ओशो धर्म र विचारका प्रतिपादक आचार्य रजनीशले सेक्स गुरुको रुपमा आफ्नो दार्शनिक विचारलाई दुनियाँका अगाडि राख्दै ओशो मतको प्रतिपादन गरे । उनले आफ्ना प्रगतिशील उत्तर आधुनिक विचार र अभिजात्य तथा सम्भ्रान्त जीवन दर्शनलाई सुखवादी( हेडोनिस्टिक) दर्शनको रूपमा प्रस्तुत गरे । धार्मिक मान्यताहरूले संसारमा मानिसहरूलाई पाप र पुण्यको कुरोमा अल्झाएर डराउन मात्र सिकाए, प्रेम गर्न सिकाएनन, काम वासनालाई नियन्त्रण गर्न मात्रै सिकाए काम वासनालाई जीवन र आनन्दको विषयवस्तु बनाउन दिएनन् । पितृसत्तात्मक संयुक्त परिवार प्रणालीले महिलाहरूलाई आफ्नै शरीर, मन र भावनामाथि पनि व्यक्तिगत स्वतन्त्रता र अधिकारलाई सुरक्षित राख्न दिएनन्. । मन पराएको व्यक्ति सँग प्रेम गर्नु कुनै अक्षम्य पाप र अपराध होइन ।
महिला र पुरुष बीच शारीरिक सम्बन्ध कायम हुनु पनि कुनै अनैतिक र अधार्मिक कार्य होइन । यो हरेक प्राणी झैं मानव जातिको पनि जैविक र शारीरिक आवश्यकता हो । परस्पर सहमतिबाट स्थापित भएको कुनै पनि किसिमको प्रेम सम्बन्ध अवैध र गलत हुन सक्दैन । महिला र पुरुष एक अर्काका पूरक र सहयोगी हुन् । महिला र पुरुषलाई स्वेच्छाले आफ्नो यौन साथी रोज्ने र परित्याग गर्ने स्वतन्त्रता हुनु पर्दछ । शरीर र मन लाई दमन र नियन्त्रण गरेर मानिसले न त सुख पाउँछ ,र न त शान्ति नै पाउँछ । पुरुष र महिला जब एक अर्का प्रति आकर्षित हुन्छन् तथा स्वयं प्रेरणाले नै परस्पर प्रेम सुत्रमा बाँधिन्छन् र सम्भोगरत अवस्थामा चरम सुखको अनुभूति गर्दछन् तब मात्र समाधिको स्थितिमा प्राप्त गर्दछन, तथा मनभित्र पूर्ण शान्ति भएको अनुभव गर्दछन् । आचार्य रजनीशका यस्ता विचारहरूले युवा पुस्तामा नयाँ तरङ्ग नै ल्याइदिएको छ । रजनीशको विचारमा मानिसको मृत्यु भएपछि धर्म र पाप सबै कुरो सकिन्छ । त्यस कारणले पाप र पुण्य तथा स्वर्ग, नर्क र ईश्वर सत्य होइनन् । त्यसैले ईश्वर पाउनका लागि र ईश्वरलाई खुशी पारेर वरदान पाउनका लागि ऋषि र ब्राह्मणहरूले बनाएका नियमहरू, ब्रह्मचर्य बस्नु,व्रत बस्नु, उपवास बस्नु, शरीरलाई कष्ट दिनु,तीर्थ यात्रा गर्नु आदि इत्यादि जस्ता सामाजिक प्रचलनहरु तथा पारम्परिक कार्यहरुलाई ओशो मतका सन्यासी र सन्यासीनीहरुले मूर्खता पूर्ण कार्य तथा अन्धविश्वास भन्दै खिल्ली उडाउँदै गरेको पाइन्छ । मोज मस्ती गर्नु र यौन आनन्द बाट नै जीवनमा सुख र शान्ति प्राप्त गर्नु ओशो मतको मूल विचार रहेकोले उच्च आयवर्गका महिला र पुरुष तथा उच्च शिक्षित बुद्धिजीवी वर्गका युवा युवतीहरुले मात्र ओशो रजनीशको मूल भाव र विचार लाई स्वीकार गरि रहेका देखिन्छन् तथा आफ्नो जीवन र व्यवहारमा पनि त्यसलाई प्रयोग र अभ्यास गरिरहेका भेटिन्छन् ।
