कला/साहित्य/संस्कृति देश–समाज विचार/वहस स्थानीय

परालको आगो : प्रेम, पीडा र सम्बन्धको पुनर्मूल्यांकन

जीवन सुख र दुःखको संगम हो । कहिले खुशीले मन भरिन्छ, कहिले पीडाले आत्मा चिरिन्छ । तर यथार्थ के हो भने, न सुख स्थायी हुन्छ, न दुःख । हामी सबैले यो कुरा बुझ्छौं, तर व्यवहारमा लागू गर्न सक्दैनौं । अरूको पीडामा हाँस्ने, सहयोग गर्नुको सट्टा खुट्टा तान्ने, सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने प्रवृत्तिले हाम्रो मानवीयता नै खुम्चिँदै गएको छ । यही यथार्थलाई गहिरो रूपमा स्पर्श गर्ने कथा हो-‘परालको आगो’ ।
वरिष्ठ कथाकार गुरुप्रसाद मैनाली द्वारा लिखित ‘नासो’ सङ्ग्रहमा समेटिएको यो कथा केवल दुई जोडीको प्रेमकथा मात्र होइन, समाजको ऐना हो । यसै कथामा आधारित नेपाली चलचित्र ‘परालको आगो’ले ग्रामीण जीवन, सम्बन्धको उतारचढाव र मानवीय कमजोरीलाई अत्यन्त सजीव रूपमा प्रस्तुत गरेको छ ।
मैनालीको कथा पढ्दा मनमा हिजो जुन दार्जिलिङ वा सिक्किमको पहाडी परिवेशको कल्पना हुन्थ्यो, सोही आभास दिलाउन निर्माण टिमले म्याग्दीको उच्च पहाडी भेग “ धारापानी “ लाई छायांकन स्थल रोजेर बनाइएको नेपाली चलचित्र हो यो । लक्ष्मण सुनारद्वारा निर्देशित यो चलचित्र हरि ओम सिने पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सुशील देवकोटाले मूल कृतिबाट पटकथा भरेर सुनमाथी सुगन्ध भरेका छन भने यो चलचित्र वरिष्ठ चलचित्र निर्देशकका रुपमा स्थापित प्रताप सुब्बाले निर्देशकको प्रमुख भूमिका निर्वाह गरेर निर्माण गरेकाले पनि आज सफल बन्न पुग्यो, यो चलचित्र । अहिलेसम्म सार्वजनिक भएका टिजर, पोष्टर र दुईवटा गीतले झनै सकारात्मक सन्देश प्रवाह गरेको छ ।
चलचित्रको परिवेश ग्रामीण जीवन हो, जहाँ सम्बन्धहरू सरल देखिए पनि भित्रभित्रै जटिल हुन्छन् । कथामा दुई जोडी-जुठे-सुन्तली र चामे(गौथली(मार्फत दाम्पत्य जीवनका साना-साना मनमुटाव कसरी ठूलो समस्यामा परिणत हुन्छन् भन्ने देखाइएको छ । सौगात मल्ल र सृजना अधिकारीले जुठे(सुन्तलीको भूमिकामा परिपक्वता देखाएका छन् भने प्रकाश सपुत र सुहाना थापाले चामे-गौथलीको भूमिकामा जीवन्त अभिनय गरेका छन् ।
‘परालको आगो’ शीर्षक आफैंमा प्रतीकात्मक छ । परालमा लागेको आगो जस्तै सानो झगडा पनि समयमै निभाउन सकिएन भने त्यसले घर-परिवार नै जलेर खरानी हुन सक्छ। चामे र गौथलीको सम्बन्धमा यही अवस्था देखिन्छ । सन्देह, अहंकार र असमझदारीका कारण चामेले गौथलीलाई बारम्बार पीडा दिन्छ । अन्ततः गौथली घर छोडेर माइत जान्छे । त्यसपछि मात्र चामेले आफ्नो गल्ती महसुस गर्छ-घर चलाउनु, सम्बन्ध सम्हाल्नु र मायाको मूल्य बुझ्नु सजिलो हुँदैन ।
यता जुठे र सुन्तलीको सम्बन्धले सहनशीलता र धैर्यताको उदाहरण प्रस्तुत गर्छ। श्रीमानको कठोर व्यवहार सहेर पनि परिवार जोगाउन प्रयास गर्ने सुन्तलीको चरित्रले नेपाली ग्रामीण महिलाको वास्तविकता उजागर गर्छ। यसरी चलचित्रले महिला पीडा, सहनशीलता र प्रेमको गहिराइलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
चलचित्रमा देखाइएका घटनाहरू केवल कथा मात्र होइनन्, हाम्रो समाजको यथार्थ हुन्। आज पनि साना-साना अहंकार, रिस र अविश्वासले सम्बन्ध बिगारिरहेका छन्। परिवार टुटिरहेका छन्, समाजमा भाइचारा कमजोर हुँदै गएको छ। यही सन्दर्भमा ‘परालको आगो’ले एउटा महत्वपूर्ण सन्देश दिन्छ-सम्बन्ध जोगाउन संवाद, समझदारी र माया आवश्यक हुन्छ ।
चलचित्रको संगीत पक्ष पनि उत्तिकै सशक्त छ । विशेषगरी प्रकाश सपुत र शान्ति श्री परियारको स्वरमा रहेको गीतले जीवनको यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। गीत, अभिनय र कथावस्तुको संयोजनले दर्शकलाई कहिले हसाउँछ, कहिले रुवाउँछ, अनि अन्ततः सोच्न बाध्य बनाउँछ ।
‘परालको आगो’ केवल मनोरञ्जनका लागि बनेको चलचित्र होइन, यो सामाजिक चेतनाको कथा हो । यसले हामीलाई आफ्नो व्यवहार पुनर्विचार गर्न प्रेरित गर्छ-के हामी वास्तवमै मानवीय छौं ? के हामीले सम्बन्धलाई जोगाउन सकेका छौं ?
अन्ततः, यो कथा मिलनमा टुंगिन्छ । चामेले आफ्नो गल्ती सुधार्दै गौथलीलाई पुनः घर फर्काउँछ। दुई जोडीको पुनर्मिलनसँगै कथा समाप्त हुन्छ, तर सन्देश भने मनमा गहिरो गरी बस्छ-साना झगडाले ठूलो विनाश निम्त्याउन सक्छ, तर समयमै बुझेर सुधार गर्न सकियो भने सम्बन्ध फेरि फुल्न सक्छ ।
यसैले ‘परालको आगो’ केवल कथा होइन, जीवन बुझ्ने एउटा दर्पण हो।

Author

You may also like