चार महिनापछि चुनाउ आउने भनेपछि दलबहादुरहरू मख्ख छन् । प्रपूल्ल छन् । उद्देलित छन् । चलायमान छन् । रंगीन छन् । संगीन छन् ।
किनभने तिनको चुनाउमा अस्थित्व जोगाउनु छ । बौरिनु छ । जनताको नजरमा कुहिएको सिनो भएर पनि सुगन्ध पैmलाउनु छ । आप्mना गल्ती र कमजोरीहरूलाई ढाकछोप गर्नु छ । आप्mना दलका मान्छेलाई जोगाउनु छ । मसार्नु छ । फाइदामा पु¥याउनु छ । जताततै कमाउको धन्दा भलाउनु छ । अर्को चुनाउलाई खर्च जुटाउनु छ । त्यसका लािग मान्छेका टाउका बढाउनु छ । दल बलियो बनाउनु छ । देश कब्जा गर्नु छ ।
यति धेरै फाइदै फाइदा हुने व्यापार भनेको दल खोल्नु हो । दलको मालिक बन्नु हो । बाँकीलाई भेडाबाख्रा बनाउनु हो । ताली पडकाउने जमात बनाउनु हो । आफुले जे गरेपनि ताली पड्काएर हाँस्ने जमात उमार्नु हो । बढाउनु हो गोडमेल गर्नु हो ।
यसरी दलका मालिक दलबहादुरहरू मख्ख छन् । खुसी छन् चुनाउ हुने भो भनेर । राजनाीतिक दलको यही फष्टाउँदो व्यापार देखेर अचेल सबैलाई दलबहादुर बन्न मन लागिरहेको छ । दलबहादुरलाई दल्ने छुट हुन्छ । जसलाई जति दले नि हुन्छ । कानून लाग्दैन । तर ठूलै दलको दलबहादुर हुनु पर्छ । लोतीखरेले हुँदैन ।
त्यही भएर दलबहादुरका दलहरू धमाधम निर्वाचन आयोगमा दर्ता भइरहेका छन् ।
बिडम्बना, हाम्रामा आउने भनेकै दलेका दलबहादुरहरू हुन । तिनका दल्ने झण्डा, चुनाउ चिन्ह र डण्डा हुन् । यी तिन अश्त्रले दले बाँचेका हुन्छन् । त्यही भएर पुराना संगसंगै नयाँ दलेहरू पनि जन्मिरहेका छन् । हामी कहाँ आउने भनेकै दलबहादुरका दलहरू हुन् । तिनका दलेहरू हुन् । तिनीहरूसंगै सेटिङ्ग आउँछन् । तिनीहरू संगै रक्सीका मिटिङ्ग आउँछन् । कमाउने ठूला ठूला भाँडा आउँछन् । भर्ने ठूला ठूला बोरा आउँछन् । भनसुन आउँछन् । आदेश आउँछन् । भागबण्डा आउँछन् । सडकका तमासा आउँछन् । साउथ मुभीका खलनायकका भन्दा धेरै गाडी र मोटरसाइकलका लावालस्कर आउँछन् । महंगी आउँछन् । बेथिति आउँछन् । भ्रष्टाचार आउँछन् । युवा पलायन आउँछन् । महंगी आउँछन् । रित्ता गाउँ र घरहरू आउँछन् । युवाका विमानस्थलमा लाश आउँछन् । अनि दलबहादुरहरू मुस्कुराउछन् यिनलाई स्वागत गर्न पाउँदा । दलबहादुर रमाउँछन्, सुमसुम्याउँछन् यिनलाई । म्वाइ खान्छन् यिनलाई । सगौरव यिनको प्रशंसा गर्छन् । यिनलाई भगवान बनाएर ल्याएको ढोल पिट्छन् । यी बिकृतिको यो फेहरिस्तलाई यिनले औधी प्रेम गर्छन् ।
यहाँ आउने भनेकै दलबहादुरहरूको दलदल हुन् । तिनका प्रेमील फेहरिस्तहरू हुन् । अरूथोक त के आउँथे यहाँ । ती आउन दलबहादुरहरूले किन दिन्थे र ? शान्ति किन आउन दिन्थे ? सुरक्षा र राजनीतिक स्थिरता किन आउन दिन्थे ? बिकास किन आउन दिन्थे ? भ्रष्टाचारको शून्य सहनशीलता किन आउन दिन्थे ? उद्योगधन्दा किन आउन दिन्थे ? जोजगारी किन आउन दिन्थे ?
