गतांकबाट……

आफ्नो वरिपरि रहेका साँच्चिकै सुखी स्त्री–पुरुषहरूलाई ध्यानपूर्वक हेर्ने हो भने, तिनीहरू सबैमा केही साझा विशेषताहरू भेटिन्छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण कुरा यस्तो कुनै काम वा गतिविधि हो, जुन प्रायः समय आफ्नै कारणले रमाइलो लाग्छ, र जसले बिस्तारै त्यस्तो केही सिर्जना गर्दै जान्छ, जसको विकास देखेर उनीहरूलाई सन्तोष र गर्वको अनुभूति हुन्छ । जुन महिलाले आफ्ना सन्तानप्रति स्वाभाविक माया र आनन्द अनुभव गर्छन्, उनले परिवार हुर्काउने कार्यबाट यस्तै प्रकारको गहिरो सन्तुष्टि प्राप्त गर्न सक्छन् ।
कलाकारहरू, लेखकहरू र वैज्ञानिकहरूले पनि आफ्नो सिर्जना वा अनुसन्धान आफैँलाई राम्रो लागेमा यस्तै प्रकारको सुख अनुभव गर्छन् । तर यस्ता आनन्दका रूपहरू केवल यिनै क्षेत्रमा सीमित छैनन्; अझ साधारण जीवनमा पनि यिनका धेरै रूपहरू छन् ।
जागीरेहरूकै कुरा गर्दा, तिनले सप्ताहन्तमा कुनै पारिश्रमिक नलिई आफ्नै बगैँचामा उत्साहपूर्वक श्रम गर्छन्। जब वसन्त ऋतु आउँछ र आफ्नै मेहनतले हुर्काएका फूलहरू फुल्छन्, तब उनीहरूले आफ्नै हातले सौन्दर्य सिर्जना गरेको अपार आनन्द अनुभव गर्छन् । तर कुनै पनि प्रकारको गतिविधिविना सुखी हुन सम्भव छैन । गतिविधि अत्यधिक भयो वा त्यस्तो काम गर्नुप¥यो जुन घृणास्पद वा स्वभावविपरीत लाग्छ भने पनि मानिस सुखी हुन सक्दैन । गतिविधि तब मात्र रमाइलो हुन्छ, जब त्यो स्पष्ट रूपमा आफूले चाहेको लक्ष्यतर्फ उन्मुख हुन्छ र त्यसको प्रकृति आफ्ना स्वाभाविक इच्छाहरूको विरोधमा हुँदैन । जवरजस्ती गरिएको काममा आक्रोश मात्रै हुन्छ ।
एउटा कुकुर खरायोको पछि लाग्दै पूर्ण रूपमा थाक्ने अवस्थासम्म पुग्दा पनि ऊ खुसी नै हुन्छ । तर यदि त्यही कुकुरलाई ट्रेडमिलमा दौडाइयोभयो र आधा घण्टापछि राम्रो खाना दिइयो भने, खाना नपाउँदासम्म ऊ खुसी हुने छैन किनभने त्यस अवधिमा उसले कुनै स्वाभाविक गतिविधिमा भाग लिइरहेको हुँदैन ।
हाम्रो समयको एउटा ठूलो समस्या के हो भने आधुनिक जटिल समाजमा गर्नुपर्ने धेरैजसो कामहरू सरल छैनन् । यसको परिणामस्वरूप, प्रविधिमा उन्नत समाजका अधिकांश मानिसहरूले आफ्नो जीविकोपार्जन गर्ने कामबाट होइन, त्यसबाहिरका गतिविधिहरूबाट सुख खोज्नुपर्छ । त्यही भएर डाक्टर फिलिम बनाउँछ, गीत गाउँछ । काम अत्यन्त थकाइपूर्ण छ भने, उनीहरूले रोज्ने मनोरञ्जन पनि प्रायः निष्क्रिय प्रकारको हुन्छ । फुटबलको खेल हेर्नु वा चलचित्र हेर्न जानुले त्यस क्षण केही रमाइलो त दिन्छ, तर त्यसपछि गहिरो सन्तुष्टि छोड्दैन । यस्ता गतिविधिहरूले मानिसका सिर्जनात्मक इच्छाहरूलाई कुनै अर्थपूर्ण तृप्ति प्रदान गर्दैनन् । यसको विपरीत, खेल हेर्ने दर्शकहरूको भन्दा खेलमा सक्रिय रूपमा सहभागी खेलाडीहरूको सन्तुष्टि पूर्णतः फरक स्तरको हुन्छ । दर्शक त पागल भएर उत्रिन्छन् । अहिलेको विश्वकप फुटबलको फाइनलमा ‘मेसीले जानी जानी गोल नलगाएर हारेको’ भन्छन् ।
छिमेकीहरूबाट सम्मान पाउने इच्छा र उनीहरूको नजरमा तुच्छ ठहरिने डरले धेरै मानिसहरूलाई—विशेष गरी महिलाहरूलाई—यस्ता व्यवहार गर्न बाध्य बनाउँछ, जुन उनीहरूको आफ्नै स्वाभाविक इच्छाबाट उत्पन्न भएका हुँदैनन् ।
