विचार/वहस स्वास्थ्य

बाथरोग के हो र कस्तो उपचारले निको हुन्छ ?

बाथरोलाई सामान्य भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग (अर्र्थाइटिस) भनिन्छ । यो रोग जुनसुकै उमेरका व्यक्तिमा हुनसक्छ या देखिन्छ । शरीरका कुनै पनि अङ्गमा देखिन सक्छ । बाथरोग धेरैजसो मोटोपन भएका मानिस, महिला, वुद्धवुद्धामा देखिन्छ । तर, कुनै पनि उमेर समूहमा देखिन सक्छ । यो रोग धेरै प्रकारका हुन्छन् । त्यसमा पनि मुख्य गरेर तिन प्रकारका बाथ धेरै मानिसमा देखिने गरेको छ । ति हुन् ओस्टियो अर्थाराइटिस, युरिक एसिड र गठिया बाथ । बाथ रोग लाग्ने विभिन्न कारणहरु हुन्छन् । वंशाणुगत, खानाको लापरवाहीबाट हुने युरिक एसिड, एकै प्रकारको हावापानीमा लामो वसाई जस्तै ओसिलो, घाम नलाग्ने या अत्यन्तै चिसो, विभिन्न प्रकारका संक्रमणको समयमा नै सही उपचार नभएमा, कुपोषणका कारण, पेशा व्यवसायमा आधारित अनि व्यायामको कमी आदि आदि ।
१, ओस्टियो अर्थाइटिस ः ओस्टियो अर्थाइटिस सबैभन्दा धेरै मानिसमा देखापर्ने एक प्रकारको बाथ रोग हो । उमेर वित्दै जाँदा हाम्रो शरीरका जोर्नीमा हुने चिप्लो पदार्थ कम हुँदै जान्छ । खासगरी बुढ्यौली र अन्य चोटपटक वा संक्रमणका कारण जोर्नी खिइने अनि दुखाई र सुन्निने प्रकृयालाई ओस्टियो अर्थाइटिस भनिन्छ । जोर्नीसँग सम्बन्धित अन्य संक्रमण पनि अर्थाइटिसको कारण हुनसक्छ । भनिन्छ यस प्रारका बाथ रोगको पूणर् रुपमा उपचार हुँदैन । तर पछिल्ला अध्यायनबाट होमियोप्याथिक या आयूर्वेदको सहि उपचार पश्चात निको भएका उदाहरणहरु प्रसस्तै देख्न पाइन्छ । सामान्यतया दुखाइ कम गर्ने औषधी र फिजियोथेरापी गराएर विरामीलाई आराम दिने गरिन्छ । विरामीलाई धेरै असहज भएमा र धेरै खिइएको पाइएमा जोर्नीको शल्यक्रिया उपचार अपनाउन सकिन्छ । तर, यसका लागि विरामीको अन्य स्वास्थ ठीक र आर्थिक रुपमा पनि सक्षम हुनुपर्ने हुन्छ । हाम्रो जस्तो मिश्रित हावापानी, उकाली ओराली अनि ओसिलो र स्वास्थ उपचार पहुच कम भएको देशमा ओस्टियो अर्थाइटिसका धेरै विरामी भेटिने गरिन्छ । र, धेरै विरामी आज पनि उपचारबाट वञ्चित अवस्थामै छन् । मुख्य गरेर घुँडाका जोर्नीमा समस्या धेरै भएको पाइन्छ । पूर्व सुरक्षाकर्मी र लाहुरेहरुमा यसको समस्या धेरै देखिएको छ ।
२, गठिया बाथ ः धेरै प्रकारका बाथ रोग मध्ये गठिया बाथ धेरै पीडादायी हुन्छ । विशेष गरेर साना जोर्नीहरुमा असर गर्ने यो बाथले विस्तारै ठूला जोर्नीमा पनि असर पुर्याउदै जान्छ । यो रोगले भेटेपछि छोटो समयमा नै जोर्नीलाई असर गरेर विकार उत्पन्न गराउँछ । रगतमा पनि बाथ रोगको लक्षण देखापर्छ या रगतमा पनि रोग देखिन्छ । यसरी रोगले विस्तारै जोर्नीलाई कमजोर र रोगी बनाएर सुन्निदै फुलिदै रोग कडा र शरीर कमजोर बनाउँछ । गठिया बाथ रगतको जाँच अनुसार दुई प्रकारमा विभाजन गरिएको छ । सिरो पोजेटिभ र सिरो नेगेटिभ रगतको विशेष जाँचबाट थाहा पाउन सकिन्छ र सोही अनुसार उपचार गरिन्छ । जति उमेर र रोग प्रतिरोधात्मक क्षमता शरीरमा घट्दै जान्छ त्यतिधेरै यो रोगले मानिसलाई कमजोर र अपाहिच बनाउछ ।
३, युरिक एसिड ः शरीरलाई धेरै मात्रामा नचाहिने तर खानपानको माध्यमबाट शरीर या रगतमा देखापर्ने युरिक एसिड विकार वस्तु हो । हामीले खाएको खानेकुरामा रहेको प्रोटिन तत्वको शोषण पश्चात कलेजोले प्रोटिन तत्वलाई शरीरमा उपयोग गर्दा निस्कने अनावश्यक तत्व (प्युरिन) लाई मृगौलाले छानेर बाहिर प्mयाक्ने काम गर्छ । विभिन्न कारण र अस्वस्थकर जीवन शैलीका कारण यो नचाहिने तत्व पिसावको माध्यमबाट पुरा बाहिर नगएर रगतमा नै रहिरहन पुगेमा शरीरका विभिन्न अङ्ग मुख्य गरेर साना जोर्नीसँगै जोडिएका मासंपेशी टेन्डन सुन्निने दुख्ने गर्छन् । युरिक एसिड बाथ रोगको मुख्य कारण खानपान नै हो । वंशानुगत रोगसँगै खानपानमा धेरै प्रोटिन तत्व पाइने खानेकुरा जस्तै रातो मासु, मदिरा, चिसा पेय पदार्थ, र जङ्कफुड, गेडागुडी आदि नखाने या कम खाने र यदि खाइहालियो भने पनि निरन्तर नखाने र घटाउन सिट्रस फ्रुट (अमिला फल) र धेरै पानी पिएर केही हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । तर कसैकसैलाई त यस्ता अमिला फलफुलले पनि वढाउने गर्छ । यो चाँहि व्यक्ति अनुसार हुन्छ । तर धेरैलाई भने अमिला फलफुल र प्रसस्त पानी पिएमा पिसावको माध्यम भएर युरिक एसिड जान्छ र र दुखाई र सुन्निने कम हुन्छ । रगतमा युरिक एसिडको सामान्य मात्रा ३ देखि ७ सम्म हुन्छ । तर, ७ पुग्दा नपुग्दै धेरै मानिसलाई भने खुट्टा दुख्ने, सुन्निने हुन्छ । यसको दुखाई तीब्र हुनेहँुदा खानामा ध्यान दिने र समयमा नै उपचारमा लाग्नुपर्छ ।
एक प्रकारको बाध रोग भने मुटुको भल्भलाई असर गरेर मुटु रोगी बनाउने गर्छ र हातखुट्टा, जोर्नी दुख्ने, सुन्निने पनि हुन्छ । यस्तो रोगको प्रकारलाई बाथ ज्वरो अथवा रियुमेटिक हार्ट डिजिज भनिन्छ । यो किटाणुले सुरुमा घाँटीमा असर गर्छ । घाँटी दुख्ने, ज्वरो आउने हुन्छ । बेलैमा सही उपचार नभए मुटुलाई असर गर्न थाल्छ ।