दलबहादुर बहादुर भएकै हो, दल भएरै हो, ती दलबहादुर बनेका । बलबहादुर बनेका । दल बिना बल आउने कुरा थिएन ।
त्यही भएर होला, हाम्रामा विज्ञता हासिल गरेका पनि, औंठाछाप पनि पहिला दल खोलेर दलबहादुर नै बन्न मरिहत्ते गर्छन् । किन मरिहत्ते गरेको भनेर प्रश्न सोध्नु परेन । तर विकसित देशमा विज्ञता हासिल गरेका मान्छे उद्योग खोल्छन् । व्यापार खोल्छन् । लाखौंलाई रोजगारी दिन्छन् । सरकालाई लाखौं कर बुझाउँछन् । देशलाई आत्मनिर्भर बनाउँछन् । देशको अर्थव्यावस्था सुधार गर्छन् ।
अहिले त सबैलाई दलबहादुर बन्ने भूत सवार भएको छ दिमागमा । पुराना त बलिया दले छँदै थिए, मनबहादुर भनेर चिनिएकाहरू पनि दलबहादुर बन्ने कुख्यात पङ्गतीमा उभिएको देख्दा अचम्म लाग्छ ।
ती मनबहादुर दलबहादुरको दले नीतिको बिरोध गर्थे, तर ती पनि उही ड्यांगको मूला बन्न पुगे । ती मनबहादुर भनेर जनताको नजरमा सम्मानीत र प्रशंशित भएर बसेका, जनाता र देशको लागि केही राम्रो काम गर्नु पर्छ भन्ने सुन्दर मन भएका मनबहादुरहरू पनि बिस्तारै दलबहादुरमा रूपान्तरण भइरहेका छन् ।
मनहादुर हरू पनि अचेल दलबहादुर भए । कुलमान घिसिङ्ग नयाँ दलबहादुर । हर्क साम्पाङ्ग अर्को दलदबहादुर । सुमना श्रेष्ठ अर्को दलबहादुर । बालेन शाह अर्को दलबहादुर । जेन्जी भनेर उनीहरूको आन्दोलनको राप र तापमा जन्मिएका जेन्जीहरू पनि चारतिर मुन्टो फर्काएका दलबहादुर । ती सिर्पm दल्न चाहन्छन्  । यो कुरूप समयलाई दल्ने होइन, बदल्ने भनेर जन्मिएका मनबहादुरहरू पनि दलबहादुरहरूकै लाइनमा खडा भएर उभिएपछि अब यो माटोका सपनाहरू बिस्तारै निस्तेज हुनेछन् । उडने छन् । रित्तो हुने छ समय । खोक्रो हुने सभ्यता । गालीशिरोमणीहरूको राज छ, किनभने ती दल र बल भएका दलबहादुर हुन्, कसैले बदल्न सक्दैन् । अनि तिनलाई दल्न सजिलो पार्ने दल तिनका बलिया अश्त्र बने । दल बलियो भए पछि जे पनि भन्न र गर्न मिल्ने लाइसेन्स प्राप्त हुँदो रहेछ ।
अहिले म मनबहादुरहरूको खरानीको उपत्यकामा उभिएर यो भन्दै छु ।
दलबहादुर जाउ, मनबहादुर आउ ।
भनियो मात्रै । तर संभव भएन । किनभने यो माटोले जनता र देश बदल्ने मनबहादुरहरू जन्माउन सकेन । जनता र देश दल्ने दलबहादुरहरू मात्रै जन्मायो ।
जन्माइरहेको छ ।
स्वाहा !

Author

You may also like