समाचार

जग्गा पास अब अनलाइनबाटै

दमक/जग्गाको रजिष्ट्रेशन पास भूअभिलेख सूचना प्रणालीबाट सुरु भएको छ । शुक्रबारदेखि देशभरका १ सय २६ वटै मालपोत कार्यालयबाट भूअभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत् जग्गा रजिस्ट्रेसन पास सुरु भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अब अनलाइनमार्फत जग्गा खरिद–बिक्री गर्न सकिने भएको हो । यो प्रणाली सुरुवात भएसँगै अब किन्ने र बिक्री गर्नेले नजिकको जुनसुकै मालपोत कार्यालयबाट जग्गा रजिष्ट्रेसन पास गर्न सक्नेछन् । दमकको मान्छेले तेह्रथुमको जग्गा खरिद–बिक्री गर्नुप¥यो भने तेह्रथुमको मालपोत कार्यालय नगई आफूलाई पायक पर्ने मालपोतबाट पास गर्न सक्ने विभागले जनाएको छ ।
यसअघि जग्गा भएको सम्बन्धित मालपोत कार्यालयबाटै घरजग्गा किनबेच हुने गरेकामा अब त्यो झन्झटबाट सेवाग्राही मुक्त हुने भएका छन् । तर, त्यसका लागि केही थप शुल्क भने लाग्नेछ । सम्बन्धित प्रदेशको जिल्ला भए ३ प्रतिशत र अन्तरप्रदेश भए जग्गाको मूल्यांकन (थैली) ५ प्रतिशत थप शुल्क लाग्नेछ  । प्रत्येक मालपोत कार्यालयलाई पेपर लेस, फेस लेस र क्यास लेस बनाउन यस्तो प्रणाली सुरु गरिएको हो । यस्तै, ‘नागरिक एप’ बाट सेवाग्राहीले आफ्नो नागरिकता नम्बर राखेर सम्पूर्ण जग्गाको विवरण हेर्न सक्ने विभागले जनाएको छ ।
एक वर्षभित्र विदेशबाट समेत जग्गा खरिद–बिक्री गर्न सकिने प्रणाली विकास गर्ने तयारी विभागको छ । हाल विदेशमा रहेका नेपालीहरूले दूतावासमा गएर वारेस लिएर नेपालको घरजग्गा किनबेच गर्ने कानुनी प्रावधान छ । यस्तै, बैंकमा धितो राखेको जग्गा फुकुवा गर्न मालपोत कार्यालय धाउनु नपर्ने भएको छ ।
अब…. सिधै बैंकबाट हुनेछ । विभागले यो नियम साउनभित्र लागू गर्ने तयारी गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र जग्गाधनी बैंक धाउनु नपर्ने गरी निर्देशिका जारी गरिसकिएको छ ।

Author

You may also like