देश–समाज समाचार स्थानीय

कठ्याङ्गीएर एकको मृत्यु, स्थानीय तहमा विद्यालय बन्द हुँदै

दमक/ अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण चिसोले कठ्याङ्ग्रिएर एक जना वृद्धको बुधबार मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–८ मुसहरी टोलका ५५ वर्षीय शिवदयाल सदायको कठ्याङ्ग्रिएर मृत्यु भएको गोलबजार प्रहरीले बताएको छ ।
योसँगै शितलहर र चिसो बढेपछि झापासहित तराईमधेसका जिल्लाहरु प्रभावित भएका छन् । विद्यालयका आम बालबालिकाको चिसो र शितलहरले स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने भएपछि झापा, मोरङ, सुनसरीका स्थानीय तहका विद्यालयमा केही दिनका लागि पठनपाठन बन्द गरिएको छ । विशेषगरी तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र शितलहरले जनजीवन निकै कष्टकर बनेको भन्दै विद्यालय विदा दिईएको हो । तर मंगलबारको तुलानामा बुधबार दिउँसोबाट मौसम अलि खुलेको छ ।
मंगलबारसम्म लगातार केहि दिन भएको शितलहरका कारण अत्यधिक चिसो बढेपछि झापाका चारवटा पालिकाले विद्यालय विदा गरेका छन् । बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले तीन दिनसम्म विद्यार्थीहरुलाई जाडोको विदा दिएका हुन् । अत्यधिक जाडो बढेकोले पुष १८ गते शुक्रबारसम्म हिउँदे र बर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयका अन्य कार्यक्रम बाहेक नियमित पठन–पाठन बन्द गरिएको ती पालिकाहरुले जनाएका छन् ।
यस्तै शीतलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् । इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरु सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय दिइएको जनाइएका छन् । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोहि कारण तराईका धेरै स्थानहरूमा हुस्सु लागेको र देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
मध्य तराई कष्टकर
तराई क्षेत्रमा बाक्लो कुहिरोका कारण दृश्यता अत्यन्तै कम हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ भने कतिपय स्थानमा सवारी साधन घण्टौँसम्म रोकिएका छन् । यस्तै मध्य तराईको जनजीवन झनै कष्टकर बनेको छ ।
यसैबीच पर्साको वीरगञ्ज महानगरले तेस्रोपटक तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । दुई हप्तायता महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ । वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा हुनसक्ने असरलाई ध्यानमा राखेर बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयमा बिदा थप गरिएको हो ।
यस्तै पूर्वपश्चिम राजमार्ग विस्तार भई रहेको र बाक्लो हुस्सुसँगै सडक चिप्लो समेत हुँदा सवारी साधन सञ्चालनमा पनि कठिनाई भएको छ । चिसो र शितलहरको सबैभन्दा बढी असर बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूमा देखिएको छ । चिसोका कारण रुघाखोकी, निमोनिया, दम तथा अन्य श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीलाई सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

Author

You may also like