स्थानीय

चिसो बढेपछि जनजीवन कष्टकर

दमक, ०३ माघ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुकासाथै चिसो अधिक बढेको छ । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । सर्बसाधारणलाई चिसोका कारण, बृद्ध र बालबालिकाहरु विरामी पर्न थालेका छन् । चिसोका कारण विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।
यता झापाको दमकमा केही दिनयता बढेको चिसोलाई छल्न सघाउ पुगोस् भनेर झापाको दमक नगरपालिकाले आगो बालेर ताप्नका लागि दाउरा वितरण गरेको छ । नगरका विभिन्न चौक तथा सार्वजनिक स्थलहरुमा भेला हुनेहरुका लागि आगो तापेर जाडो भगाउन दाउराको व्यवस्था गरिएको नगरपालिका सुरक्षा शाखा तथा नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीले जानकारी गराए  ।
नगर प्रहरी प्रमुख कार्कीका अनुसार यसरी वितरण गरिएका दाउरा मंगलबार दमकको फाल्गुनन्द चौक, गणतन्त्र चौक उत्तर, बसपार्क, क्याम्पस मोड, चियादोकान चौक, आम्दा अस्पताल अगाडि, पुरानो नाइट बस स्ट्याण्ड, नमुना बस्ती, दमक अस्पताल र निम्स अस्पतालको चेरीको बोट अगाडि झारिएको छ । नगरपालिकाको गाडीबाट सर्वसाधारणलाई आगो ताप्न मद्दत मिलोस् भनेर यसरी दाउराको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

You may also like