दमक÷ प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढी आएलगत्तै उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय मुलुकसँग समन्वय गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बाढीपछि सरकारले गरेका कामबारे जानकारी गराउँदै उनले यति ठूलो विपद् पर्दा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै नरहेको बताए ।
प्रधानमन्त्री बालेनले प्रक्रिया समेत छोटो गराएर सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेको बताएका छन् । उनले प्रभावित क्षेत्रका विद्युत आयोजनाका सुरुङमा खोज र उद्धारको सन्दर्भमा घटना हुनासाथ खोज गर्दा र जहाँ जहाँ घाइते भेटिए, जहाँ जहाँ हेलिकोप्टर जान सक्यो त्यहाँ उद्धार तीव्र बनाएको जानकारी दिए ।
‘प्रभावित विद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ’, प्रधानमन्त्री शाहले भने । यस्तै, प्रधानमन्त्री शाहले शुरूआतबाटै प्रदेश सरकारसँगै स्थानीय सरकार र जनप्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको पनि दाबी गरेका छन् ।
‘हामी प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेका थियौं । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरूसँग छलफल गरी विपद् व्यवस्थापनमा आ–आफ्नो जिम्मेवारी अझै गम्भीर रूपमा निर्वाह गर्ने निर्णय भएको थियो’, प्रधानमन्त्री शाहले भने ।
आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु । आफ्ना सपनाहरू बुनिरहनु भएका नानीबाबुहरु, हाँसो–खुसीका साथ बसिरहनु भएका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले क्षणभरमै हामीबाट खोसेर लग्यो । उनले भने । यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीअर्पण गर्दछु । आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखिनै समवेदना व्यक्त गर्दछु । घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अनि, आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडा पनि म गहिरोसँग महसुश गर्न सक्छु ।
यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकहरूको कारुणिक चीत्कार सुन्दा मेरो छाती चिसो हुन्छ । तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै छैन । प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् ।
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
दमक । रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउनेक्रम जारी रहेको बताएका छन् ।
उनकाअनुसार राहत कोषमा बुधबार विहानसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ । जसमध्ये उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब निकासा गरिएको थियो । त्यसमध्येबाट छ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ ।
उक्त कोषमा हाल छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । यसमा अन्य देशबाट आएको सहयोगको रकम जोडिएको छैन ।