इलाम/ इलामको उत्तरी सन्दकपुर गाउँपालिकाले हरियाली गाउँपालिका बनाउने अभियानलाई सफल बनाउन वृक्षरोपण कार्यक्रमका लागि ६ लाख उत्पादन गरेको छ ।
भारतसँग सीमा जोडिएका उजाड क्षेत्रमा वृक्षरोपण गर्नका लागि अघिल्लो आर्थिक वर्षदेखि बिरुवा उत्पादनको कार्यक्रम गाउँपालिकाले सुरु गरेको थियो ।
विदेशी प्रजातिका रुख बिरुवा रोपणमा प्रतिबन्ध लगाएको गाउँपालिको आफ्नै क्षेत्रमा पाइने प्रजातिका बिरुवा उत्पादन गरी वृक्षरोपणको काम गर्दै आएको छ ।
स्थानीय प्रजातिका बिरुवा उत्पादन र रोपणपछि सीमसारको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
सीमावती क्षेत्रको धेरै उचाइ पर्ने क्षेत्रमा वनजङ्गल मासिएकाले त्यसलाई हरियाली बनाउने अभियान थालिएको हो ।
इलामको उत्तरी क्षेत्रमा रहेको सन्दकपुर क्षेत्रमा इलाममा पर्ने खोला, नदी र सीमासार क्षेत्रका प्रायः मुहान क्षेत्र रहेको छ ।
खोला, नदी र सीमासार क्षेत्रका मुहान संरक्षण र सीमा क्षेत्रमा पर्ने दर्जनौँ पर्यटकीयस्थलको प्रवद्र्धनका लागि वृक्षरोपणको कार्यक्रम गरिएको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।
माई नदीको मुहान क्षेत्र रहेको सन्दकपुर गाउँपालिको जलाधार क्षेत्रमा वृक्षरोपणका लागि गाउँपालिका र इलामका रहेका जलविद्युत् आयोजनाहरूले लगानी गरेका छन् ।