समग्रमा बाथ रोगको मुख्य लक्षण भनेको नै सुन्निनु र दुख्नु हो । यही कारणले चलाउन, हिँड्न, हात खुट्टा खुम्च्याउन गाह्रो हुनेगर्छ । यसरी सुन्निएर असहजतासँगै यसले जोर्नी र मासंपेशीलाई जोडेर राख्ने टेन्डन विशेष गरेर लिगामेन्टमा असर गर्छ । यसरी नै रातभरीको आरामले विहान वढी जोर्नी दुख्ने र सुन्निने गर्छ । धेरै दुखेमा टेक्न या चलाउनै नहुने, ज्वरो आउने थिच्दा धेरै दुख्ने हुन्छ । मानिसको स्वभाव र प्रकृति अनुसार कसैलाई तातोको सेक त कसैलाई चिसोको सेकले आराम मिल्छ । कसैलाई लगातार हिँड्दा आराम हुन्छ त कसैलाई हिँड्दा धेरै दुख्छ । हिँड्दा धेरै दुख्नको अर्थ जोर्नी खिइएर या धेरै सुन्निएर हुनेगर्छ । यस्तो अवस्थमा धेरै र उकालो ओरालो नहिँड्नु राम्रो हुन्छ ।
माथीका बाहेक अन्य धेरै प्रकारका बाथ रोग हुन्छन् । तर तिनीहरुका न रगतमा, न जोर्नीमा खरावी देखिन्छ । मात्र मौसम परिवर्तन हुँदा, धाम्मधुम्म हुँदा या चिसो मौसममा या समुद्र छेउमा अथवा एसीमा, पंखामा बस्दा धेरै दुख्ने, सुन्निने हुन्छ । यस्ता प्रकारका बाथ रोगीको दुखाई पनि शरीरका विभिन्न भागमा सरेर दुख्छ या एकै ठाउँमा या शरीरका पुरै भागमा पनि दुख्न सक्छ । धेरै विरामीले त निश्चित प्रकारका खानेकुरा खाँदा पनि दुख्ने गरेको अनुभव सुनाउँछन् । जस्तै लहरामा फल्ने तरकारी या सागसब्जी, जस्तै इस्कुसको साग, इस्कुस, फर्सी, पानीमा उम्रिने साँग, कालोदाल, सिमी, अदुवा आदि आदि ।
परीक्षण ः बाथ रोग भएको पत्ता लगाउन विभिन्न्न परीक्षण गरिन्छ । रगतमा गरिने परीक्षणले युरिक एसिड, सिरो नेगेटिभ वा पोजेटिम, आरए प्mयाक्टर, क्याल्सियम, विभिन्न भिटामिनहरुको अवस्था लगायत अन्य परीक्षणहरु हुन्छन् । यस्तै यदि कुनै निश्चित अङ्ग या जोर्नीमा दुख्छ भने एक्सरे, एमआरआई गराइन्छ । यस्ता परीक्षणले विरामीको शरीरमा के भएको हो पत्ता लगाउन सहज हुन्छ ।
उपचार ः बाथरोगको उपचार विभिन्न अवस्था अनुसार गरिन्छ । यो रोग लागेको शङ्का हुने वित्तिकै उपचार गरिएमा निको हुन्छ । यदि ढिलो गरेर उपचार सुरु गरेमा जोर्नीमा असर र जोर्नी खिइएको अवस्थामा भने उपचार अलिक जटिल हुने हुन्छ । विशेष गेरर घुँडाका जोर्नी धेरै खिइने गर्छ जसका कारण हिँड्न, उठबस गर्न असहज हुन्छ । यस्तो अवस्थामा भने कि त घुँडाका पाङग्रा फेर्ने या बायोलोजिकल एजेन्ट्सको माध्यमबाट उपचार गरिन्छ । बायोलोजिकल एजेन्ट्स भने धेरै खर्चिलो भएकोले नेपालमा यसको सुरुवात भएको छैन । आजकल त प्रोस्थेसिस् अथवा कृत्रिम अङ्ग प्रत्यारोपण निक्कै सफल भएको छ । तर एकभन्दा धेरै जोर्नीमा समस्या भएमा या अन्य रोग पनि भएको भए सल्यक्रिया पनि सफल नहुन सक्छ ।
