दमक/ दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ मगरमारास्थित प्रसिद्ध भुतेश्वर महादेव मन्दिरमा भाकल पूरा भएपछि चौपाया (बहर) अर्पण गर्ने धार्मिक परम्परा बढ्दै गएको छ । यस वर्षको साउन महिनाका तीन सोमबारमा मात्रै भक्तजनले ४७ वटा चौपाया (बहर) भाकलस्वरूप मन्दिरमा अर्पण गरेका छन् ।
भुतेश्वर महादेव संरक्षण समितिका सचिव केमानन्द राजवंशीका अनुसार पहिलो सोमबार चार, दोस्रो सोमबार १८ र तेस्रो सोमबार २५ वटा चौपाया अर्पण गरिएको हो । साउनका थप दुई सोमबार बाँकी रहेकाले यस वर्ष अर्पण गरिएका चौपायाको संख्या करिब सयको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ । गत वर्ष साउन महिनामा करिब ५० वटा चौपाया अर्पण गरिएको थियो । आफ्नो मनोकामना पूरा भएपछि भगवान शिवको वाहनका रूपमा मानिने चौपाया अर्पण गर्ने धार्मिक विश्वास रहेको सचिव राजवंशीले बताए । साउने सोमबारमा जल चढाउन आउने भक्तजनको भीडसँगै भाकल पूरा गर्ने श्रद्धालुको संख्या पनि बढ्दै गएको उनले जानकारी दिए । मन्दिरमा अर्पण गरिएका चौपायाको व्यवस्थापन समितिले व्यवस्थापन गर्ने गरेको छ । पाल्न चाहने किसान तथा व्यापारीहरू मन्दिरमै आएर चौपाया लैजाने गरेका छन् । एउटा चौपाया एक हजारदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको समितिले जनाएको छ ।
भक्तजनले चौपायासँगै सुनचाँदी तथा नगदसमेत दान गर्ने गरेका छन् । गत वर्षको साउन महिनामा नगद र जिन्सी गरी करिब १० लाख रुपैयाँ भेटी संकलन भएको थियो । खर्च कटाएर करिब पाँच लाख रुपैयाँ मन्दिरको कोषमा राखिएको सचिव राजवंशीले जानकारी दिए । विसं २०१२ सालमा बैजनाथ राजवंशीले स्थापना गरेको भुतेश्वर महादेव मन्दिरलाई उनले २ बिघा १६ कठ्ठा जग्गासमेत दान गरेका थिए । २०५५ सालदेखि स्थानीयले बोलबम मेला सुरु गरेपछि मन्दिरको धार्मिक गतिविधि थप विस्तार भएको हो ।
हाल पालिका, प्रदेश सरकार र विभिन्न दाताको सहयोगमा मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ । मन्दिर परिसरमा बद्रीनाथ, गणेश, कार्तिक, हनुमान, पार्वती, शिवशक्ति, कैलाश र गंगा मन्दिर निर्माण गरिएको छ । यस्तै धर्मशाला, सत्संग भवन, हवन कुण्ड र स्नान पोखरीसमेत व्यवस्थापन गरिएको छ ।
साउने सोमबार, शिवरात्रि तथा अन्य धार्मिक अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतको बिहार र बंगालबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् । मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण भुतेश्वर महादेव मन्दिरमा श्रद्धालुको आकर्षण बढ्दै गएको मन्दिर समितिले जनाएको छ ।