जो व्यक्ति सधैँ “शिष्ट”, “उचित” वा सामाजिक रूपमा पूर्ण रूपमा “ठीक” देखिनुपर्ने दबाबमा बाँच्छ, ऊ प्रायः सधैँ नै दुखी हुन्छ । अझ दुःखलाग्दो त त्यो दृश्य हुन्छ, जब आमाबुबा—विशेष गरी आमाहरू—आफ्ना सन्तानलाई जीवनप्रतिको स्वाभाविक उल्लास दबाउन सिकाउँछन्, उनीहरूलाई शान्त, गम्भीर र कठपुतलीजस्ता अनुशासित बनाउन खोज्छन् । छोराछोरीलाई महान बनाउने धूनमा ती छोराछोरी पीना हुन्छन् । प्रतिष्ठा, शक्ति, वा यी दुवै प्राप्त गर्ने उद्देश्यले गरिने सामाजिक सफलताको दौड प्रतिस्पर्धात्मक समाजमा सुख प्राप्त गर्ने सबैभन्दा ठूलो बाधक तत्व हो । सफलता मात्रले अधिकांश मानिसलाई सन्तुष्ट बनाउन सक्दैन ।
मान्छे धनी, ज्ञानी, सफल हुन सक्छ, समाजमा प्रशंसित पनि हुन सक्छ । तर यदि उसका कुनै सच्चा मित्र छैनन्, कुनै गहिरो रुचि छैन, र कुनै त्यस्ता सहज तथा निस्वार्थ आनन्दहरू छैनन्, जसको कुनै बाह्य उपयोगिता छैन तर ती कुराले मनलाई स्वतः आनन्द दिन्छन् भने उभन्दा दुखी मान्छे अरू कोही छैन ।
सामाजिक सफलतालाई मात्र जीवनको उद्देश्य बनाएर बाँच्नु भनेको एउटा सिद्धान्तको अधीनमा बाँचेजस्तै हो । र केवल सिद्धान्तका आधारमा बाँचिएको जीवन अन्ततः धुलाम्मे, रसहीन, तनावयुक्त र जीवन्तताविहीन हुन्छ ।
यदि कुनै खान लाउन पुग्ने स्वस्थ व्यक्तिले सुखी जीवन बिताउन चाहन्छ भने त्यसका लागि दुईवटा कुराको आवश्यकता पर्छ । पहिलो, जीवनमा एउटा स्थिर आधार वा संरचना हुनुपर्छ, जुन कुनै केन्द्रीय उद्देश्यको वरिपरि निर्मित होस् । दोस्रो, जीवनमा मनोरञ्जनपूर्ण स्वतन्त्रता पनि हुनुपर्छ— जुन कुनै गम्भीर उद्देश्य पूरा गर्नका लागि होइन, केवल रमाइलो लागि हुन् ।
यो स्थिर जीवन–संरचना मानिसका स्थायी र स्वाभाविक प्रवृत्तिहरूको अभिव्यक्ति हुनुपर्छ, जस्तै परिवारप्रतिको जिम्मेवारी वा आफ्नो कामप्रतिको लगाव । यदि परिवारिक घृणा हुन्छ, वा काम सधैँ झर्कोलाग्दो र बोझिलो महसुस हुन थाल्छ भने, ती दुवैले सुख दिन सक्दैनन् ।
सुख भन्ने विषयलाई अत्यन्त गम्भीर रूपमा लिने गल्ती गरिएको छ । धेरैले यस्तो ठानेका छन् कि कुनै निश्चित जीवन–दर्शन वा धर्मबिना मानिस सुखी हुन सक्दैन । कुनै गलत जीवन–दर्शनका कारण दुःखी बनेका मानिसहरूलाई पुनः सामान्य अवस्थामा फर्कनका लागि अझ राम्रो जीवन–दर्शन आवश्यक पर्न सक्छ—जसरी बिरामी परेपछि शरीरलाई ओखतीको आवश्यकता पर्छ । तर जब मानिस सामान्य र स्वस्थ अवस्थामा हुन्छ, उसलाई स्वस्थ रहन ओखतीको आवश्यकता पर्दैन; त्यसैगरी, सुखी हुन कुनै विशेष जीवन–दर्शन पनि आवश्यक पर्दैन ।
जीवनका साधारण र सहज कुराहरू नै सबैभन्दा महत्वपूर्ण हुन्छन् । यदि कुनै व्यक्तिलाई आफ्नी पत्नी र सन्तानसँग प्रेम छ, आफ्नो काममा सफलता मिलिरहेको छ, र दिन–रात आनन्द अनुभव गर्न सक्छ भने, उसको दर्शन वा विचारधारा जे भए पनि ऊ सुखी हुनेछ । तर यसको उल्टो, यदि उसलाई आफ्नी पत्नी असह्य लाग्छिन्, आफ्ना सन्तानको आवाज सहन सक्दैन, काम कुनै दुःस्वप्नजस्तो लाग्छ; यदि दिनभर ऊ रातको प्रतीक्षा गर्छ र रात परेपछि फेरि दिन उज्यालो होस् भनेर सुस्केरा हाल्छ भने, उसलाई आवश्यक पर्ने कुरा नयाँ दर्शन होइन । उसलाई चाहिएको कुरा त नयाँ जीवनशैली हो—फरक खानपान, फरक मनोरञ्जन, बढी शारीरिक व्यायाम, वा यस्तै कुनै व्यवहारिक परिवर्तन ।
मानिस एउटा जीव हो, र उसको सुख उसले स्वीकार्न चाहेको भन्दा धेरै हदसम्म उसको शरीरको अवस्थामाथि निर्भर हुन्छ । दुःखी व्यापारीहरूले आफ्नो जीवन–दर्शन परिवर्तन गरेर भन्दा पनि, हरेक दिन नयाँ अनुभूति गरेर धेरै बढी सुख प्राप्त गर्न सक्छन् ।
मान्छेका खुसीका अकल्पनीय आयामहरू देखेर अहिले म निशब्द भएको छु । तातो फलाम हातमा राखिछाडेर आत्था कि आथ्था भन्नुको के अर्थ छ र ?

Author

You may also like