Banner देश–समाज समाचार

‘फैसलापछि खुसीले आफ्ना कुरा भन्न नसकेर रोएँ’

काठमाडौं, १९ कार्तिक

नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यो खुसीमा भारती मानन्धर आफ्ना कुरा भन्न नसकेर भक्कानिएर रोइन् ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् । कार्तिक १६ मा मात्रै सर्वोच्चको पूणर् इजलाशले ढकालको आममाफी बदर गरिदिएको हो । साथै, ढकाल सोहि साँझ नै नेपालगञ्जबाट पक्राउ परिसकेका छन् ।
रिट निवेदक भारतीले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन् । फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायालयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धरधरी रोएको सुनाइन् । सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताइन् ।
‘फैसला सुन्दा अब न्यायाधीशरु पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्योदेखि म गलत भएँ । त्यो फैसलापछि म यत्ति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धरधरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकिसकेपनि न्यायालय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ,’- उनले भनिन् ।
सरकार र राष्ट्रपति रामचन्द्र पौडेल स्वार्थमा बिकेर हत्याराहरुलाई आममाफी दिएको उनको आरोप थियो । सरकारजस्तै न्यायालय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत सावित भएको उनले बताइन् । फैसला सुन्ने क्रमको आफ्नो मनोभावना सुनाउँदै उनले भनिन्,‘उहाँहरु (न्यायाधीश) पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरुले पनि मलाई के न्याय दिनुहुन्छ होला र ? दवावमा आएर उहाँहरुले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरुको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जीत हुन्छ कि हत्याराहरुको जीत हुन्छ भन्ने सोचमा म थिएँ ।’ उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीका पूर्वआईजिपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सर्वोच्चको फैसलाले कानुन ज्यूँदैछ भन्ने प्रमाणित गरेको स्पष्ट पारेका छन् । ‘जसको पहुँच छ, त्यसले न्याय पाउँछ’ भन्ने परिस्थिति निर्माण भइरहेको अवस्थामा भारतीले दिएको रिटमा सर्वोच्च अदालत पीडितको पक्षमा उभिएको भन्दै उनले सर्वोच्चको हिजोको फैसलाको प्रशंसा गरे । उनले भारती आन्दोलित भएर समाजलाई बाटो देखाउने काम गरेको बताए ।
कार्यक्रममा अभियन्ता सुमन सायमीले भारतीको साहसको प्रशंसा गरे । उनले सर्वोच्चको आममाफी बदरको फैसला भारतीको मात्रै जीत नभएर सबै नेपालीको जीत भएको बताए । आममाफीको नाममा भएको कैद माफी गैर कानुनी हो भनेर सर्वोच्चले रिट जारी गरेपछि राष्ट्रपति र प्रधानमन्त्री पनि दोषी हुन् भन्ने कुरा पुष्टि भएको उनले बताए ।
‘आममाफीको नाममा उहाँलाई कैद माफी गरेर छुटाइएको थियो । त्यो गैरकानुनी हो भनेर सम्मानीत सर्वोच्च अदालतले रिट जारी गरेपछि राष्ट्रपति र प्रधानमन्त्री पनि दोषी हो भन्ने पुष्टि भएको छ । त्यसकारणले उहाँहरुले नैतिकताको आधारमा अहिले नै पद त्याग्नुपर्छ भन्ने हाम्रो चाहना हो,’- उनले भने । सर्वोच्चको फैसलाले आफू एकदमै खुसी भएको उनले सुनाए ।
आममाफी बदर अभियानको संयोजन गर्दै आएका आशिष मल्ल ठकुरीले सरकार र राष्ट्रपति कानुनभन्दा पनि माथि देखिएकाले आफूहरुले यो अभियान सुरु गरेको बताए । भारतीजस्ता पीडितलाई सरकारले सडकमा आउन बाध्य पारेपनि न्यायालयले न्यायको प्रत्याभूति दिलाएको उनको भनाई छ ।
न्यायलयको फैसलासँगै अब पीडितको सहमतिबिना आममाफी दिन नसकिने नजीर स्थापित भएको भन्दै उनले फैसलाको खुलेर प्रसंशा गरे ।
कार्यक्रममा अर्का वक्ता दीपक थापाले फैसलाले न्याय नमरेको प्रमाणित गरेको बताए । देशमा नागरिकले आफू सुरक्षित अनुभूत गर्न सक्नुपर्ने उनले बताए । नेपालमा आगामी दिनमा कोही पनि भारतीले जसरी पीडित हुन नपरोस् भन्दै उनले कामना पनि गरे ।
सामाजिक अभियन्ता जस्मिन ओझाले फैसलाले कानुनको सर्वोच्चता कायम भएको बताइन् । राष्ट्रपतिविरुद्धको रिटमा भारतीले न्याय नपाउने त होइन भन्ने आफूहरुलाई लागेपनि अदालतले उक्त आशंकालाई गलत प्रमाणित गरिदिएकोमा उनले खुसी व्यक्त गरिन् ।
कार्यक्रममा सुरेस जिसी, अभियन्ता रविन्द्र कुमार श्रेष्ठ, वसन्ती नेपालीले भारतीको साहस र सर्वोच्चको फैसलाको प्रशंसा गरे ।

You may also like