कविज्यू तपाईं किन बोल्नुहुन्न ?
केही त बोल्नुस
लेख्नुस
पढनुस
केर्नुस
हेर्नुस
त्यो किन गर्नुहुन्न अचेल ?
के भयो तपाईं लाई ?
किन अलमल ?
किन हतारो ?
किन खटपट ?
किन चहलपहल ?
के को लागि दगुर्दैहुनुहुन्छ ?
कसैको हिसाब मिलान नभएर पो हो कि ?
यसरी न बहकिनुस न
घम्साघम्सी न गर्नुस
अगाडि पछाडि हेर्नुस त
को तपाईंलाई पच्छ्याउदैछ ?
यो बुझ्नु भा छ कि छैन ?
बृहत बुझ्नुस्
सानातिना कुरामा नअल्मलिनुस्
कति शब्द र अक्षरमा मात्र अल्मलिनु हुँदैछ
यसो साथीभाइ इष्टमित्र त सम्झिनुस कि कसो ?
हिजोआज खैरातीहरुले तपाईंलाई दाम चढाए कि क्या हो
कसैसँग केही कुरा खोल्नुहुन्न
एक शब्द बोल्नुहुन्न
यहाँ बग्रेल्ती औठाछाप कलमहरुको भीड छ
के तपाई चिन्नु हुन्न उहाँ अलपत्रकारहरुलाई ?
चिन्ने प्रयत्न गर्नुस न
अध्ययन, अन्वेषण गर्नुस
जो समाचार लुकाउछ
दलहरुको लवेदा समाउछ
ओहोरदोहोर गर्छ कहाँ रकमी खेल छ
त्यसैको पेरिफेरिमा बसेर
कालोलाइ सेतो र सेतोलाइ कालो बनाउन उद्दत छ
यो सबै किन केर्नु हुन्न ?
कविज्यू केही त बोल्नुस ?
कृपया बोल्नुस न
किन डराउनुहुन्छ ?
किन अरुको कुरा सुन्नुहुन्छ ?
किन कुरा लुकाउनु हुन्छ ?
किन ढाकछोप गर्नुहुन्छ ?
किन बुझेर बुझ पचाउनुहुन्छ ?
केही त बोल्नुस ?
बचेखुचेको साख राख्नुस ।
यी आम, तमाम प्रश्न तेर्सिएको छ हिजोआज, कविज्यूलाई, लेखकलाई, सामाजिक अभियन्ताहरुलाइ । यस्तो सम्म केर्दा किन मौन बसेका छन लाखौं कलमहरु । किन बोल्दैन गरिव तथा बेरोजगार युवाहरुको पीडा र ब्यथालाइ । देश प्रसव पीडामा छ, डनबादहरु खुलमखुल्ला जघन्य अपराध गर्दा सम्म गृहमन्त्री चुप लागेर बस्या छन । बिहान सखारै घरबाट हिडेको मान्छेहरु बेलुकी घर फर्कन पाउछ कि पाउदैन भन्ने अवस्था छ । यहाँ अधिकारका कुरा गरेर जीवनमै नथाक्नेहरु मौन छन , डलरको खेतीमा छन भन्ने दृश्य हामी अन्तरास्टिूय उडान भर्न जादाको दृश्य परिदृश्यबाट ज्ञात गरेका छौं । भनाइ छ नि – कहिँ नभएको जात्रा हाडी गाउँमा “ भनेझैं नयाँ नेपालमा यिनै कुराहरु यही आँखाले झलझल्ती देख्न, सुन्न र भोग्न सकिन्छ । यहाँ जसले जे गरेपनि छुट छ, जे गरे हुन्छ ताकि बोलवाला सरकारकै छ । हिजोका दिनमा अनेकन काण्ड मच्चाउनेहरु आज शक्तिशाली मन्त्रालयमा आसिन छन । हिजो के – के घटना घटाएनन, के नै बाकी राखे र ? भन्नपनि सरम लाग्छ हामीलाई । उनीहरूलाई न लाज, न सरम केहीको छैन । हिजो यो सरकार बनेदेखी यता हेर्नुस कहाँ – कहाँ के कस्ता घटना घटे त्यो तपाईं हामी सबैले देखे भोगेकै कुरा हो ।
