देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक
रेमिट्यान्स बढ्यो, महंगी ३.३९ मा सीमित
दमक÷ नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको उक्त वित्तिय स्थिति अनुसार चैत्र महिना यता रेमिट्यान्स १० प्रतिशतले बढेको छ भने महँगी ३.३९ प्रतिशतमा सीमित भएको जनाएको छ ।
चालु आर्थिक वर्ष ०८१÷८२ को चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ३.३९ प्रतिशतमा सीमित र हेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, ०८० चैत महिनामा महँगी ४.६१ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
चैतमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत महँगी २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्न महँगीलाई ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको थियो ।
रेमिट्यान्समा १० प्रतिशत बृद्धि
चालु आर्थिक वर्ष ०८१÷८२ को नौ महिना (चैत मसान्त)सम्म रेमिट्यान्स आय (विप्रेषण आप्रवाह) १० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०÷८१ को चैत मसान्तको तुलनामा रेमिट्यान्ट आय बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । ०८० चैत मसान्तसम्म अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आय १७.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । ०८० चैतमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ५८ हजार २२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६५२ रहेको राष्ट्र बैंकको तथ्यांक छ । ०८० चैतमा संस्थागत तथा व्यक्तिगत–नयाँ गरी तीन लाख २७ हजार ८४२ र पुनः श्रम स्वीकृति दुई लाख ११ हजार २२६ ले लिएका थिए ।
वैदेशिक अध्ययनमा अर्ब बढी बाहिरियो
चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (साउन–चैत) सम्म नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो । चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।
उता नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ । तथ्यांक अनुसार भ्रमण आयको तुलनामा व्यय माथि देखिन्छ र जसले गर्दा खुद सेवा आय ८१ अर्ब ५४ करोड घाटामा छ ।