दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित र विवादित दमक बिजिनेस कम्प्लेक्स (भ्यु टावर)को उद्घाटन गरेका छन् । दमक नगरपालिका–३ मा बनेको १८ तले भ्यू टावरको ओलीले आइतबार उद्घाटन गरेका हुन् ।

भ्यु टावरको नामले चर्चित भएको सो संरचनाका विषयमा आलोचना बढी भएपछि नाम परिवर्तन गरी व्वसायिक कम्प्लेक्सको रुपमा चित्रित गरिएको छ । भनेको बेला सिटामोल बाँड्न नसकेको सरकारले यस्ता अनुत्पादक स्थानमा खर्च गरेर राज्यकोषको रकम दुरुपयोग गरेको आरोप पनि नलागेको होइन तर पछि भ्यू टावरलाई बिजनेस कम्प्लेस भन्दै दमक विजनेस कम्प्लेक्समा परिणत गरिएको हो र आइतबार त्यसैको उद्घाटन समेत भएको छ ।
एक अर्ब ४५ करोड बढीको लगानीमा बनेको सो कम्प्लेक्स चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन । उक्त संरचना अझै विवाद मुक्त भने भईसकेको छैन । उद्घाटन गर्नु ठूलो कुरा नभएर यसको सञ्चालनबाट देखिने प्रभावकारिताले नै यसको अर्थ राख्ने गर्दछ । दमक नगरक्षेत्रभित्र बनेको उक्त संरचना नक्सा पासको विवाद पनि उठिरहेको छ । नक्सा पास नै नगरी भ्यू टावरको नामबाट २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका हुन । १८ तले भवन उपयोग विहिन छ, यो भवनलाई के प्रयोजनमा लगाउने भन्ने पनि अझै टुङ्गो लाग्न नसके पनि व्यवसायिक प्रतिष्ठानको रुपमा अगाडि बढाउने भनिएको छ ।
गृहजिल्लामा आएर पनि भाषणमा रविकै चर्चा
दुई दुई पटक उपप्रधान तथा गृहमन्त्री सम्हालेर वाहवाही कमाइसकेको व्यक्तिलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले सहकारी गठेजस्तो सहज देश चलाउन नहुने टिप्पणी गर्न भ्याए । गृहनगर आएका बखत विभिन्न विषयहरु छोडेर लामो समयसम्म रविकै विरोधमा खर्चिएका थिए।
राजनीतिक प्रतिशोधका आधारमा उनैले जर्वजस्ती सहकारी रकम अपचलनको अनुसन्धानका नाममा हिरासत पुर्याइएका लामिछानेलाई औंला ठड्याई ठड्याई उनले भने– देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए । देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडेजस्तो नहुने उनको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए । उनले केहीबेर चम्किने र छिट्टै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह पनि गरे ।
विरोध छिचोल्दै टावर उद्घाटनमा ओली
ओली गृहजिल्लामा समेत असुरक्षित छन भन्ने उदाहरण आइतबारको विरोधले देखाएको छ । उनी झापाको मेचीनगर मानव सेवा आश्रमको भवन उद्घाटन गर्न जाँदै निकै उल्झनमा परे । सुरक्षाको सबै प्रबन्ध नभएको भए निकै असहज स्थिति सृजना हुन सक्ने अवस्था देखिएको छ । तर नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, ट्राफिक सबैको बाक्लो उपस्थितिले अन्यथा केही हुन भने पाएन ।
मेचीनगरदेखि नै कालो झण्डा सहितको विरोध
झापाका विभिन्न कार्यक्रममा सरिक हुन २ दिने कार्यक्रम लिएर झापा झरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रास्वपा र पहिचानवादीहरुले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने क्रममा प्रहरीले ११ जना पहिचानवादीहरुलाई पक्राउ गरेको छ भने एक जना रास्वपाका स्थानीय नेता पक्राउ परेका छन् ।
प्रधानमन्त्री ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए । मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न कार्यक्रमस्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका थिए । सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् ।
गृह जिल्लामै ओलीलाई सुरक्षा चुनौती भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका गरी १३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
दमक नगरपालिका–३ मा बनेको बिजनेस कम्प्लेक्स (भ्यु टावर) उद्घाटन गर्न जाँदै गर्दा आइतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरुले ओलीलाई कालो झन्डा देखाएका हुन् । सो विरोधको क्रममा प्रधानमन्त्री ओली विरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए । सोही क्रममा ११ जना पहिचानवादीहरुलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एलपी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देनलगायत रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।