लेख

अनलाइन शिक्षा र यसको औचित्य

शिक्षा ब्यक्तित्व विकासको मूल आधार हो । शिक्षाबिना ब्यक्तिको कुनैपनि पक्षको विकासको कल्पना गर्न सकिँदैन । त्यसमा पनि विशेषत ः प्राथमिक तहको शिक्षा बालबालिकाहरुको अधिकारको विषय हो । प्राथमिक तहको शिक्षा समाजमा भए – रहेका सबैले बिना कुनै भेदभाव पाउनुपर्दछ । यथार्थमा शिक्षा ब्यक्ति, समाज र राष्ट्रको उन्नतिका लागि स्थापना भएको हुनुपर्छ । कुनैपनि मुलुकको शिक्षापद्धति त्यहाँको सामाजिक नीतिअनुरुप संचालित हुनुपर्दछ । अन्यथा शिक्षाले समाज र राष्ट्रको भलो गर्न सक्दैन । शिक्षाबाट उत्पादित जनशक्तिले कुनै न कुनै पनि समाजलाई निश्चित मार्गमा डोहो¥याउने कार्य गर्दछ । तसर्थ , शिक्षाको अस्तित्व समाजले निर्धारण गरेको नीतिका आधारमा परम्परागत रूपले स्थापित हुँदै आएका हुन्छन् । शिक्षाले हरेक ब्यक्तिलाई जटिल सामाजिक नीतिसंगत समायोजन हुन सिकाउँछ । शिक्षाको माध्यमबाट मानव जीवनका आर्थिक , राजनीतिक ,पारिवारिक कृयाकलापहरु संचालित र निर्देशित हुन्छन् । प्रोफेसर ड्रेभरिले के भनेका छन् भने –‘शिक्षा भनेको एउटा यस्तो प्रकृया हो, जसमा किशोरहरुको ज्ञान, चरित्र र व्यवहार निर्धारण र निर्दिष्ट गरिन्छ । यसरीनै शिक्षाको अर्थ सम्बन्धमा विद्यालयको चार पर्खालभित्र दिइने ज्ञानलाई मात्र लिइने धारणा संकुचित हो, किनकि शिक्षाको व्यापक अर्थ यसको व्यापक परिवेशमा चिन्तन गरिनुपर्दछ । प्रत्येक मानिसले जन्मदेखि मृत्युसम्मको जीवन यात्रामा जे–जसबाट सिक्छ , जे–जसरी अनुभव गर्छ, त्यसलाई नै शिक्षाको रूपमा लिन सकिन्छ । शिक्षा भनेको त जन्मदेखि मृत्युपर्यन्तसम्म मानिसको जीवनमा चलिरहने प्रक्रिया हो, जुन प्रत्येक मानिसको जीवन जत्तिकै शैक्षिक प्रकृया व्यापक र फराकिलो छ । यसरी शिक्षाको व्यापक अर्थ र विश्लेषणसहित भन्नैपर्दा हिजोको शिक्षाको ब्यापकता सहित आजको यो अवस्था सम्म आइपुग्दा जे जसरी शैक्षिक क्षेत्रको उन्नयन हुनुपर्ने हो त्यो भने हुनै सकेन ।
बलजफ्ती तरिकाले प्रत्येक वर्ष बन्दै फेरिँदै गरेका सरकारले ल्याएका नयाँ–नयाँ रणनीति बेग्लाबेग्लै भएका कारणले पनि सोचे जस्तो परिवर्तन हुन सकेन । आज संसारभर कोरोना कहरको प्रभावले सबै जनता प्रताडित छन् । विश्वभरकै शैक्षिक आर्थिक अवस्था महामारीको प्रभावमा परेको छ र ध्वस्त हुने अवस्था रहेको छ । २०७७ साल वैशाख १० गते प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले त्रिभुवन विश्व विद्यालयले अनलाइनबाट कक्षा संचालन गराउने औपचारिक निर्णय गरेको थियो, उतिबेला । यसका लागि अधिकांश क्याम्पस विभाग र स्कुलको (जुम आइडी) तयार गरी हिजोदेखि आजको यो अवस्थामा पनि धेरैजसो सामुदायिक तथा निजी विद्यालयले संचालन गरिरहेका छन् । शैक्षिक सत्र २०७६÷७७ को अन्त्यतिर आइसक्दा