लेख विचार/वहस स्वास्थ्य

रेबिज विरुद्ध हामी सबै जागरुक हौँ

विष्णु मुसिख्वाल

भक्तपुर, हरेक वर्ष सेप्टेम्बर २८ तारिखका दिन विश्व रेबिज विरुद्ध दिवश मनाईन्छ। यस वर्षको रेबिज विरुद्ध दिवशको नारा “जनचेतना, खोप र उन्मूलन” भन्ने रहेको छ। तर यो दिवश अन्य दिवशहरु जस्तो व्यापक रुपमा मनाइएको भने पाईदैन। सञ्चार माध्यमहरुमा पनि यस बारेमा खासै चर्चा गरिएको भेटिदैन। वर्षेनी सयौँको संख्यामा ज्यान लिने रेबिज रोग जति प्राणघातक र त्रासयुक्त छ, त्यति नै यो बेवास्ता गरिएको र कम मात्रै चर्चामा आउने गर्दछ। नेपालमा रेबिज रोगका बारेमा जनमानसमा रहेको अनभिज्ञता तथा गलत उपचार वा सल्लाहकै कारण वर्षेनी सयौँ मानिसहरु यस रोगको शिकारबाट ज्यान गुमाईरहेका छन। त्यसैले यस्तो रोगको रोकथाम र यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरुका बारेमा सबैलाई जानकारी गराउनु तथा जनचेतना फैलाउनु आवश्यक छ।

रेबिज पशुबाट मानिसमा सर्ने प्राणघातक रोग हो। यो बहुला कुकुर वा अन्य शंकास्पद जनावरको टोकाइबाट मानिसमा सर्ने गर्दछ। यो रोग लागेको मानिस पानी देखि डराउने भएकोले यसलाई हाइड्रोफोबिया पनि भनिन्छ। लाइसा नामक भाईरसको संक्रमणबाट लाग्ने यो रोग, रोगी जनावरले टोके पश्चात र्यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ र यो रोग सर्दछ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १५० भन्दा बढि देशहरुमा देखा परेको यो रोगबाट विश्वमा वर्षेनी ५९ हजार मानिस तथा दक्षिण एसियामा ३५ हजार ( ५९.६%) र नेपालमा वर्षेनी करिब १०० जनाको मृत्यु हुने तथ्याङ्क रहेको छ। शंकास्पद बौलाहा जनावरको टोकाइबाट प्रभावित हुने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका बालबालिका रहेका छन् । त्यसैले रेबिज नेपालीहरुको जनस्वास्थ्यमा एक जटिल र चिन्ताको विषय बनेको छ।

रेबिज मुख्यतः बहुला कुकुर, शङ्कास्पद जनावर वा जङ्गली जनावर खास गरी स्याल, न्याउरीमुसा, फ्याउरो, चितुवा, बिरालो आदि जनावरको टोकाइपछि समयमा उपचार नगरेको कारणबाट मानिसमा सर्ने गर्दछ । रेविज रोग लागेको जनावरको दुध र मासु खाएर मानिसहरुमा रोग सरेको प्रमाण हालसम्म पाईएको छैन्। रेबिज रोगको मुख्य संवाहक भनेको कुकुर नै हो। मानिसमा हुने रेबिजको रोग मध्ये ९९ प्रतिशत कुकुरको टोकाइबाट नै हुने गरेको छ। शुक्रराज सरुवा रोग अस्पतालका अनुसार उक्त अस्पतालमा मात्रै दैनिक १ सय ५० जना कुकुरको टोकाइबाट बिरामी भएका व्यक्ति उपचारमा आउँछन्। यसरी अस्पतालमा जनावरको टोकाइका कारण उपचार गर्न आउने मध्य ९१ प्रतिशत कुकुरको टोकाइ, ५ प्रतिशत बाँदर, १ प्रतिशत बिरालो र ०.२० प्रतिशत मुसाको टोकाइका कारण उपचार गर्न आउने गरेका छन्।

