0 राष्ट्रियता केवल सीमाका राजनीतिक नारामा मात्र होइन, आफ्नै खेल र पहिचान जोगाउने व्यवहारमा पनि देखिन आवश्यक छ । त्यसैले आजको आवश्यकता विदेशी टोलीको समर्थन छोड्नु होइन । आवश्यक कुरा भनेको आफ्नै देशको खेल, आफ्नै खेलाडी र आफ्नै राष्ट्रिय पहिचानलाई पनि त्यत्तिकै प्राथमिकतामा राख्नु हो ।०
खगेन्द्र कार्की
नेपालमा राष्ट्रियताको बहस जति धेरै हुन्छ, व्यवहारमा त्यसको अभ्यास त्यति नै कम देखिन्छ । सीमा विवाद, चुच्चे नक्सा, लिपुलेक–लिम्पियाधुरा, कालापानी, विदेशी हस्तक्षेप वा राष्ट्रिय स्वाभिमानका विषयमा राजनीतिक दलहरूदेखि सर्वसाधारणसम्म उत्तिकै भावुक देखिन्छन् । चुनाव आउँदा राष्ट्रियता सबैभन्दा बढी बिक्ने राजनीतिक मुद्दा बन्छ । भाषणमा राष्ट्र पहिलो हुन्छ, तर व्यवहारमा त्यो प्राथमिकता प्रायः हराइरहेको देखिन्छ ।
आज फेरि राष्ट्रियताको विषय अर्को कोणबाट उठेको छ । विश्व फुटबलको महाकुम्भ चलिरहेको छ । नेपालका शहरदेखि गाउँसम्म विदेशी राष्ट्रका झण्डा फहराइएका छन् । ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी, इंग्ल्यान्डका जर्सी बजारमा सर्वाधिक बिक्री भइरहेका छन् । मोटरसाइकलमा विदेशी झण्डा बाँधिएका छन् । अनुहार र शरीरमा विदेशी राष्ट्रका रङले ट्याटु पोतिएका छन् । सामाजिक सञ्जाल विदेशी खेलाडीका तस्बिरले भरिएको छ । रातभर जाग्राम बसेर खेल हेर्नेहरूको उत्साह लोभलाग्दो छ ।
यो दृश्य आफैंमा गलत होइन । खेलको कुनै सीमा हुँदैन । फुटबल विश्वको साझा भाषा हो । एउटा नेपालीले अर्जेन्टिनालाई मन पराउन सक्छ, अर्कोले ब्राजिललाई, अर्कोले फ्रान्सलाई । यसमा आपत्ति हुन सक्दैन ।
खेलकुदका माध्यमबाट विदेशीलाई बोकिरहँदा आफ्नै देशको फुटबलप्रति हाम्रो प्रेम कहाँ छ ? भन्ने यक्ष प्रश्न आम नेपालमा गुन्जिन जरुरी छ ।
हामी विदेशी खेलाडीको गोलमा खुसीले सडकमा निस्कन्छौं, तर नेपाली फुटबल किन पछाडि परिरहेको छ भनेर कहिल्यै सडकमा उत्रिँदैनौं । विदेशी टोली हार्दा सामाजिक सञ्जालमा हजारौं पोस्ट लेख्ने हामी नेपाली राष्ट्रिय टोलीका समस्या, खेल पूर्वाधारको अभाव, खेलाडीको भविष्य र खेल प्रशासनको विकृतिबारे मौन रहन्छौं । यो केवल फुटबलको विषय होइन । यो राष्ट्रिय प्राथमिकताको विषय हो ।
राष्ट्रियताको अर्थ केवल सीमा जोगाउनु मात्र होइन । राष्ट्रियताको अर्थ आफ्ना संस्थालाई बलियो बनाउनु पनि हो । आफ्ना खेलाडीलाई सम्मान गर्नु पनि हो । आफ्नै देशको झण्डा अन्तर्राष्ट्रिय रंगशालामा फहरियोस् भन्ने सपना देख्नु पनि हो ।
आज हामी विदेशी झण्डा बोकेर गौरवान्वित हुन्छौं, तर नेपालको राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरोस् भनेर कति पटक आवाज उठाएका छौं ? खेलकुद प्रशासनमा सुशासन मागेका छौं ? खेल क्षेत्रमा हुने अनियमिततामाथि प्रश्न गरेका छौं ?
