कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

भोटेकोशी बाढी पीडितप्रति समर्पित दमकको श्रीकृष्ण रथयात्रा

दमक/ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि यस वर्ष दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रा भव्य उत्सवका रूपमा नभई भक्ति, प्रार्थना, श्रद्धाञ्जली र मानवीय सेवाको सन्देशसहित आयोजना हुने भएको छ । मंगलबार रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा आउँदो शुक्रबार आयोजना हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।
सचिव प्रेम भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा २०७१ सालदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रा यस वर्ष विगतमा जस्तो तामझाम, नाचगान र मनोरञ्जनमा केन्द्रित नगरी भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते, बेपत्ता र प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सामूहिक प्रार्थना गर्ने गरी आयोजना गरिने समितिका अध्यक्ष आचार्यले बताए ।
पत्रकार सम्मेलनमा प्रेसित प्रेस विज्ञप्तिका अनुसार रथयात्राका क्रममा विभिन्न स्थानमा आरती तथा प्रार्थना गरिनेछ । हनुमान मन्दिर, जेसी चोक, देवकोटा चोक, पशुपति मन्दिर, शंखधर चोक, भृकुटी चोक, रातो पुल, भानुभक्त चोक, फागुनन्द चोक तथा दमक नगरपालिका अगाडिलगायतका स्थानमा आरती र प्रार्थनाको कार्यक्रम राखिएको छ ।
भोटेकोशी बाढीमा दिवंगत भएकाहरूको आत्माको चिरशान्ति, घाइते तथा अस्पतालमा उपचाररतहरूको शीघ्र स्वास्थ्यलाभ र अझै सम्पर्कविहीन रहेकाहरूको सकुशल उद्धार तथा परिवारसँग पुनर्मिलनका लागि प्रार्थना गरिने आचार्यले बताए ।
यस वर्ष रथयात्राको अर्को महत्वपूर्ण पक्षका रूपमा दान–भेटी व्यवस्थापनलाई लिइएको छ । रथयात्राका क्रममा संकलन हुने दान–भेटी तथा स्वेच्छिक सहयोग पारदर्शी रूपमा व्यवस्थापन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने समितिले जनाएको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले ‘श्रीकृष्णको रथसँगै सहयोगको हात बढाऔँ’ भन्ने सन्देशसहित रथयात्रा आयोजना गरिने भएको हो ।
विगत वर्षहरूमा जस्तो औपचारिक उद्घाटन कार्यक्रमसमेत नराखिने भएको छ । रथमा राखिएको भगवान् राधाकृष्णको मूर्तिसहितको मन्दिरमा छोपिएको कपडा हटाएपछि उपस्थित प्रदेश सांसद, दमक नगरपालिकाका मेयर रामकुमार थापा, उपमेयर रेगिना भट्टराई प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला रथयात्रा समितिका अध्यक्ष लगायतले दीप प्रज्वलन गरी आरती गरेपछि रथ अगाडि बढाइने कार्यक्रम तय भएको आचार्यले बताए ।
रथयात्रामा भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल पाथीभरा ३८ नम्बर गण, इलाका प्रहरी कार्यालय दमक र दमक नगर प्रहरीसँग समन्वय गरिएको छ । ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरी कार्यालय, जीवनचक्र समाज र दमक नगर प्रहरीलाई दिइएको छ । रथयात्रालाई व्यवस्थित गर्न दमक उद्योग वाणिज्य संघको नेतृत्वमा दमक युथ क्लब, लायन्स क्लब, जेसीज, रोटरी क्लब तथा लियो लगायतका संस्थाका स्वयंसेवक परिचालन हुनेछन् । रथको प्रमुख घेरा व्यवस्थापनको जिम्मेवारी डिभाइन युथ क्लब तथा बाहिरी घेराको जिम्मेवारी आईटीएफले लिएको समितिले जनाएको छ । पैदल हिँड्न कठिन हुने ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिका लागि करिब ५० देखि ७० वटा सफारीको व्यवस्था गरिएको छ । ती सफारी रथयात्राको पछाडिपट्टि निर्धारित लाइनमा सञ्चालन हुनेछन् ।
रथयात्रामा स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता दिइएको छ । आकस्मिक अवस्थाका लागि तीनदेखि चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ भने स्वास्थ्यकर्मीसमेत परिचालन हुनेछन् । दमकका विभिन्न अस्पतालका आकस्मिक कक्षमा आवश्यक बेड तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको समितिले जनाएको छ । रथयात्राका क्रममा भक्तजनका लागि पानी, काँक्रा, सर्वत, चकलेट लगायतका सामग्री विभिन्न संघ–संस्थाको सहयोगमा उपलब्ध गराइनेछ । रथयात्रापछि प्रसादीको
व्यवस्थापन श्री राधा माधव समितिले गर्ने तथा श्याम परिवारले भण्डारा सञ्चालन गर्नेछ । रथ तान्ने जिम्मेवारी कीर्तन मण्डली केन्द्रीय समितिले लिएको छ । पुष्पवृष्टि व्यवस्थापनको जिम्मेवारी चाहिँ पातञ्जल तथा पतञ्जली योग समितिले लिएको छ ।
समितिले यस वर्षको रथयात्रालाई धार्मिक आस्था र सामाजिक उत्तरदायित्वसँग जोड्ने जनाएको छ । विपत्तिको समयमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै आयोजना गरिने रथयात्राले धार्मिक समुदायको मानवीय दायित्व र सामाजिक सद्भावको सन्देश दिने समितिको विश्वास छ ।

Author

You may also like