दमक, १६ फागुन। झापामा यातायातका साधन दुर्घटनामा परी चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ ।
चालु आवको माघसम्म भएका दुईसय ८३ वटा दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जनाए । दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । ती दुर्घटनामा चार सय १४ वटा साधन संलग्न छन् ।
जसमध्ये अधिकांश मोटरसाइकल छन् । दुई सय ६० वटा मोटरसाइकल दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने तीन सय ५० जना सामान्य घाइते भए ।
कार्यालयले सो अवधिमा नियम उल्लंघन गर्ने ट्रक पाँच हजार नौ सय २६, ट्रिपर छ सय ६६, बस एक हजार पाँच सय ४०, कार र जीप नौ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल आठ हजार पाँच सय २२, टेम्पो (अटो (सिटी सफारी) दुई हजार एक ५० र अन्य ३९ वटालाई कारबाही गरेको उल्लेख छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने कुल २९ हजार आठ सय ७१ यातायात साधनबाट दुई करोड चार लाख ५५ हजार छ सय ५१ राजस्व संकलन गरेको विवरण छ । सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि दुई हजार एक सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार नौ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ ।