बद्री कोइराला-
दमक, २४ भदौ ÷गएको बिहीबार सर्वोच्च अदालतले दिएको परमादेशसँगै ठुलो दल एमालेको संसदीय दलको नेताको हैसियतले हिक्मतकुमार कार्की कोसी प्रदेशमा पुनः मुख्यमन्त्री बनेका छन् । बहुमत जुटाउन सकेनन् भने उनी अबको एक महिना सो पदमा रहने छन् । तर बहुमत पु¥याउन नसक्दा वा विश्वासको मत गुमाउँदादेखि नै कोसी प्रदेशमा ‘राजनीतिक प्रदर्शनी’ सुरु भएको हो । र यो भागवण्डा नमिलेसम्म टुङ्गिने लक्षण देखिँदैन ।
लहरो तान्दा पहरो गर्जिन्छ भने पहरो गर्जिँदा लहरो तानिएको शङ्का हुन्छ । अर्थात् भागवण्डाको लहरोले राष्ट्रपति निर्वाचनसम्मलाई तानेको छ । राष्ट्रपति निर्वाचनताका केन्द्र सरकारमा एमाले–माओवादी–राप्रपा लगायत दलको राजनीतिक समीकरण बदलिएपछि कोसी प्रदेश सरकारमा पनि भूकम्प गयो । फलस्वरुप असार १५ गते विश्वासको मत गुमाएर कार्की नेतृत्वको सरकार ढल्यो । यसका पराकम्पहरू ‘राजनीतिक प्रदर्शनी’का रूपमा अद्यपर्यन्त चलिरहेका छन् । त्यसपछि काङ्ग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख आफैँले मतदान गर्नु, प्रदेश प्रमुख पर्शुराम खापुङले कानुनी परामर्श नगरी थापालाई मुख्यमन्त्री बनाउनु, एमाले सर्वोच्च जानु जस्ता परिघटनाहरू हुँदै रहे । र अहिले सर्वोच्चको परमादेशमा कार्की पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यी सबै घटनाहरूलाई सङ्घीयताको अभ्यास मान्ने कि विकृति भन्ने बारेमा बुज्रकहरूमै गहिरो मतान्तर देखिँदै आएको छ । बाहिरी आवरणमा भनिएजस्तो मात्रै हुने हो भने यसलाई अभ्यास मान्दा फरक पर्दैन । तर बहुमत ल्याउने कुरा राजनीतिक भागबण्डामा जोडिन्छ भने यो विकृति हो । यहाँ त भागबण्डामा पनि यति विकृत रूप प्रदर्शन भएको छ कि जसले सङ्घीयता नै बोकाको मुखमा कुभिन्डो भनेझँै भएको छ । ललिता निवास प्रकरण, सय किलो सुनकाण्ड, भूटानी शरणार्थी काण्ड जस्ता भ्रष्टाचारका निकृष्ट घटनासँग ठुला दलहरु जोडिँदा विकृति घृणामा बदलिन थालेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कोही पनि अछुतो छैन भन्ने भाष्य स्थापित हुँदै आएको छ । यस्ता काण्डहरूमा ठुला दलहरू नै चुर्लुम्म डुबेर राजनीतिक ‘सूक्ष्म व्यवस्थापन’मा लागेको प्रस्टै देखिन्छ । यसरी भ्रष्टाचारका काण्डहरू मिलाउन लाग्दा दलहरू खुलेर आरोप प्रत्यारोपमा लाग्छन्, लागिरहेका छन् । अहिले प्रधानमन्त्री स्वयम् आन्दोलन गर्ने भन्दै धम्क्याउने घुक्र्याउने भाषा बोलिरहेका छन् । यो पनि एउटा प्रदर्शनी या जात्रा हो ।
अब अझै यस्ता राजनीतिक प्रदर्शनीहरू धेरै देखिने छन् । पात्रहरू यिनै हुन् । यिनीहरूले नाटक मञ्चन गरिरहन्छन् । जनतासँग ट्वाँ परेर हर्नुको विकल्प छैन । नेतालाई खुकुरी प्रहार हुँदा उग्र हुने सङ्गठन ÷कार्यकर्ता अस्पतालमै उपचार नपाएर बालक मर्दा चुँ बोल्दैन । यस्ता जात्रा नियमित प्रक्रियाझैँ हेर्नु परिरहेछ ।
अब अमेरिका र चीन भ्रमण सकेर प्रधानमन्त्री नेपाल फर्केपछि कोसी प्रदेशका मुख्यमन्त्रीको एक महिने अवधि पनि नजिक आउने छ । यही बेला भागवण्डाको राजनीति पनि अझै पेचिलो बन्ने छ । जसरी राष्ट्रपति निर्वाचनको कारण केन्द्रको समीकरण बदलिएर कोसी सरकारमा भूकम्प गयो त्यसैगरी केन्द्रमा हुने यस्ता स्वार्थपूर्ण साँठगाँठले कोसी सरकारको चयन र आयु निर्धारण गर्ने छ । एमाले र काङ्ग्रेस शेखर समूहको निकटताले कार्की नेतृत्वको सरकारको आयु लम्ब्याउन पनि सक्छ ।
तर नामकरणको विषयमा प्रदर्शनी र फौजीकरण भइरहेको तथा आर्थिक रुपले थिलथिलो पारेको बेला कोसी सरकारको अस्थिरता राजनीतिक प्रदर्शनी मात्र बनिरहेको छ । यसले गणतन्त्र र सङ्घीयतालाई नै दिनानुदिन निकम्मा बनाइरहेको छ ।