:– नरेन रिजाल–:
शिक्षा निरन्तर अभ्यास र प्रयासबाट प्राप्त हुने नतिजा हो । शिक्षा सुधारका लागि विगतमा धेरै शैक्षिक आन्दोलन नभएका होइनन् र उपलब्धि पनि प्राप्त नभएका होइनन् । यसको सुधार र नयाँ शिक्षा प्रणालीमा विभिन्न देशहरूले यो मुलुकलाई समय समयमा शैक्षिक सहयोग पनि गर्दै आएका छन् । नेपालको संविधान २०७२ को संघीय संरचना अनुरूप विद्यालय शिक्षा प्रणालीलाई व्यवहारिक, समावेशी र रोजगारमुलक मुलक बनाउन नयाँ शिक्षा प्रणालीको अवधारणा अघि सारिएको हो । यसको आसय आधारभुत तहसम्म अनिवार्य र निशुल्क शिक्षा र माध्यमिक तहसम्म निशुल्क शिक्षा सुनिश्चित गर्नु हो । संविधानमा उल्लेख भएका कुराहरु, कतिसम्म व्यवहारिक रूपमा प्रयोग भए वा भईरहेका छन् ? आधुनिक ब्यवहारिक शिक्षाको रटान लगाएर हामीले कस्तो जनशक्ति तयार पार्दैछौं ? वर्तमान शिक्षा प्रणालीले देशलाई के उपलब्धी भइरहेको छ ? उत्पादित जनशक्तिले स्वदेशमा कहाँ र के कस्ता उपलब्धि हासिल गर्न सक्यो ? २÷३ बर्षमा उपलब्धि हासिल नहोला । तर २÷३ दशकको शिक्षा प्रणालीको कुरा गर्ने हो भने नेपालबाट उत्पादन भएका मानवीय जनशक्ति मध्ये कति प्रतिशत स्वदेशमा छन् ? अनि कति प्रतिशत पलायन भएका छन् ? शिक्षा मन्त्रालय वा विभागसँग रेकर्ड होला ? पलायनलाई रोक्न सक्ने कार्यक्रम के छ ? कानुन बनाएर मात्र समाधान हुँदैन । दिगो कार्यान्वयन आवश्यक हुन्छ ।
माओवादी ससस्त्र आन्दोलनको समयमा चलिरहेको शिक्षा प्रणाली बुर्जुवा प्रणाली भयो, आधुनिक व्यवहारिक शिक्षा चाहिन्छ भनेर शिक्षा र ब्यवस्था माथी ठूलो प्रहार भयो तर आजसम्म बुर्जुवा शिक्षा र आधुनिक शिक्षाको फरक परिभाषा कुनै नेताले दिए जस्तो लाग्दैन । सरकार फेरिए, सत्ता फेरिए, अवस्था परिवर्तन भए तर शिक्षामा नगन्य सुधार बाहेक आमूल परिवर्तन भएको छैन । कछुवाको गतिको सुधारले देशले खोजेको, वर्तमान अवस्था र व्यवस्थाले रोजेको सुधार हुन लामो समय कुर्नु पर्ने हुन्छ । पाठ्यक्रम, पाठ्य सामग्री पुर्याएर मात्र शैक्षिक गुणस्तर उक्सिदैन । त्यसमा दक्ष प्राविधिक जनशक्ति र दक्ष प्रशिक्षकको पनि आवश्यकता पर्दछ । शहरी क्षेत्रमा त्यो संभव होला तर ग्रामिण क्षेत्रमा सरकारी अनुदानमा पुर्याइएका शैक्षिक सामाग्रीहरु कोठामा थन्किएर बसेका छन् । यसले अधिकांश ग्रामिण क्षेत्रका बालबालिकाहरु गुणस्तरीय शिक्षाबाट बञ्चित भइरहेका छन् भन्ने बुझिन्छ । परिणाम, शुन्य उपलब्धी हुन्छ । व्यसैले सम्बन्धित निकायले उच्च स्तरका विज्ञ प्रयोग गरेर सबै क्षेत्रमा अनुगमन गर्नु र तालिमको व्यवस्था गर्नु उचित हुने देखिन्छ । सरकारले शिक्षा क्षेत्रमा गरेको सम्बोधन कतिपय अवस्थामा राम्रो भए पनि कार्यान्वयनमा फितलो देखिएको छ ।
