देश–समाज सुरक्षा

झापामा सशस्त्र प्रहरीका असईद्वारा १२ वर्षीय बालिकालाई करणी गर्ने प्रयास

गाैरीगञ्ज । नेपाल–भारत सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ ।
झापा गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षा कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

आइतबार राति साढे ९ बजेतिर घरमा सुत्ने तरखर गरिरहेकी बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेका हुन् ।

जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएकी र त्यो सुनेर सँगैको अर्काे घरभित्र काम गरिरहेकी बालिकाकी आमा तत्काल आइपुगेकी थिइन् । आमाले कट्वालको लुगा समातेर कटुवाललाई बाहिर तानेकी थिइन् । मादकपदार्थ सेवन गरी आएका कट्वालले आमालाई हातले झट्काएर घटनास्थलबाट भागेका थिए । घरमा बालिका र उनकी आमा मात्र थिए । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीकामा टेलिभिजन हेर्न गएका थिए । घटनापछि पीडित परिवार त्रसित बनेको छ । उनीहरू अतिविपन्न परिवारका हुन् । उनीहरूको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।

घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।
‘घटना थाहा पाएलगत्तै कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ पाण्डेले भने, ‘हामी आन्तरिक अनुसन्धान पनि गरिरहेका छौं । दोषी देखिए कानुनअनुसार कारबाही गर्न कुनै कुराले रोक्ने छैन ।’ कोरोबारी प्रहरी चौकीमा सोमबार निवेदन दर्ता गर्न जाँदा प्रहरीले फर्काइदिएको परिवारले जनाएको छ ।

Author

You may also like