रेबिज रोगबाट बच्ने प्रमुख उपाय भनेको कुकुर तथा शङ्कास्पद जनावरको टोकाइबाट बच्नु नै हो। तर नेपालमा जताजतै छ्यापछ्याप्ती छाडा कुकुरहरु छन् । जतिसुकै सतर्कता अपनाए पनि कुकुरले कुनै पनि बेला टोक्न सक्छ। रेबिज लागेपछि मानिसको मृत्यु हुने लगभग निश्चित छ। यो रोग लागिसकेपछि बिरामीको दुखाइ व्यवस्थापन गर्ने, भौतिक दुःख र मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्ने र बाँचुन्जेल सजिलो बनाउने मात्र हो। त्यसैले शंकास्पद जनावरले टोकेमा तत्काल साबुनपानीले घाउ सफा गर्ने र तुरुन्त अस्पताल गई रेबिज बिरुद्धको खोप लगाइहाल्नुपर्छ। समयमै रेबिज बिरुद्धको खोप लगाएमा भाइरस धेरै फैलिन पाउँदैन।

तर, काठमाडौँ उपत्यका भित्रकै दुर्गम ठाउँहरु र काठमाडौँ बाहिरका जिल्लाहरुमा जनावरले टोकेमा के गर्ने भन्ने अन्यौल अझै देखिन्छ। नेपालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने धेरै व्यक्तिलाई जानकारी नै छैन। गाउँघर तिर अहिलेपनि रेबिज बिरुद्धको खोप लगाउन आनाकानी गर्ने, बेवास्ता गर्ने वा ध्यान नदिने कारणले गर्दा रेबिज लागेर मर्नेहरुको संख्या बर्षेनी बढ्दो क्रममा रहेको छ। नेपालमा कतिपय ठाउँहरुमा अझै पनि चिकित्सकको अनुपस्थितिमा औषधी पसलमा काम गर्नेहरुले नै घाइतेहरुलाई गलत परामर्श दिने, टिटानशको मात्र खोप लगाइदिने गरेका छन् जसका कारण रेबिजबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। गाउँघर तिर अझै पनि धामी झाँक्रीले फुकेर रेबिज निको पार्दिन्छ भन्ने अन्धविश्वासकै कारण धेरैले ज्यान गुमाइरहेका छन्। अन्धविश्वास मात्र होईन, काठमाडौँका शिक्षित व्यक्तिहरुसमेत कुकुरले टोक्दा सानो घाउ मात्र त हो नि भनि हेलचेक्राई गर्दा, कुकुरको सानो बच्चाले टोकेको केहि हुँदैन भनि बस्दा, आफ्नै घरको कुकुरले टोकेको त हो भनि बेवास्ता गर्दा, घाउ निको भइसक्यो भनि चुप लागेर बस्दा, अरुलाई थाहा नदिई लुकाई राख्दा रेबिज रोग लागि धेरैको मृत्यु भइसकेको छ।

२० औँ शताब्दी सम्म रेबिजद्वारा धेरै नै प्रभावित रहेका युरोपियन देशहरु आज जनचेतना र रेबिज विरुद्धको खोपकै कारण यसबाट मुक्त भईसकेका छन्। त्यसैले वर्षेनी सयौँको ज्यान लिने प्राणघातक रेबिज विरुद्ध जनचेतना फैलाउनु नितान्त आवश्यक छ। विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन आदि संगठनहरुको संयुक्त प्रयासमा सन् २०३० सम्ममा रेबिजबाट मृत्यु हुनेको संख्या शुन्यमा झार्ने लक्ष्य राखिएको भएपनि जबसम्म मानिसमा रहेको अन्धविश्वास हट्दैन यो लक्ष्य पूरा हुन सम्भव देखिदैन। त्यस्तै गरि जबसम्म मानिसहरुमा रेबिजबारे चेतनाको स्तर वृद्धि हुँदैन रेबिज विरुद्धको खोप जति नै निशुल्क वितरण गरे पनि रेबिजबाट मृत्यु हुनेको क्रम घट्ने छैन। त्यसैले रेबिज विरुद्ध प्रभावकारी सरकारी नीति निर्माण गर्नु आवश्यक छ। जनचेतनामूलक कार्यक्रम संचालन गरि समुदायलाई नै यसमा संलग्न गराउनु पर्दछ। घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा र छाडा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने, कुकुर, स्याल, चमेरो, बिरालो आदि जनावरले टोकेमा जतिसक्दो चाँडो अस्पताल पुगी रेबिजविरुद्धको खोप लगाउने गरेमा रेबिज रोगको रोकथाम गर्न सकिन्छ। रेबिजबाट हुन सक्ने संक्रमण संभावना अनि स्वास्थ सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधि सम्बन्धमा हामी सबै जागरुक भएमा रेबिजलाई सजिलै उन्मूलन गर्न सकिन्छ।

Author

You may also like