देशमा ब्याप्त बेथितिको अन्त्य गर्न जेनजी आन्दोलन भयो । सत्ता फेरियो । चुनाव भयो र नयाँ सरकार बनेको छ । लगभग नयाँ शैक्षिकसत्र शुरु हुनु केहि समय अघि बनेको यो सरकार सँग जनताको अपेक्षा ठूलो छ । अझ शिक्षा क्षेत्रमा चौतर्फी विकास होस, अन्योलको समाधान होस् भन्ने आशा छ । सामुदायिक स्कूल मात्र हैन संस्थागत स्कुललाई पनि सौतेनी व्यवहार नगरी प्राथमिकता दिएर शैक्षिक गुणस्तर उकास्न सरकारले सहयोग गर्नु आवश्यक देखिन्छ ।
वर्तमान सरकारले मितव्ययिता अपनाउँदै र भईरहेको चुहावट कम गर्न, फजुल खर्च रोक्न र कर्मचारीलाई सुविधा दिने उद्देश्यले हप्तामा २ दिन छुट्टि दिने कार्य सुरुआत गरेको छ । यो कार्य कतिपय संघ संस्थाहरुका लागि उचित होला तर शैक्षिक क्षेत्रका लागि भने उत्पादनमुलक जस्तो लाग्दैन । विदाका कारण शिक्षण सिकाइ प्रक्रियामा गम्भीर असर पार्छ । यसले पहिलो, निरन्तरतामा बाधा ल्याउँछ र पढ्ने बानी हटेर जान्छ । दोस्रो, विषय वस्तु बिर्सने र सिकेका कुराहरू स्मरणबाट हटेर जान्छ । तेस्रो, पाठ्यक्रम अधुरो भई शैक्षिक सत्र खेर जान्छ । चौथो, कोर्ष पुरा गर्न शिक्षकले हडबडमा शिक्षण गर्नुपर्ने हुन्छ । पाँचौं, गुणस्तरीय सिकाईमा ह्रास आउँछ ।
यस्ता विविध समस्याहरू बाहिरबाट झट्ट हेर्दा नदेखिने तर प्रत्यक्ष असर गर्ने खालका हुन्छन् । त्यसकारण पनि शैक्षिक क्षेत्रको उन्नती गर्ने नाममा अवन्नती हुन सक्छ । वर्तमान परिप्रेक्षमा देखिएको अर्को आम समस्या भनेको सामाजिक सञ्जालको बढ्दो प्रयोग हो । यसको प्रयोगले बालबालिकामा मानसिक तनाव, एकोहोरोपना, थकान, प्रेसर, चिडचिडाहट, रिस, आवेगमा वृद्धि भएको छ । जसले सोच्न सक्ने क्षमतामा ह्रास आई नकारात्मक सोचमा पुयाउँछ ।
एउटा स्कुलमा पढ्ने बच्चा गृहकार्य गर्दा च्याट जीपीटीको प्रयोग गर्छ र मोवाइलबाट सारेर गृहकार्य ल्याउँछ भन्दा तपाईलाई अचम्म लाग्दैन ? सोच्ने मस्तिष्क खै ? किताब पढ्ने बुझ्ने आदत खै ? माध्यमिक स्तरमा अध्ययनरत विद्यार्थीले स्वस्वर वाचन स्पष्टसँग गर्न नसक्नु दुःखको कुरा हो ।
यो प्रायः सबै विद्यालयहरूमा देखिन्छ । यसको कारण र समाधानका उपायहरू विगतका अंकमा आइसेकको छ । जतिसुकै भूमिका बाँधेर उत्तर दिए पनि आजको शिक्षा प्रणाली सिद्धान्त र प्रमाण पत्रमा आधारित छ । जुन आजको श्रम बजार र व्यवहारिक जीवनमा मिल्न सकेको छैन । जबसम्म ब्यवहारिक, गुणस्तरीय र प्राविधिक शिक्षाको विकास हुदैन, तबसम्म सत्ता, सरकार, कानून जेसुकै परिवर्तन भए पनि शिक्षा क्षेत्रमा अनुकुल वातावरण बन्न सक्दैन । अर्को कुरा शिक्षण सिकाईलाई व्यवहारिक र प्रभावकारी बनाउन पाठ्यक्रमलाई समयानुकुल परिमार्जन र सुधार गर्नु जरूरी हुन्छ । दमक झापा