सम्पादकीय

सडक मानवको उद्धार आवश्यक

सडकमा कोही रहरले, कोही बाध्यताले र कोही विवशताले पुग्ने गरेका छन् । यीमध्ये बालबालिका र वृद्धवृद्धा बढी हुने गरेको पाइन्छ । यो वर्गलाई विशेष स्याहारसुसार र पोषणयुक्त खानाको आवश्यकता पर्छ तर उल्टै उनीहरू सडकको जीवन बिताउन बाध्य छन् ।
पछिल्लो समय सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले संस्थाहरु खुलेरै लागिपरेको पनि पाइन्छ । झापाको मेचीनगर नगरपालिका ४ मा मावन सेवा आश्रमले भवन निर्माण अघि बढाएको छ, त्यहाँ एक करोडको लगानीमा भवन निर्माण भइरहेको छ । यो प्रशंसनीय पक्ष हो । यो त प्रतिनिधिमुलक संस्था हो । झापामा अरुपनि यस्ता संस्था छन् । देशभरमा यस्ता संस्था धैरै छन् ।
तुलनात्मक रुपले पछिल्लो समय सडक र मन्दिर परिसरमा मागेर खाने सडक मानव कमै देन सकिन्छ । भनिन्छ, देशका नागरिकको अवस्थाले मुलुकको विकास कस्तो छ भन्ने चित्र पनि देखाउँछ । यतिमात्र होइन, विज्ञान-प्रविधि, पूर्वाधार तथा उद्योगधन्दाको स्तरलाई समेत देखाउँछ । आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय र मानव विकासजस्ता विषयले आर्थिक सूचक बलियो हुँदै गएको छ या छैन भन्ने स्पस्ट पार्दछ । राष्ट्र समृद्धिको यात्रामा अगाडि बढेको छ या छैन भनेर हेर्ने आधारमध्येको एउटा आधार सहयोगापेक्षी मुक्त सडक पनि हो । सहयोगापेक्षी मानवको अवस्था अध्ययन गरी उचित व्यवस्थापन गर्नतर्फ ध्यान दिँदै सरकार अघि बढ्नु राज्यको दायित्व पनि हो । समष्टिगत आर्थिक विकासको तथ्यांकगत लक्ष्यमा मात्र केन्द्रित नभई जन-जनको पीडामा पनि साथ छ भन्ने हेतुका साथ सडक मानवमुक्त अभियानमा सक्रिय हुन उत्तिकै जरुरी छ ।
कतिपय स्थानीय तहले समेत कोही पनि चिसोमा कठाङ्ग्रिएर र एकछाक खान नपाएर सडकमा बस्न नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरू गरेका छन् । नगर प्रहरीको सहकार्यमा यो अभियान अगाडि बढाइएको पनि पाइन्छ । संघीय सरकारले नीति तथा कार्यक्रममा पनि ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ जस्ता नारा तय गरेर यस अघिका वर्षहरुमा पनि अभियान नचलाएको भने होइन । तर पूणर् सफलता प्राप्त भएको पाइँदैन ।
चाहे जुनसुकै कारणले मानिस सडकमा पुगेको भएपनि त्यस्ता व्यक्तिको उद्धार गरी सभ्य समाज निर्माणमा अहम् भूमिका खेल्न सामाजिक क्षेत्रमा काम गर्दै आएका संघ संस्था र अगुवाई गर्दै गरेका सरकार र सरोकारवाला पक्षले ध्यान दिनैपर्छ । तर, अभियान घोषणाले मात्रै वा सडकबाट व्यक्तिलाई उठाएर लैजाँदैमा यो अभियान सफल हुँदैन । सडकबाट उद्धार गरेर आश्रम वा पुनःस्थापना केन्द्रमा पुर्‍याएपछि फेरि फर्केर सडकमै आउने अवस्था यसअघि पनि नदेखिएको होइन । त्यसैले यसको कार्यान्वयनमा चुनौती त अभियान घोषणसँगै छ, तर चुनौती छ भन्दैमा नयाँ काममा हात हाल्न नै हुँदैन भन्ने पनि होइन । दिगो समाधानको बाटो खोज्नु अवश्य पर्छ ।

You may also like