देश–समाज समाचार

कोशी प्रदेशका १४ वटै जिल्लाका किसान खेतमा, बाँझो जमिन नराख्न प्रदेश सरकारको आग्रह


दमक/ आधा असार वितिसकेको छ । किसान खेत खेतमा धान रोप्न ब्यस्त छन् । कोशी प्रदेशका १४ वटै जिल्लाका किसान खेतमा धान रोप्न व्यस्त छन् भने सरकारी निकाय, स्थानीय तह, कृषि कार्यालय तथा विभिन्न संघ संस्थाले रोपाइँ महोत्सव, कृषक सम्मान, कृषि प्रविधि प्रदर्शन, सञ्चालन गरेका छन् ।
झापा, मोरङ र सुनसरी धान उत्पादनका दृष्टिले अग्रणी जिल्ला हुन् भने इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, संखुवासभालगायतका पहाडी जिल्लामा पनि स्थानीय अनुकूल जातका धानको खेती हुँदै आएको छ ।
हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसानको श्रमको सम्मान गर्नुका साथै धान उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण र कृषिक्षेत्रको प्रवर्धन गर्ने उद्देश्य बोकेको छ ।
बाँझो जमिनप्रति प्रदेश सरकारको चिन्ता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो बाँझो जमिन र युवाको वैदेशिक पलायनले कृषिक्षेत्र संकटतर्फ धकेलिएको भन्दै उत्पादनमुखी कृषि प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताएका छन् । उनले बाँझो जमिन नराख्न आग्रह गरेका छन् । राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खेतीयोग्य जमिन बाँझो रहनु प्रदेशको कृषि उत्पादनका लागि गम्भीर चुनौती बनेको बताए । उनले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेती व्यापक विस्तार गरेर कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले युवाको विदेश पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको उल्लेख गर्दै त्यसले खाद्य सुरक्षासमेत प्रभावित हुन सक्ने बताउँदै अब बाँझो जमिन नराखि सकेसम्म खेती गर्न सरकार आग्रह गर्दछ भनेका छन् ।
यसैविच राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएसँगै धनकुटामा पनि धान रोपेर धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाको आयोजनामा धनकुटा नगरपालिका–६ स्थित पात्लेखोलामा धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।
जिल्लाका विभिन्न स्थान पात्लेखोला खेतलगायत पात्ले, पाङसिङ र धान खेतीयोग्य जमिनमा सामूहिक रूपमा धान रोपाइँ गरिएको छ । केही समययता लोप हुँदै गएको हलोजुवा, कोदाली साथै गोरु नारेर खेतमा हिलाम्मे भएर बाउसे गर्दै रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नगेन्द्र रानाले धानलगायतका विभिन्न रैथाने बाली हराउँदै गएकाले बिउबिजन संरक्षण गर्नुपर्ने बताए ।
यसैगरी इलामका खेतीयोग्य जमिनहरुमा पनि धान रोप्ने कार्य भइरहेको छ । इलामका धेरैजसो खेतीहुने जमिनहरुमा धान रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
उता ताप्लेजुङमा यस वर्ष धान रोपाइँ वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ वृद्धि भएको हो । गत वर्षको यही अवधिमा १७.८५ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको हालसम्ममा करिब २५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिए । गत वर्ष समयमै वर्षा नहुँदा कृषकले समयमै धान रोप्न पाएका थिएनन् । जसका कारण कम मात्रामा धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।

Author

You may also like