विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका कोशी प्रदेशका ३० जना नागरिक सकुशल सम्पर्कमा आएका छन् भने बाढीमा फसेका १२ जनाको जीवितै उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका अझै १६० जना नागरिक सम्पर्कविहीन छन् । बाढीको उच्च जोखिममा रहेका १२ जनालाई विभिन्न स्थानबाट सुरक्षित रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये झापाका एक र ओखलढुङ्गाका ११ जना छन् ।
उद्धार गरिएकामध्ये अधिकांश नुवाकोटस्थित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना तथा रसुवाका विभिन्न क्षेत्रमा कार्यरत मजदुर रहेका छन् । देबलाल मुर्मु सतार, गणेशबहादुर पहरी, सञ्जीव तामाङ, प्रकाश राई र सार्की शेर्पालगायतलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, केही समयदेखि सम्पर्कविहीन रहेका ओखलढुङ्गाका १०, उदयपुरका ५, सुनसरीका ५, ताप्लेजुङका ३, सोलुखुम्बुका ३, खोटाङका २ र इलामका १ जना परिवार तथा प्रहरीको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएका व्यक्तिहरूमध्ये केही रसुवाका विभिन्न जलविद्युत् आयोजनामा मजदुरका रूपमा कार्यरत, केही सवारी चालक तथा केही गोसाइँकुण्ड तीर्थयात्राका लागि पुगेका व्यक्ति रहेको खुलेको छ । उनीहरू टिमुरे, धुन्चे, गोसाइँकुण्डलगायतका क्षेत्रमा रहेका होटल तथा कार्यस्थलमा सुरक्षित रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीका कारण अहिलेसम्म कोशी प्रदेशका एक जनाको मृत्यु भएको छ । विपद्पछि प्रदेश प्रहरी कार्यालयले प्रभावित क्षेत्रमा रहेका नागरिकको विवरण संकलन तथा सम्पर्कविहीन व्यक्तिका परिवारसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने कार्यलाई तीव्रता दिएको छ ।