्शकलाई चलचित्रको कथा ÷ पटकथामा घुसाउनु, एकपात्र भएको महसुस गराउनु अनि भय र कौतुहलता सिर्जना गर्नु, त्यसपछि दर्शकको मुटु डरले “ढक्क” फुलाउनु एकपटक मात्रै हो र, पटकपटक मुटुको स्पन्दनमा तरंग पैदा गर्नु निक्कैनै चुनौतीपूर्ण काम हो । यसका लागि कथामात्रै बलियो भएर पुग्दैन । कथाको प्रस्तुतीकरण पनि उत्तिकै सुन्दर र कलात्मक हुन आवश्यक छ । यसमा सानो ब्याकग्राउण्ड आवाजले मात्रै पनि धेरै ठूलो भूमिका खेलिदिन्छ । छिसृक्क आउने सानो आवाजको हर्जमा डरको ठूलो मेघाहर्ज हुन्छ । तर यतिकै आवाज आउनासाथ दर्शक डराइहाल्नु भने हुँदैन । डर पैदा गर्न पनि पृष्ठभूमि चाहिन्छ । त्यो पृष्ठभूमिमा कथाको जति अहम भूमिका हुन्छ, उत्तिकै ठूलो भूमिका हुन्छ प्रकाशको संयोजन र सिनेमाटोग्राफीको । उत्तिकै ठूलो भूमिका हुन्छ कस्ट्युम डिजाइन र सेटिङको । यो सबै देखे, भोगेको छ र अनुभव गरेको छ यो लेखकले । हरर चलचित्र भनेको सिसाका गुच्छाहरुको पिरामिड जस्तै हो, त्यहाँ एउटा गुच्छामात्रै छिसिक्क तलमाथि भइदियो भने सिङ्गै चलचित्र हुन्छ । यसरी भताभुङ्ग हुन्छ । यसरी भताभुङ्ग हुनबाट जोगिएको एउटा स्पष्ट भिजन छ “ममी” चलचित्रमा । अहिले हलहरुमा लागिरहेको नेपाली हरर चलचित्र “ममी” धेरै हदसम्म दर्शक तर्साउने आफ्नो उद्देश्यमा सफल छ यो चलचित्र । यो एउटा पारिवारिक कथामा आधारित चलचित्र हो । बाल्यकालदेखिनै मानसिक टूमाबाट गुज्रिएकी सपना (प्रियङका कार्की ) को एक छोरा र एक छोरी छन । श्रीमान (सुलक्षण भारती ) स्वयं मनोचिकित्सक हुन । तर, सपनाको मानसिक समस्याले उसको नीजि जीवनसंगै पारिवारिक जीवनमा पनि समस्यै समस्या पैदा भएको छ । मानसिक समस्याको नियन्त्रणका लागि औषधि खाइरहेकि छिन । जति औषधि खाएपनि बाल्यकालिन टूमाले उनलाई लखेट्न छाडदैन । सङ्गै १९ बर्षको उमेरमा बलात्कृत भएको पीडाले पनि लखेट्न छोडदैन । सङ्गै आफ्नो श्रीमान परस्त्रीगमन बारे पनि उनलाइ थाहै छ ।
यी यावत कारणले सपना बाइपोलरडिस अर्डरबाट ग्रस्त भएकी छिन । यो भनेको अत्याधिक रूपमा मुड स्विङ्ग हुने समस्या हो । मानसिक स्वास्थ्यसङ्ग जोडिएको एकप्रकारको डिप्रेसन हो , यो । उता सपनाको श्रीमान भने बाइसेक्सुअल छन । उ महिला र पुरुष दुबैसङ्ग शारीरिक सम्बन्ध राख्छ । यता दुई बालबच्चासंग घर गृह्स्थी चलाइरहेकी सपनालाई ट्रमाहरुले चैनले बस्न दिँदैनन । उनलाई ओभर थिङ्ङ्गिको समस्या छ । बेलाबेलामा आफ्नो गल्तीनै नभएको घटनाको समेत आफूलाई दोष दिन्छिन । सपनाले मानसिक बिरामीबाट उन्मुक्ति पाउछिन त ? के सम्पूर्ण टूमाबाट बाहिर निस्कन सक्छिन ? को हो उसको मानसिक समस्याको फाइदा लुटेर बलात्कार गर्ने मान्छे ? उक्त बलात्कारीसङ्ग बदला लिन सक्षम हुन्छिन त ? यिनै प्रश्नको जवाफ दिदै चलचित्रको कथा अगाडि बढेको छ । र कथाले क्लाइमेक्ससम्म पुग्नलाई हररको बाटो अपनाएको छ । पहिलो हाफ त जबरदस्त छ । एउटा सुन्दर परिवारको नयाँ सदस्य बनेर कालो बिरालो आउँछ । बिरालोलाइ जबरजस्ती छोरीले घरभित्र ल्याउछे । जबकि बिरालोसङ्ग सपनाको बाल्यकालिन टूमा जोडिएको छ । तर , छोरीप्रतिको स्नेहका खातिर उ बिरालोलाई घर भित्र्याउन राजी हुन्छे । यसपछि कालो बिरालोसङ्गै अगाडि बढेको कथा र कथामा आउने टुरिष्टहरुले दर्शकलाई डरको आनन्द दिदै जान्छ । यहाँ दोश्रो हाफ थोरै स्लो देखिएको छ । कथा ज्यादा जसो इमोसनल फ्लास ब्याकमा अलमलिएको छ कताकता अल्मलिएको देखिन्छ । हुन त स्वभावैले नेपाली कथा ÷ पटकथा शुरुमा अन्त्यमा कहिँ न कहिँ अपुरो र अधुरो देखिन्छ नै । जही त्यही स्पष्टीकरण र अल्झिएका दृश्य धेरै छन । पहिलो हाफमा जस्तो आक्रामक रूपमा डरहरु पैदा गर्दैन । तर सपनाको टूमाका जडहरु खोतल्दै कथा अघि बढेको छ । पहिलो हाफजस्तै आक्रामक हुन सकेको भए यो चलचित्र अझै अब्बल हुने थियो । निर्देशक समर निरौलाले गज्जबले डिटेलिङ्गमा काम गरेका छन । प्रकाशहरुको संयोजन राम्रो छ । कस्ट्युम डिजाइनमा पनि राम्रो मिहिनेत देखिन्छ । सिनेमाटोग्राफी गज्जब छ । कथाको प्लट पनि गज्जबले डिजाइन गरिएको छ ।
यदि दोश्रो हाफमा रहस्यहरु खुलाउनतिर मात्रै कथालाई बढी केन्द्रित नगरिएको चलचित्र अझै उत्कृष्ट हुनेथियो । कलाकारमा सपनाको भूमिका निभाउने प्रीयङका कार्कीको भूमिका अब्बल छ भने सुलक्षण भारती, दिया मास्केको अभिनयमा पनि कुनै खोट लगाउने ठाउँनै छैन । बालकलाकार जेभिष श्रेष्ठबाट अझै निखारयुक्त अभिनय पस्कन सकेको भए थप सुगन्धको कामगर्ने थियो । यसरीनै अरुपात्रहरु चकलेटी भएपनि यो चलचित्र दर्शकहरुका लागि सन्त्रासमय भएतापनि समग्रमा अहिलेसम्म यस्ता चलचित्र बनेका थिएनन अब यस्ता कथा समेटिएका कथाहरु दर्शकको मनमुटुमा बस्न सक्ने बन्दै जाउन । कथाकार, निर्देशक, निर्माता, कलाकार सबैमा यो कलमीको शुभकामना ।