कोभिडको दोस्रो भेरियन्टले त झनै अन्यौलग्रस्त बन्दै गयो । अब अनलाइन शिक्षाको आवश्यकता र औचित्य बारे कुरा राखौं , अनलाइन शिक्षाले के मद्दत पु¥याउँछ र यसको सबल पक्ष के होला ? पहिलो, अनलाइन शिक्षाको माध्यमले जो कोहि विद्यार्थी जहाँ बसेरपनि पढ्न सक्छ र यसले विद्यार्थीलाई पढ्नको निम्ति कलेज, क्याम्पसमा पुग्नुपर्ने झन्झटबाट टाढा राख्दछ  । दोश्रो, अनलाइन शिक्षाको पद्धतिले समयको बचतका साथै कम शुल्कमा विद्यार्थीले आफ्नो सुविधा अनुकुल सुहाउँदो वातावरणमा पढन मिल्दछ । पूर्वतयारी बिना (अनलाइन ) कक्षा संचालन गर्नु चुनौतीपूर्ण रहेको छ । ‘जब प¥यो राती , अनि बुढी ताँती’ भनेझैं त्रिभुवन विश्वविद्यालय जस्ता स्वायत्त शैक्षिक संस्थाले पहिलेनै आउन सक्ने चुनौतीको अध्ययन गरी कार्यसूची बनाउनु पथ्र्याे त्यो भने राजनीतिक अस्थिरताले सकेन । अनलाइन शिक्षाले डिजिटल डिभाइड बढाउँदैछ तर विकल्प भने छैन । अनलाइन कक्षामा शिक्षक ÷ शिक्षिकाले घरबाटै विद्यार्थीलाई पढ्ने सामाग्री दिने र गृहकार्य गर्न लगाउने गरेको पाइयो । धेरैजसो सार्वजनिक विद्यालयले भने अहिलेपनि अघिल्लो वर्षकै अन्तिम परीक्षाको नतिजा प्रकाशित कसरी गर्ने भन्दाभन्दै माध्यमिक तह र आधारभूत तहको नतिजा ग्रेडिङ्गको आधारमा निकालिसके । अब एसईई परीक्षाको नतिजा यही साउनको दोश्रो या तेस्रो हप्तामा निस्किसक्ने भएको छ यो संगसंगै नयाँ शैक्षिक सत्रमा कसरी विद्यार्थीलाई पढाउने भन्ने दोधारमा छन् । कोभिडको तेस्रो भेरियन्ट आउने हल्लाले त झनै बालबालिकाको मगजमा असर परेको अवस्था छ । यही त्रासमा थोरैजसो सामुदायिक विद्यालयले अनलाइन कक्षा सुरु गरेर पनि पढाइ रहेका छन् । कतिपय सामुदायिक विद्यालयमा थोरै विद्यार्थीको अनुपात रहेपनि पढाइएकै छैन, कोभिडको त्रास देखाउँदै सरकारी तलब भत्ता खाइरहेको स्थिति छ । यो सरासर गलत काम हो । स्थानीय निकायलाई सरकारले जिम्मा लगाएपनि उनीहरूले ठाडा कान लगाएनन् । साँचो अर्थमा भन्नैपर्दा आपतकालिन अवस्थामा प्रत्यक्ष शिक्षाको विकल्पमा अँगालिएको अनलाइन शिक्षाले सिकाइलाई जारी राखेको छ । तर यसले बालबालिकाको सिकाइ निरन्तरतामा सघाएको भन्दापनि नकारात्मक असरहरु बढी विकसित गराएको छ । भर्चुअल सिकाइको माध्यमले उनीहरुको सम्बन्ध अन्तहीन साइवर संसारसंग जोडिन पुगेको छ । कोभिड महामारीको बेला विभिन्न खाले संस्थागत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय विचारविमर्शको भर्चुअल माध्यम समेतलाई संचारका माध्यमहरुले सघाएको तथ्य हामीमाझ प्रष्ट भइसकेको छ । सामाजिक सञ्जालहरुको प्रयोगले सकारात्मक र नकारात्मक दुबै खाले जनमत तयार हुने कुरा हामीले महसुस गरेकै छौँ । महामारीको बेला भर्चुअल शिक्षाले बालबालिकालाई तोकिएको सिकाइ उपलब्धि प्राप्त गर्न सघाएकाले, आपतकालिन