नेपाल र भारत जस्तो परम्परावादी समाजमा विवाहलाई एउटा अत्यन्त पवित्र धार्मिक र सामाजिक संस्कार मानिए पनि संसार नै पश्चिमेलीकरण हुँदै जाने बाटोमा तीव्ररूपमा अगाडि बढी रहेको हुँदा शहरी क्षेत्रका युवा पुस्ता लिभ इन रिलेशनशिपमा जान बढी उत्सुक भइरहेका देखिन्छन् । आधुनिकीकरण र सहरीकरणले गर्दा मानिस एक्लिँदै गइरहेका छन्, ,विरक्तिएका छन् र मानिस अत्याधिक तनावमा बाँच्न बाध्य बन्दै गइरहेका छन् । यस्तो अवस्थामा मेन्टल सेक्स, फिजिकल हेल्थ, सेक्स हेल्थ, फ्री सेक्स, फ्री लभ, सेक्स इञ्जोइमेन्ट, सेक्स थेरापी, डिप्रेसन, ब्लड प्रेसर, काम उन्माद, आदि जस्ता शारीरिक र मानसिक विकृति र समस्याहरू पनि बढ्दै गइरहेका छन तथा मानिसहरू शान्तिको खोजीमा ओशो कम्युनतर्फ जान प्रेरित भइरहेका भेटिन्छन् । मानिसको मनभित्र कुण्ठित भावनाको विकास हुँदै जानु, निराशा बढ्दै जानु, सुरक्षाको अनुभूति न हुनु,महिला स्वन्तन्त्रता न हुनु लगायतका मानसिक ,शारीरिक र भावनात्मक समस्याहरूको निदानका लागि खास गरेर युवा उमेरका महिला र पुरुषहरूको ओशो आश्रम प्रति ठूलो लगाव र आकर्षण भएको पाइन्छ, ।
ओशोको अहोभावमा प्रेम सम्बन्ध स्वतस्फुर्त र आनन्दको भावनाले स्थापित हुन्छ र प्रेम भावना रहुन्जेलसम्म मानिसको मनभित्र आनन्द र उमङ्गको सागर बगिरहन्छ । संसारको कुनै पनि धर्म, दर्शन, मिमांसा र कानुनले प्रेममा बाँधिएका मनहरूलाई अपराधी झैँ पापको भागी बनाउनु हुँदैन र दण्डित गर्नु हुँदैन । तर एउटा परम्परावादी समाजमा विवाह गर्ने उमेर पुगेका युवा युवतीहरूले विवाह नै नगरी शारीरिक सम्बन्ध कायम गर्नुलाई अनुचित मानिन्छ । मनु महाराजले आफ्नो पुस्तक मनु स्मृतिमा एउटी बालिका बाल्यकालमा आफ्नो पिताको अधीनमा बस्नुपर्दछ र युवावस्थामा आफ्नो पतिको अधीनमा बस्नुपर्दछ तथा वृद्धावस्थामा आफ्नो छोराको अधीनमा रही बस्नुपर्दछ र महिलाहरूलाई जीवनमा पूर्ण स्वतन्त्रता कहिले पनि दिनु हुँदैन भनेर खुलेरै लेखेका छन् । तर ओशोले यस्ता कुराहरू माथि ठूलो असहमति जनाइरहेका भेटिन्छन् । परमात्मालाई अनुभव मात्र गर्न सकिने हुनाले यो मानिसको मनभित्रको एउटा विशेष ज्ञानको अवस्था हो । स्वतन्त्र यौन सम्बन्ध बाट परम आनन्द र शान्ति प्राप्त हुन्छ । घर परिवार, समाज वा संस्थाको कुनै स्वीकृति नै नलिई आफैले रोजी रोजी प्रेम सम्बन्ध स्थापित गरी यौन समागम गरेमा परमानन्द अर्थात् समाधि को अवस्था पनि प्राप्त हुने र प्रेम नै परमात्मा हो भन्ने कुराको बारेमा सहज बोध पनि हुने अवस्थालाई रजनीशको ओशो दर्शनको मूल विचार मानिन्छ । ओशोको यस्तै खाले प्रवचनहरू सुनेर ओशो प्रेमीहरूले ओसोलाई भगवानको दर्जा प्रदान गरेका छन् ।
