लेख विचार/वहस

मिटरब्याजी र बिचौलियाको बिगबिगी

कस्तो साह्रो बिगबिगी बढ्या छ नि नयाँ नेपालमा । जहाँ हेर्यो, जता हेर्यो मिटरब्याजी र बिचौलियाको बिगबिगी बढदो छ हिजोआज । हाम्रा नेताहरूले जेसुकै, जस्तोसुकै भाषण गरुन, क्रान्तिकारी उलटपुलट ल्याउने कुरा गरुन् । तर हुनेवाला केही छैन । सबैतिर लुट्ने, ढाँट्नेहरु बढ्या – बढ्यै छन् । यहाँ क्रान्तिकारी परिवर्तन कहिँ कतै छैन सबै लुट्ने, छल्ने सेटिङ्गमै मस्त छन् यो गणतन्त्रात्मक मुलुकमा ।

गरिब खान नपाएर रोजगारको खोजिमा छन् । उता मोजमस्ती गर्नेहरु बालुवाटार वरिपरि घुमिरहेका छन् । अनि कहाँ हुन्छ देशको विकास र उन्नति ? हुनेखानेहरु मस्तीमा छन् । यहाँ हुँदा खानेहरु चाउरी परेर बस्न बाध्य छन् । आखिर यो बनायो कसले ? यो कसैले पनि बनाएको होइन सबै तपाईं हाम्रै नेताहरुले बनाएका हुन् । हामी उनीहरूकै इसारामा नाचिरहेका छौँ । यसरी नाच्दानाच्दै मिटरब्याजी र बिचौलियाको बिगबिगीको चङ्गुलमा हामी जानीजानी फसेका छौँ । हो, आज यही बिषयवस्तुमा केन्द्रित रहेर समसामयिक बिषय उठान गर्दैछु जुन यथार्थपरक र वस्तुपरक बिषय छ । मेरो आजको बिषय भने नयाँ बिल्कुलै होइन यो समसामयिक बिषय मैले अगाडिका अंकमा उठाइसकेकै हुँ । तापनि फेरि पनि यिनै मिटरब्याजी र बिचौलियाहरुको हरबखत बजारमा होहल्ला र जनचासोको बिषय आएको हुँदा आज यसैको पेरिफेरिमा रहेर विचारको बहस उठान गर्दैछु । आखिर को हुन त मिटरब्याजी र बिचौलिया ? मिटरब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रक्रिया हो । यस प्रक्रिया अन्तर्गत कर्जा लिनेले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सातदेखि दशहजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुँदा लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने देखिन्छ । मिटरब्याजीहरुको कारोबार अदृश्य हुन्छ किनकि उनीहरूले यति रकम फलानोलाइ दिएको छ, कारोबार गर्ने ब्यक्ति उनी हुन् भन्नेसम्म अरुलाइ थाहै नदिइ दुई व्यक्तिबीच कारोबार गरिन्छ । यो कारोबार गर्ने व्यक्तिलाई अर्को अर्थमा भन्ने हो भने कालोबजारीसम्म भन्न सकिन्छ । कोही कोही व्यक्तिलाई कहिले काहीँ एक्कासी धेरै रकमको आवश्यकता पर्दछ कि खोजेको बेला तिनै मिटरब्याजीहरुले तुरुन्तै आवश्यकता टारी दिन्छन् । जो मान्छेले आफ्नो दैनिकी आवस्यकता तुरुन्तै पूरा गरिदिन्छन् उनीहरूको नजरमा मिटरब्याजीहरु एउटा भगवान सो सरह मानिन्छन् । यस्ता मिटरव्याजीहरु हिजोआज बग्रेल्ती रुपमा गोप्य कारोबारीको रुपमा देखापरेका छन् । खासगरिकन लघुवित्तीय सहकारीमा सदस्य बनेका सदस्यहरुकै नामबाट कर्जा प्रवाह गराएर ऋण लिएको देखिन्छ । मिटरब्याजको कारोबारमा यहाँ तीनवटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसंग भएको रकम दोश्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नलाई दिन्छ । दोश्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरको तेश्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित हुन्छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रूपमा पहिलो पक्षबाट ऋणलिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पुरै सावा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुली गर्नेगरेको पाइन्छ मिटरब्याजीहरुले । यसमा बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर रकम भएका तर आर्थिक कारोबार सम्बन्धी ज्ञान नभएका मनिस पर्ने गरेका छन् । सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् ।

विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटरब्याजमा लगाउने व्यक्ति आज ह्वात्तै बढेर गएका छन् । उनीहरू गोप्य रुपमा देशभर संचालित छन् । सहकारी तथा लघुवित्त संचालकबीच सहकार्य र मुनाफा बाँढ्ने नाममा उनीहरुबीच मिलिभगत भएको देखिन्छ । आज देशभर उनीहरूको समूह फैलिएको हुनाले गैरकानुनी मानिएको मिटरब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग सृजना भएको अवस्था छ । आज चर्को ब्याजदरमा ऋण लगाउने, जाली तमसुक बनाउने र ऋणीलाइ धम्क्याउने, झुक्याउने जस्ता कार्यमा संलग्नलाई कारवाही समेत नगरेको अवस्था छ । आज तिनैलाई संरक्षण दिनेहरुको जमात बढेको छ । आज यही भएर होला हरेक कामकुराको समाधान र न्याय पाउनका निम्ति हरेक आन्दोलनको सहर बनेको छ कान्तिपुर नगरीको माइतीघर मण्डला । यसमा किसान, व्यापारी, शिक्षक, सहकारी पीडित, मिटरब्याजपीडित, कानुन व्यवसायी, लघुवित्त पीडित लगायत अन्य धेरै संस्थाहरुको कार्यथलो बनेको छ राजधानी । पटकपटक आफ्ना मागलाई सरकारले सम्बोधन नगरेकै कारणले हिजोआज मिटरब्याज पीडितहरु भोकभोकै पैदल यात्रा गरेर आन्दोलनका निम्ति काठमाडौं आएका छन् । उनीहरुको भित्री मनले के सम्म भन्न थालेको छ भने कि–‘काठमाडौंले न्याय होइन, पीडा र झन अन्यायबाहेक केही दिन सकेको छैन ।’ यो सम्म आर्तध्वनि बोल्दासम्म सरकार चँु सम्म बोल्न नसक्नु एउटा लज्जाजनक कुरा हो । नागरिकले आफूलाई अन्याय भयो भन्दै गर्दा सम्म सरकार मौन बस्नु एउटा अन्याय हो ।

झापा र कञ्चनपुरबाट तीनसाता पहिले एकैसाथ पैदल यात्रा सुरु गरेर काठमाडौं केन्द्रित आन्दोलनमा सरिक हुँदा पनि उनीहरूको आवाज सम्बोधन नहुँदा हाम्रो देश नेपालमा के न्याय मरेकै हो भन्ने प्रतीत हुन्छ । मिटरब्याज पीडितहरुले घरबार नै छोडेर राष्ट्रिय राजमार्गको त्यत्रो लामो दुरी पैतालामा घाउसम्म हुँदा उनीहरूले आन्दोलन छोडेनन् । आन्दोलन किन गरियो ? केका लागि गरियो र किन गरिदैछ सम्म नबुझ्ने सरकार भएको कारणले गर्दा आज समस्यै समस्याको चाङ थुप्रिएको अवस्था छ अहिले । मिटरब्याजीहरुको सवालमा हिजोका दिनमा गरेको पाँचबुँदे सम्झौता बमोजिम सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियोे, जसले २८ हजार उजुरी लिनुका साथै ५ हजार मिलापत्र गराएको थियो हिजो । त्यसपछि प्रतिवेदन सरकारलाई बुझाएको बताइएको थियो । तर प्रतिवेदन कार्यान्वयनमा सरकारले हिजोदेखि आजसम्म चासो नदिएकै कारणले मिटरब्याजीहरुको कथा र ब्यथा अहिलेसम्म ज्यूँका त्यूँ छ । यतिमात्र होइन, ऋण रकम भन्दा बढीको तमसुकमा चर्को ब्याजदर तोक्ने र निश्चित समयभित्र नबुझाए साँवा र ब्याज गाभेर अर्को कागज बनाउने मात्र नगरी त्यसैका आधारमा जति तिर्दा पनि नपुग्ने मिटरब्याजी नामको सरासर ठगी धन्दामा गम्भीर नबन्दा र २३ हजार उजुरीबारे सही निर्णय नगरिदिदा पीडितहरु सुदखोरको थिचोमिचोमा परेका छन् । आज सुदखोरमा मात्रै होइन यो समस्या मिटरब्याजीको काम गरेर खानेहरु नेपालका सातवटै प्रदेशमा झाँङ्गिदै गएका छन् । यस्ता मिटरब्याजी र अनेक क्षेत्रका बिचौलियाहरुलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कार्वाही गर्नका निम्ति सरोकारवाला निकाय र सरकारी पक्षको पहल र वार्ताद्वारा चाँडोभन्दा चाँडो निकास होस् । मिटरब्याजी र बिचौलियाको बिगबिगीको अन्त्य होस् । सबलाइ चेतना भया ।

Author

You may also like