देश–समाज समाचार स्थानीय

ताप्लेजुङको पाथीभरा केवलकार विवाद : काम रोकेर वार्ता गर्न संघीय सांसदहरुको माग

दमक/ ‘नो केबलकार समूह’ र प्रहरीबीच सदरमुकाम फुङलिङमा शनिवार साँझ भएको झडप परेर २३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलले बताए । प्रहरीतर्फ दुईजना प्रहरी निरीक्षकसहित ११ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा प्रहरी जवान मिना आङदम्बे, प्रहरी हवल्दार धर्मनाथसिंह नुनिया, प्रहरी जवान सुसान्त राई, प्रहरी जवान दिपक तामाङ, प्रहरी नायव निरीक्षक पदम लिम्बू, प्रहरी जवान तेजेन्द्र बिसुन्के, प्रहरी जवान रुपा राई , प्रहरी जवान बिशाल दाहाल, प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढई, प्रहरी निरीक्षक ओमप्रकाश पण्डित रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । त्यसमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी नायव निरीक्षक पदम लिम्बूको अबस्था गंभीर रहेकाले थप उपचारका लागि सुबिधासम्पन्न अस्पताल रेफर गरिएको छ ।
त्यस्तै आन्दोलनकारीतर्फ इटहरी ५ बस्ने अन्दाजी बर्ष ५० का कमल लिम्बू टाउकोमा चोट,नाकबाट रगत बगिरहेको अवस्था सामान्य (जिल्ला अस्पताल), ताप्लेजुङ फक्तालुङ गाउँपालिका वडा नं.६ बस्ने अन्दाजी बर्ष ४० का केसेङकुमार लिम्बू टाउकोमा चोट अवस्था मध्यम, तमोर अस्पतालमा उपचार भइरहेको , ताप्लेजुङ फुङलिङ ८ बस्ने अन्दाजी बर्ष ६० का कृष्ण खड्का टाउकोमा चोट अवस्था सामान्य(तमोर अस्पताल) घाइते छन् ।
त्यस्तै बिभिन्न स्थानमा आन्दोलनकारीहरुलाई घाइते अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यसरी उद्धार गरिनेमा इलाम थाक्थोकथुम गापा २ बस्ने बर्ष ३४ का रामकुमार राई दाहिने कुम खुस्किएको,दाहिने घुँडाको मुनिको हड्डी भाचिएको अवस्था मध्यम पाँचथर अस्पताल रेफर, ताप्लेजुङ फुङलिङ ४ बस्ने अन्दाजी बर्ष ५३ का असिम पालुङवा निधारको बायाँपट्टीको भागमा चोट अवस्था सामान्य, ताप्लेजुङ फुङलिङ ४ बस्ने अन्दाजी बर्ष २७ का समर लिम्बू बायाँ कुहिनाको हड्डी भाचिएको सुबिधासम्पन्न अस्पताल रेफर, ताप्लेजुङ आठराई त्रिबेणी १ निगुरादिन बस्ने बर्ष २१ का शिशिर लिम्बू टाउकोमा चोट सुबिधासम्पन्न अस्पताल रेफर, इलाम सूर्योदय १४ बस्ने अन्दाजी बर्ष २५ को मिलन साँवा, मिक्लाजुङ २ बस्ने अन्दाजी बर्ष ४९ का सन्तराई , जिल्ला अस्पताल ताप्लेजुङ, झापा अर्जुनधारा २ बस्ने अन्दाजी बर्ष ३६ का संजय लिम्बू , अर्जुनधारा ४ बस्ने बर्ष २६ की कोपिला चेम्जोङ,ताप्लेजुङ मेरीङदेन २ बस्ने अन्दाजी बर्ष ४३ का भवानसिंह लिम्बू रहेका छन् । डिस्चार्ज भएकाहरुलाई असिम पालुङवाले जिम्मा बुझेको बताइएको छ ।
डीएसपी रवि रावलले १५ जना आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिवार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका हुन् ।
यसैबीच, पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ । हिजो फेरि झडप भएपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । आइतवार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
निर्माण तत्काल रोकेर वार्ता गर्न सांसदहरूको माग
सांसदहरूले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आइतवार उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे।
‘सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको’, सांसद लिङ्देनले भने, ‘सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।’
अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए।
सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने बताए ।
सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन्। साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।

Author

You may also like