दमक, २२ असोज-
इजरायलमा आक्रमणमा परी मृत्यु भएका १० नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न नेपाल सरकारले पहल सुरु गरेको छ ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत-जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले गएराति जारी गरेको विज्ञप्तिमा मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको उल्लेख छ । साथै लगातार हिंसात्मक घटनाको त्रासका कारण इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, इजरायल सरकार र त्यहाँको नेपाली राजदूतावासको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको पनि जनाइएको छ ।
मृत्यु हुनेका नाम भने दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छैन । दूतावास स्रोतका अनुसार मृत्यु हुनेमा मधुवन-१ सुनसरीका राजेशकुमार स्वणर्कार, घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बौनिया-३ कैलालीका आशिष चौधरी, लेकम-५ दार्चुलाका दीपेशराज बिष्ट, सपही-६ धनुषाका आनन्द साह, पाचनली-३ डोटीका राजन फुलरा, लमिखल-८ डोटीका पदम थापा, शारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । भीमदत्त-३ कञ्चनपुरका विपिन जोशी हालसम्म बेपत्ता अवस्थामा रहेको जनाइएको छ ।
शारदा-२ सल्यानका विधान सेजवाल, दंगीशरण-३ दाङका प्रविन डाँगी, टीकापुर-९ कैलालीका धनबहादुर चौधरी र गोरखा-८ गोरखाका हिमाञ्चल कट्टेलको स्थानीय अस्पतालमा उपचार भइरहेको उल्लेख छ । त्रिवेणी-१ सल्यानका प्रमोद केसी र त्रिशक्ति-४ कैलालीका वीरेन्द्र चौधरी भजनी सुरक्षित रहेको बुझिएको छ ।
गत शनिबार दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरु ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्गर्त इजरायल सरकारको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयबाट त्यहाँ गएका थिए । उतेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा कृषि फर्ममा काम गर्ने १७ जना सम्पर्कविहीन अवस्थामा त्यसमध्ये १० को मृत्यु भएको जानकारी आएको थियो । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए ।
आक्रमणको घटनाका कारण धेरै नेपालीहरु अहिले पनि ४७ जना बंकरभित्र बसेर उद्धारको प्रतिक्षामा छन् ।
हमासको शनिबार विहानको आक्रमणमा नेपालीहरुको अवस्थाका बारेमा आइतबार विहान नेपाल सरकारले त्यहाँका दूतावाससँग सम्पर्क गरी उद्धारको चासो देखाएको थियो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन् ।
गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठले उनीहरु र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले सो विषयलाई प्रमुख बनाएर नेपालीहरुको अवस्थाको यथार्थ जानकारी तथा नेपालीहरुको उद्धारको माग अघि सारेका छन् । सांसदहरुले प्रधानमन्त्रीले इजरायलका समकक्षीसँग सीधा सम्पर्क गर्नुपर्ने समेत माग राखेका छन् ।
इजरायलमा २ सय ५० कृषि विद्यार्थीसहित ४ हजार ५ सय जना नेपाली कार्यरत छन् । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण गरिरहेको छ । हमासका हतियारधारी लडाकु दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली प्रवेश गरेर आक्रमण थालेका थिए ।