शिक्षामा संचारको भूमिका निकै महत्वपूर्ण रहेको प्रमाणित समेत भइसकेको छ । यसरीनै अघि बढेको यो भर्चुअल र अनलाइन शिक्षाले कतिलाई राम्रो शिक्षा दिलायो या कतिलाई दिलाएन त्यो त तपाईं हामी अभिभावकहरुले जानेबुझेकै कुरा हो तर समग्रमा भन्नुपर्दा अनलाइन शिक्षा ‘हुँदा खाने र हुने खाने’ बिचको विभेद भएको हो कि भन्ने प्रतीत हुन्छ हामीलाई । मानौं एउटा गरिब परिवार छ, जो ज्याला , मजदुरी काम गर्छ उसका विद्यालयमा पढ्ने तीनजना बच्चाहरु छन् तिनीहरुलाई अनलाइन शिक्षामा जोड्न तीनवटा राम्रा मोबाइल चाहिन्छ त्यो कहाँबाट ल्याउन सक्ला त्यो परिवारले ? हामी आफैँ मूल्यांकन गरौं त ? यतिमात्रै हैन कहिलेकाहीँ विद्युत झ्याप्प झ्याप्प जान्छ आउँदैन । शिक्षक संगै भर्खरै सिकेको पाठ पनि कता पुग्यो, बोल्दाबोल्दै कति विद्यार्थीको त पालै नआइ ४५ मिनेट त्यसै खेर जान्छ । अनि भन्नुहोस् त अनलाइन शिक्षा कतिको प्रभावकारी रहेछ भन्ने कुराको यहीँबाट प्रष्ट हुन्छ कि यो विपन्न परिवारका लागि त्यति प्रभावित हुनै सक्दैन भनेर सिधै भन्न सकिन्छ । मैले यहाँ उठान गरेको विषय अनलाइन शिक्षाको बारेमा अवैज्ञानिक कुरा भने अवश्य गरेको होइन यसमा विविध कठिनाइ छ, यसलाई बैज्ञानिक बनाउनु पर्छ भन्ने कुरानै प्रमुख प्राथमिकतामा सबैको नजरमा परोस् भनेर सत्य–तथ्य कुरा उठान गर्न खोजेको हुँ । स्वयं पङ्तिकार पनि एक सामुदायिक विद्यालयमै अध्यापन गर्ने एउटा शिक्षक भएको नाताले मात्रै विश्लेषणात्मक रूपमा विषय उठाएको मात्र हँु । जे जसरी भएपनि आगामी दिनमा अबको यो सरकारले वैकल्पिक विधिद्वारा भएपनि अध्ययनलाई सहजता बनाएरै भएपनि बरु अनलाइन शिक्षालाई अझै स्तरोन्नति बनाउँदै लैजानका निम्ति शैक्षिक ब्यक्तित्वहरु र सरोकारवाला निकायले यो कोरोना कहरकै बेलामा व्यापक छलफल र परामर्श लिएर भएपनि देशभर अहिले एउटा बन्द कोठामा मात्र सीमित भएको यो शैक्षिक क्षेत्रलाई अझै सुधारोन्मुख बनाउँदै जान सकोस् । गरीब र पिछडिएका जनताका छोराछोरीले पनि बैकल्पिक माध्यमको शिक्षा ग्रहण गर्न सकुन् । आज जे जसरी शैक्षिक क्षेत्र कोरोना कहरले तहसनहस बनाउँदै लगेको र विद्यालय जानबाट बञ्चित भएका धेरै बालबालिका सामाजिक सञ्जालमा झुम्मिएर आफ्नो अमूल्य जिन्दगी बर्बाद बनाउनतिर लागेको गुनासो स्वयं अभिभावकले गरेका हुनाले विद्यार्थीलाई पढनतिर ध्यान नदिइ टिकटक ,पब्जी, फ्री फायर जस्ता विभिन्न सञ्जालतिर लागि पठनपाठनलाई ध्यान नदिइ घरमै बसिरहेको अवस्थाले उनीहरूको भविष्य डामाडोल हुने हुँदा भएकाले यसतर्फ सबैको ध्यान जान सकोस् । अनलाइन शिक्षाको आवश्यकता कति छ र यसको औचित्य बुझेर सम्पूर्ण शिक्षाप्रेमी, विद्यार्थी, अभिभावक एकजुट भएर आ– आफ्नो क्षेत्रबाट लागि परौं । अन्यौलता सबै हटेर जाओस् ।

Author

You may also like