दक्षिण भारतका चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले सम्बन्धविच्छेदको निर्णय लिएका छन्।
सन् २०१७ मा ११ करोड भारतीय रुपैयाँ खर्चिएर बिहे बन्धनमा बाँधिएका यो जोडी चार वर्षमै अलग्गिने निर्णयमा पुगेको हो।
दुवैले सामाजिक सञ्जालमा सम्बन्धविच्छेदबारेको जानकारी दिएका छन्। सामन्था र नागाले पोस्टमा लेखेका छन्, पति-पत्नीका रुपमा हाम्रो बाटो अलग भएको छ। तर उनी साथीका रुपमा सदैव रहनेछन्।’
सामन्थाले इन्स्टाग्राममा लेखेकी छन्, ‘हाम्रा प्यारा शुभचिन्तक, धेरै सोचबिचार गरेर मैले र चैतन्यले पति-पत्नीका रुपमा नरहेर अब अलग बाटो रोज्ने निर्णय लिएका छौँ। हामी भाग्यमानी छौँ, हाम्रो मित्रता १० वर्षसम्म कायम रह्यो। हाम्रो सम्बन्धको आधार त्यही नै थियो। जुन हामीबीच सदैव विशेष सम्बन्ध हुनेछ।’
उनले छुट्टिने निर्णय लिँदाको यस संकटपूर्ण घडीमा आफ्ना फ्यानहरूबाट सहयोगको आशा पनि राखेकी छन्। ‘हाम्रो निजी मामिलाको सम्मान हुनुपर्छ। ताकि हामी हाम्रो जिन्दगी जिउन सकौँ। तपाईंहरुको सहयोगका लागि धन्यवाद!’
सामन्था, नागाको सम्बन्ध सकिएको चर्चा लामो समयदेखि चलिरहेको थियो। तर अक्किनेनी परिवारले अहिलेसम्म यसबारे केही बोल्न चाहेको थिएन।
अहिले भने दुवैले सम्बन्धविच्छेदको पुष्टी गरेका छन्। समाचार अनुसार सामन्था र नागा चैतन्यको बिहेपछिको चिसोपनाको कारण अभिनय करियरलाई लिएर थियो।
बिहेपछि पनि सामन्थाले फिल्ममा बोल्ड सिन दिइरहेकी थिइन्। जुन कुरा उनका ससुरा नागार्जुनलाई मन परेको थिएन।
टलिउडकी सफल अभिनेत्रीमा एक सामन्था रुथ प्रभुका लागि अब कुनै अर्को परिचयको आवश्यकता नै पर्दैन।
आफ्नो बोल्ड र सेक्सी अवतरका लागि चर्चित सामन्था सुन्दरताका लागि पनि चर्चित छन्। अर्कतिर नागा चैतन्यको पूरा नाम नागा चैतन्य अक्किनेनी हो।
उनी तेलुगु सिनेमाका एक चर्चित अभिनेता हुन्। उनले अहिलेसम्म सयौँ फिल्ममा काम गरिसकेका छन्।