ओशोले यौन स्वतन्त्रताको बारेमा आफ्ना पुस्तकहरूमा खुलस्त रूपमा लेखेका छन । ओशोको विचारमा अहिलेको परिवर्तित परिस्थिति र सन्दर्भमा खुल्ला प्रेम सम्बन्धको विरोध गर्ने परिवार, समाज, मूल्य ,मान्यता, परम्परा, रीति रिवाज, विवाह, धार्मिक प्रचलनहरू जस्ता कामै नलाग्ने रूढीवादी संस्था र विचारहरू लाई युग सुहाउँदो ढंगले रूपान्तरण गर्नु जरुरी छ । प्रविधिको विकाससँगै मानिसहरूको मनोसामाजिक चिन्तन र व्यवहारमा पनि नयाँपन ल्याउनु जरुरी छ ।
यथास्थितिवादी र परम्परावादी समाजले मानव समाजलाई स्वतन्त्रतापूर्वक अगाडि बढ्न दिएनन् । महिला र पुरुष बीचको स्वन्तत्रता र प्रेम भावना लाई समाजले महत्त्व दिएनन । नारीहरू दासी मात्र भए प्रेमिका हुन सकेन ।जसको कारणले गर्दा मानव समाज दिनप्रतिदिन कुण्ठित जीवन बाँच्न बाध्य हुँदै गयो र शक्तिहीन हुँदै गयो । विश्वका ठुलठुला धर्मगुरु, दार्शनिकहरु तथा सन्त महात्माहरूले भनेका कुराहरुलाई मानिसहरूले सही तरिकाले बुझ्न र मनन गर्न सकेन । त्यसकारणले प्रेम छोपिँदै गयो र घृणा बढ्दै गयो जसको परिणामस्वरूप समाजमा असमानता, भेदभाव र द्वेष, तथा अशान्ति बढ्दै गरेको देखियो तथा संसारमा युद्ध, लुटपाट, हत्या, बलात्कार र हिंसा जस्ता आपराधिक कृत्य हरूमा वृद्धि हुँदै गयो । मानिस कृत्रिम जीवन बाँच्न विवश भए । देशलाई नेतृत्व गर्ने राजनीतिक वर्गहरूले पनि नारी स्वतन्त्रता र धार्मिक सांस्कृतिक क्रान्तिको आवश्यकतालाई बुझ्न सकेनन् । त्यसकारणले संसारमा ओशो प्रेमीहरूले यौन स्वन्तत्रतामा आधारित नयाँ ओशो धर्मकू आवश्यकता लाई बुझेर ओशो ध्यान केन्द्र र ओशो कम्युनहरू खडा गर्न थालेका हुन् ।
बुद्धकै जस्तो बहुजन हिताय बहुजन सुखायका लागि मानव समाजलाई एउटै किसिमको सामाजिक प्रणालीभित्र आबद्ध गर्नु जरुरी छ, किनभने मानव स्वतन्त्रता तथा महिला र पुरुष बीचको पूर्ण स्वतन्त्रता नै संसारको अधिकांश समस्याहरूको समाधान हो । ओशो मतको प्रेमपथ र ओशो अहोभावले नै संसारलाई आनन्दको स्वर्गमा रूपान्तरण गर्न सक्दछ । ओशोको विचारमा भावनात्मक रूपले परिपक्व युगल जोडीहरूको सेक्सुअल डिजायर लाई सन्तुष्टिको अनुभूति हुनु नै समाधिको अवस्थामा पुग्नु हो अर्थात् फ्रम सेक्स टु कन्सियसनेसको अवस्थालाई प्राप्त गर्नु हो तथा ईश्वरलाई साक्षात्कार गर्नु सरह हो भने हिन्दु सनातन संस्कारका परम्परावादी विचारकहरू तथा धर्मगुरुहरूले ओशोलाई छोरी चेलीहरूलाई चरित्रहीन बनाउने, पतिपत्नी बीच असामान्जस्य पैदा सामाजिक संस्कृतिक विकृति फैल्याउने तथा धार्मिक मूल्य मान्यता र विश्वासमाथि अनास्था फैल्याउने, समाज विरोधी तत्व र फ्रायड वादी दार्शनिकको रुपमा लिँदै कडा आपत्ति जनाइरहेका भेटिन्छन् ।