विमल लामिछाने

दमक/ देशभर विविध कार्यक्रमको आयोजना गरी २१३ औ भानु जन्मजयन्ती मनाइएको छ । यसैविच दमक नगरपालिका मातहातमा रहेको दमक प्रज्ञा प्रतिष्ठा, दमक झापाले विशेष समारोहको आयोजना गरी भब्य रुपमा भानु जयन्ती मनाएको छ ।

सोमबार दमकस्थित गोरखा डिपार्टमेन्टको सभाहलमा आयोजित समारोहमा भानुको साहित्यिक योगदानको चर्चासहित स्मरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका प्रमुख रामकुमार थापाले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले दमक प्रज्ञा प्रष्ठिानले दमकको साहित्य तथा कलालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे । उनले प्रतिष्ठानलाई दमक नगरपालिकाले संरक्षण गर्दै आएको र आगामी दिनमा पनि साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न नगरपालिकाको भूमिका महत्वपूर्ण रहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदान विषायक कार्यपत्र प्रश्तुत गर्दै प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारीले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली भाषाको विकास तथा साहित्यलाई जनसाधारणसम्म पु¥याउन उल्लेखनीय योगदान दिएको बताए । उनले रामायण र बधुशिक्षाको महत्व आजको समाजमा पनि उतिनै रहेको भन्दै आचरण र संस्कार पूर्वजबाट सिक्नुपर्ने तर्क पेश गरे । रामायणको प्रशंग स्मरण गर्दै उनले भने–‘हाम्रो समाजमा आमा, दिदी र भाउजुप्रतिको झुकावले साँस्कृतिक र नैतिक शिक्षाको भाव ब्यक्त गर्छ, तिहारको देउसीले पनि त्यही सन्देश दिएको छ ।’

कार्यक्रमका अध्यक्ष रहेका प्रा.डा. गोपाल भण्डारीले भानुभक्तको ‘नेपाली भाषाको रामायण, वधुशिक्षा, प्रश्नोत्तरी, भक्तिमाला र रामगीता लगायत कृतिले नेपाली साहित्यलाई समृद्ध बनाएको विचार ब्यक्त गरे ।

प्रतिष्ठानका सचिव जयबहादुर श्रेष्ठले कार्यक्रममा सम्मानित स्रष्टाहरुको परिचय र ब्याक्तित्वका विषयमा प्रष्ट पारेका थिए । उनले दमकका सम्मानित स्रष्टाहरु समाजका जिवन्त उदाहरणीय ब्याक्तित्व भएको भन्दै सम्मानित ब्याक्तित्वहरुलाई बधाई दिए । सोही क्रममा भानुको साहित्यिक योगदानको स्मरण गर्दै भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न भानुभक्तको योगदान ऐतिहासिक रहेको बताए ।

कार्यक्रममा दमक नगरपालिका अधिकृत सुनिल कुमार निरौला, साहित्यकार सुमित्रा वाङ्देल ‘चेली’, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक, दमकका साहित्यकार, विद्यार्थी तथा प्रतिष्ठित ब्याक्तित्वहरुको उपश्थिति रहेको थियो ।

प्रतिष्ठानका सदस्य तथा कार्यक्रम संयोेजक धनकुटे कान्छाले सञ्चालन गरेको कार्यक्रमा दमकस्थित विहानी कलाकेन्द्रका कलाकारले गीतमार्फत स्वागत गरेका थिए भने साहित्यकार डा. ब्यञ्जना शर्माले शब्दद्वारा स्वागत गरेकी थिइन् । कार्यक्रममा विहानी कला केन्द्रका बाल कलाकार रियाज रिजाल, हिमाविका विद्यार्थीहरु अमिरा विन्दु काफ्ले र सयुजा सिटौलाले भानुभक्तका कवितालाई लयात्मक रुपमा बाचन गरेका थिए । कार्यक्रममा भानुको जीवनसँग सम्बन्धित वृत्तचित्र प्रश्तुत गरिएको थियो ।

यसैविच प्रतिष्ठानले सोहीदिन विहान विभिन्न जातीय झाँकी सहित प्रभातफेरि गरेको थियो । दमक नगरपालिकाबाट शुरु भएको प्रभातफेरि फाल्गुनन्द चोक हुँदै दमकस्थित भानु चोकमा पुगेर भानुभक्तको सालिकमा फूलगुच्छाले माल्यार्पण गरी समापन गरिएको थियो । दमक प्रज्ञा प्रतिष्ठन २०७५ सालमा स्थापित संस्था हो ।

भानु जन्मजयन्तीमा पाँच स्रष्टा सम्मानित

दमक/ दमक प्रज्ञा प्रतिष्ठान, दमक झापाले दमकका पाँच स्रष्टालाई सम्मान गरेको छ । २१३ औ भानु जन्मजयन्तीको सन्दर्भ पारेर प्रतिष्ठानले विभिन्न विधामा योगदन पुर्याउने दमकका पाँच स्रष्टालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा छविलाल शर्मा सिटौला, मेघराज तिम्सिना, दक्षराज शर्मा दाहाल, खेमलाल पोखरेल र गणेशमान धिमाल रहेका छन् । सम्मानित ब्याक्तित्वहरुलाई जनही २१ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Author

You may also like