सुरु सुरुको अवस्थामा भने औषधीसँगै फिजियोथेरापी पनि निक्कै प्रभावकारी देखिएको छ । यसले जोर्नी वरिपरिका लिगामेन्ट र मांसपेशीलाई मजबुत बनाउने हुँदा जोर्नी खिइनबाट एकहदसम्म बचाउँछ । फिजियोथेरापी नियमित गर्नाले दुखाई पनि कम भएर जान्छ । तर जब केश जटिल अवस्थामा हुन्छ, फिजियोथेरापीले फाइदा हुँदैन । उता लगातार दुखाई कम गर्ने औषधीको सेवनले मुटु र मिर्गौलालाई कमजोर बनाउने हुँदा नियमित सेवन गर्नु हुँदैन । आजकल धेरै मानिसहरुमा खानेकुराको स्वाद र प्रकार समयसँगै बदलिएको छ । बजारमा पाइने प्याकेट खानातर्फ मोह वढेको छ । घाम ताप्ने या घाममा निस्किने क्रम हराएको छ । कोदो, फापर, सिस्नु, घिउ, दूध, दही या मही खाने क्रम पातलिएको छ । शारीरिक परिश्रम अत्यन्तै कम हुन थालेको छ । घरमा नै वस्ने मोबाइल या कम्प्युटरमा रमाउनेको संख्या वढेको छ । यस्तो अवस्थामा घामबाट पाइने भिटामीन डी पाइदैन । प्राकृतिक रुपमा पाइने क्याल्सियम खाइएको छैन । शरीरलाई चाहिने चिल्लो पदार्थको मुख्य स्रोत घिउ खाइदैन । कसरत छैन भने कसरी जोर्नी बलियो होस । कसरी शरीरलाई चाहिने क्याल्सियम पुगोस् र भिटामिन डी बनोस् । हो यही कारण आजकल धेरै मानिसको हाडजोर्नी सम्बन्धी समस्या देखिन थालेको हो । अब ढिला नगरी माथि भनिएका खानेकुरा खाने । व्यायाम गर्ने र अनिवार्य घाम ताप्ने गर्नुहोस् ।
होमियोप्यााथिक उपचार ः आजको एक्काइसौं शताव्दिमा विभिन्न चिकित्सा विधा आएको जानकारी छ । जसका साइडइफेक्ट कम छन् भने प्रभावकारिता पनि राम्रो छ । ति मध्येको होमियोप्याथिक एक सफल उपचार पद्धति हो । आफु होमियोप्याथिक चिकित्सक भएकाले यो चिकित्समा रोगी मानिसको शरीरमा देखिने लक्षण र चिह्का आधारमा पनि उपचार गरिने हुँदा परीक्षणलाई पर्खिनु पर्दैन । जस्ता लक्षण देखिन्छन् सोही अनुसार उपचार सुरु गरिन्छ र आवश्यक परेमा परीक्षणहरु गराउँदै लगिन्छ । होमियोप्याथिक औषधिहरु स्वस्थ मानिसमा परीक्षण गरिएका हुनाले यी औषधिमा एलोप्याथिक औषधिको जस्तो साइडइफेक्ट हुँदैन । औषधिको र रोगी मानिसको लक्षण मिलाएर दिइने हुँदा रोगी विस्तारै निको भएर जान्छ । केहि समय धैर्य गरेर नियमित चिकित्सकको निगरानीमा औषधि सेवन गरेमा धेरै कठीन भनिएका बाथ रोगी पनि निको भएको स्यमंको पनि अनुभव रहेको छ । त्यसैले उपचारमा जानु अघि सबै कुरा वुझेर रोगको अवस्था र पहिला गरिएका उपचारका आधारमा नयाँ उपचार पद्धती अपनाउनु आवश्यक देखिन्छ । र, कुन रोगको उपचार कहाँ गराउने भन्ने स्वतन्त्रता पनि विरामी वर्गमा रहेका कारण समयमा नै वाथजन्य रोगको उपचारमा ध्यान दिनु हुन पनि अनुरोध गर्छु ।
(डा. न्यौपाने दमकका होमियोप्याथिक चिकित्सक हुन् ।)

Author

You may also like