नेपालमा राष्ट्रियताको राजनीति भने नयाँ होइन । पटक पटकको भारतीय नाकाबन्दीदेखि चुच्चे नक्सासम्म राष्ट्रियताको विषय पटक–पटक राजनीतिक नारामा बदलिएको छ । भारतसँगको सीमा विवादलाई चुनावी मुद्दा बनाइयो । त्यसैका आधारमा जनताको अपार अभिमत पनि पाइयो, संसदबाट नयाँ नक्सा पारित गरियो । त्यसलाई ऐतिहासिक उपलब्धि भनियो । तर त्यसपछि सीमा समस्या समाधानतर्फ कति प्रगति भयो ? कूटनीतिक पहल कहाँ पुग्यो ? जनताले अझै स्पष्ट उत्तर पाएका छैनन् ।
कुटनीतिक प्रयासमा कुन सरकारले के ग¥र्यो ? भन्ने खोज्दैनौं । देशमा लोकतन्त्र स्थापना भएको ३४ वर्षसम्म हुन नसकेको काम अहिले आएको दुई तिहाईको नयाँ सरकारबाट क्षिणभरमै खोज्दैछौं । बोल्न नचाहेका प्रधानमन्त्रीलाई राष्ट्रियताको विषयमा जर्वजस्ती बोल्न लगाइयो बोलिसकेपछि फेरी विरोधको मसला बनाइयो । तर त्यहाँ पनि सीमा बाहेक राष्ट्रियता झल्किने कैयन मुद्दाहरु छायाँमा पारिएका छन, संसदमा कुरा उठ्न सकिरहेको छैन । खाली विरोधका स्टाटस सामाजिक सञ्जालमा छरपष्ट रुपमा भेटिन्छ । त्यसैको ज्वलन्त उदाहरण बनेको छ फिफाले नेपालको फुटबलमा लगाएको प्रतिबन्ध ।
यसले एउटा कुरा स्पष्ट पार्छ—राष्ट्रियता केवल भावनाले होइन, परिणामले प्रमाणित हुन्छ । यदि हामी साँच्चै राष्ट्रियताप्रति संवेदनशील छौं भने नेपाली खेलकुदको अवस्था हाम्रो पहिलो चिन्ताको विषय हुनुपर्छ । विश्वकप हेर्नु, विदेशी टोली मन पराउनु वा विदेशी खेलाडीको प्रशंसा गर्नु गलत होइन । तर आफ्नै खेल प्रणाली कमजोर बन्दै जाँदा त्यसप्रति कुनै चासो नदेखाउनु भने अवश्य पनि प्रश्नको विषय हो ।
हामीले विदेशी खेलाडीको जर्सी किन्न लाखौं रुपैयाँ खर्च गर्छौं । विदेशी क्लबका सामान किन्छौं । विदेशी झण्डा किन्छौं । बाजी खेल्छौं । तर एउटा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न कस्तो संघर्ष गर्नुपर्छ भन्नेबारे सोच्ने फुर्सद निकाल्दैनौं ।
आज नेपाली खेलाडीलाई आवश्यक सबैभन्दा ठूलो समर्थन सामाजिक सञ्जालको पोस्ट होइन, राम्रो खेल नीति, पारदर्शी खेल प्रशासन, पर्याप्त पूर्वाधार र निष्पक्ष अवसर हो । यसको माग नागरिक समाज, समर्थक र युवाबाट आउनुपर्छ । नेपालका सम्भावना बोकेका खेल र खेलकुदबाट देखिने राष्ट्रियताको पक्षमा उभिनुपर्दछ ।
यदि हजारौं युवा विदेशी टोलीको समर्थनमा सडकमा निस्कन सक्छन् भने नेपाली खेलकुद सुधारको माग गर्दै पनि उत्रिन किन नसकेका ? खेल संघहरूमा सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहिताको माग किन गर्दैनन ? खेलाडीको अधिकारका पक्षमा बोल्न किन सकिरहेका छैनन ? त्यो पनि राष्ट्रियताको एउटा महत्वपूर्ण अभ्यास हो ।
विदेशी झण्डा बोकेर हिँड्नेहरूलाई राष्ट्रघाती भन्न मिल्दैन । उनीहरू खेलप्रेमी हुन् । तर खेलप्रेमसँगै आफ्नो देशको खेलप्रतिको जिम्मेवारी पनि हुनुपर्छ । विदेशी टोलीको जितमा खुसी मनाउनु स्वाभाविक हो, तर नेपाली टोलीको हार, कमजोरी वा संकटमा पनि त्यत्तिकै चिन्ता व्यक्त गर्न सक्नुपर्छ ।
हामीले आफ्ना छोराछोरीलाई मेस्सी, रोनाल्डो, एमबाप्पे वा नेयमारको नाम सिकाउँछौं । तर नेपाली राष्ट्रिय टोलीका खेलाडीको नाम उनीहरूलाई कति थाहा छ ? यो प्रश्न केवल खेलको होइन, हाम्रो प्राथमिकताको पनि हो ।
राष्ट्रवाद भाषणमा होइन, प्राथमिकतामा देखिन्छ । विदेशी टोलीलाई समर्थन गर्दा पनि आफ्नै देशको खेललाई माया गर्न सकिन्छ । विदेशी फुटबल हेर्दै गर्दा नेपाली फुटबल सुधारको आवाज पनि उठाउन सकिन्छ । यी दुई कुरा एकअर्काका विरोधी होइनन् ।
अन्ततः कुनै दिन नेपाली टोली विश्वकप छनोटको निर्णायक खेल खेल्दै हुनेछ । कुनै दिन दशरथ रंगशालामा नेपालको झण्डा फहराउँदै राष्ट्रिय गान बज्नेछ । पूर्वाधार निर्माण गर्न सकियो भने भोलिका दिन यस्ता ठूला ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता, विश्वकप नेपालका विभिन्न रंगशालामा हुन पनि सक्छ ? त्यो दिनको गौरव कुनै विदेशी टोलीको विश्वकप जितभन्दा नेपालीका लागि धेरै ठूलो हुनेछ ।
त्यसैले आजको आवश्यकता विदेशी टोलीको समर्थन छोड्नु होइन । आवश्यक कुरा भनेको आफ्नै देशको खेल, आफ्नै खेलाडी र आफ्नै राष्ट्रिय पहिचानलाई पनि त्यत्तिकै प्राथमिकतामा राख्नु हो । किनभने राष्ट्रियता केवल नारामा होइन, आफ्नै देशको भविष्यका लागि बोल्ने, प्रश्न गर्ने र उभिने व्यवहारमा जीवित रहन्छ ।
०