यतिहुदासम्म सरकार टसकोमस छ, केही बोल्दैबोल्दैन । हुलाकी, सुसारे, चम्चे, हुक्के जहाँपनि जतापनि सिण्डिकेट प्रणालीमा आसिन छन । बिचौलियाहरुको बिगबिगी छ, को मान्छे को पशु कसैले कसैलाई चिन्दैन । बजारमा मोलमोलमोलाइ बढदो छ । बिचरा ! जनता सिटामोल खान नपाएर मरिरहेका छन, सरकार चलाउनेहरु बेफ्वाकका भाषण गरिरहेका छन । यो यतिसम्म बुझिरहदा सम्म भबिष्यका कर्णधार बिद्यार्थीहरु निधारमा कफन भिरेर सडकमा जात्रा देखाइरहेका छन । उनीहरूले हामीलाई कसरी प्रयोग गरेका छन भन्ने बुझेनन्, नबुझि ब्यर्थ कुदनु किन ? भोलि भबिष्यमा के बन्ने, के गर्ने भन्नेसम्म हेक्का रहेको देखिन्न, अहिलेका युवाहरुको । न मान, न सम्मान, न पारदर्शिता केहीपनि देखिन्न । महङ्गीले आकाश ढाकिसक्दा सम्म कुनै गुन्जायस नहुनु भनेको लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्नुजस्तै भएको छ । यो भनिरहदा कति दलालहरुलाइ बिझाउन सक्छ तर वस्तु यथार्थ पनि यही हो कि देश यतिबेला रानोबिनाको मौरीजस्तै छटपटिन बाध्य छ । किसानको हलो खुस्किएको छ, गरिबहरुको नाम्लो खोसिएको छ, शिक्षित बेरोजगारहरु बग्रेल्ती हुँदासम्म यो सरकार कहाँ कानमा तेल हालेर बसेको छ, जवाफ छ कतै । हिजोआज यी आँखाहरुले न राम्रो काम देख्न सक्यो न राम्रो र उत्तरदायित्व बहन कोहिकसैले गरेको छ, कतैपनि देखिन्न । राजनीतिमा उस्तै हानाहान छ , पोलखोला खोल छ , शिक्षकको राजनीति उस्तै अजिवको छ, एकले अर्कोलाई निषेधको राजनीति गर्दासम्म कोहि बोल्नेवाला छैनन् । अनि हामीले राजनीतिमा लागेपनि न लागेपनि दलहरुको किन बुइ चढेर सामाजिक काममा एकअर्काबिच पानी बाराबार छ ।
यतिसम्म दिमाग खराब भएका मान्छेहरु छन यो मुलुकमा, तपाईं सामाजिक संजालमा कमेन्ट लेखेका शब्दहरुको भाव बुझ्नुस त आफैलाइ लाज लजाउछ । हामीलाई भन्दापनि हाम्रो नेतृत्व पङतिलाइ लाज लाग्नुपर्ने हो त्योसम्म लागेको देखिन्न । पटकपटक संसदीय प्रणालीलाई ध्वस्त गर्नेहरु मन्त्री पदको उच्च ओहोदामा छन । एउटै बयोबृद्द ब्यक्ति पटकपटक सरकार प्रमुख हुँदासम्म युवा नेतृत्व जाग्दैन बरु उनीहरूलाई काखी च्यापेर युवाहरु उपल्लो दर्जामा पुगेका छन । अनि दोष नेताहरूलाई दिन्छन तर तिनै बयोबृद्द नेताको लवेदा समाएर मन्त्री पदमा जी हजुरी गर्दै मन्त्री बन्छन । यो सबै ब्यबस्था र परम्पराको यथार्थ चित्रण गर्ने भनेकै स्वतन्त्र साहित्य रचना गर्ने कवि हुन । उनीहरूले अब थाकेर बस्ने होइन, जागरुक भएर कविता सिर्जना गर्नुपर्छ । विकृति र विसङगतिको भण्डाफोर गर्नुपर्छ ।
जाग उठ कलमीहरु अब बस्नुहुन्न
बेथिति र कु – संसस्कृतिको भण्डाफोर गर्नुपर्छ
देश प्रसव पीडामा छ
नेपाली आमा रोएकि छिन
उनको मुहारमा कान्ति ल्याउनुपर्छ
कविज्यू केही त बोल्नुस
केही त लेख्नुस ……..?

Author

You may also like