देश–समाज सम्पादकीय स्थानीय

रगतकै कारणले कसैको ज्यान जान नदिऔं

मानिसलाई बचाउने अनिवार्य तत्व रगत हो । रगतको अभावमा मानिस रहन सक्दैन । रगतकै माध्यमबाट आवश्यक तत्वहरु र अक्सिजनलाई सर्कुलेसन गरेर मानिसलाई जिँउदो राख्ने काम गर्दछ ।
त्यसै पनि डेंगुको आक्रमणबाट समाज शिथिल बनिसकेको थियो त्यसमाथि अघिल्लो महिनाको अविरल वर्षापछि आएको बाढी र पहिरो र त्यसपछि भित्रिएका चाडपर्वको रगतको अभाव भईरहेको छ । बाढीपहिरो पीडित मात्र नभएर आम मानिसहरु बिमारी बनेका छन् । देशभर उनीहरुलाई आवश्यक पर्ने रगत अभाव रहेको कुरा नेपाल रेडक्रस सोसाइटीले समेत महसुस गरी देशभर रक्तदान गर्न आब्ह्वान समेत गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवाका निर्देशक पवन कुमार गुप्ताले दशैंमा सबै घर जाने र रमाइलोमा लाग्ने भएकाले डुंगोका बिरामीलाई प्लेटलेट रिच प्लाज्माको माग बढेको बताएका छन् । पिआरपीको लागि प्रत्येक दिन ताजा रगत चाहिने र त्यसको अभावमा बिरामीलाई असहज भईरहेको उनले बताए पछि अहिले देशभरमा विभिन्न सामाजिक संघसंस्थाको अगुवाईमा रक्तदान हुन थालेको छ । रगतकै अभावमा कुनै पनि बिरामीको मृत्यु नहोस् भनेर उत्तरी मोरङको केराबारीमा पनि रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सो रक्तदानबाट ८२ पिन्ट रगत संकलन भएको सामाजिक अभियन्ता गोकुल थापाले बताएका थिए । रक्तदान भन्ने वित्तिकै धेरै मानिसहरु डराउने गरेका पनि छन । रगत दिए पछि आफु मरिच्छ वा केही भईपो हाल्छ कि भन्ने त्रास पनि बिस्तारै हट्दै गएको महसुस त्यो रक्तदानबाट भएको थापाले बताएका छन् । उनका अनुसार एकै जनाले दर्जनौं पटक रक्तदान गर्ने रक्तदातादेखि एउटै घरका तीनजनासम्मले रक्तदान गरेका थिए । सुखद् पक्ष के पनि देखिएको थियो भने प्रायः रक्तदान भईरहने केराबारीमा यस पटक महिलाको सहभागिता उत्साहजनक रहेको थियो । १८ जना महिलाले रक्तदानमा सहभागी भई रगत दान गरेका थिए ।
यहि प्रकारकाले अब दमकमा पनि रक्तदान गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय स्तरका लागि रगतको अभाव नदेखिए पनि बाह्य अन्य अस्पतालका लागि रक्तदान आवश्यक देखिन्छ ।
रक्तदानलाई महादान पनि भन्ने गरिन्छ । यो भन्दा ठूलो दान अर्को छैन । नेपालको सन्दर्भमा भन्ने हो भने चार देखि ६ लाख पिन्ट रगत वार्षिक रुपमा नेपालमा खपत हुँदै गएको छ । हालको रगत अभावको समस्यालाई टार्न संकलन गरिएको रागतको व्यवस्थापन ठीक ढंगले गर्नुपर्ने विज्ञको भनाइ छ । अर्कोतिर रक्तदानमा सहभागी हुने ठूलो हिस्सा बोकेका युवाहरु रोजगारीका लागि विदेशिएका कारणले पनि रगत अभाव देखिएको विज्ञहरु बताउँछन् । रगत प्रयाप्त हुँदा देखिएका लापरवाही पनि रगत अभावको अर्को कारण बनेको छ । हरेक दिन हुने दर्जनौं दुर्घटना र त्यसले निम्त्याएको संकटले रगतको माग अत्याधिक छ ।
रगत अभावबाट कोशी प्रदेश पनि अछुतो रहन सकेको छैन । कोशी प्रदेशका विभिन्न अस्पतालहरुमा रगत अभाव भएका समाचारहरु पनि आइरहेको छ । फेरी यता कोशी प्रदेशभरकै अस्पताल र ब्लड बैंकमा रगतको अभाव भएको प्रादेशिक रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताएका छन् । रगतको अभावका कारण दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घरोगी र नियमित रगत चाहिने बिरामी मर्कामा परेको यादवले बताए । रगतकै अभावमा बिरामीले सहज उपचार पाउन नसक्नु दुःखद् अवस्था हो । यसले नागरिकको सहजै स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकार कुण्ठित गरेको मात्र छैन बाँच्न पाउने नैसर्गिक हक पनि प्रभावित भएको छ ।
कोशी प्रदेशमा दैनिक करिब दुई सय पिन्ट रगतको माग रहेको छ । उक्त मागको पचास प्रतिशत पनि पूर्ति हुने अवस्था नरहेको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरले जनाएको छ । यस कारणले पनि रक्तदानका कार्यक्रम सबैतिर गर्न आवश्यक देखिन्छ । रक्तदान गरौं, पुण्य कमाऔं ।

Author

You may also like