अर्थ देश–समाज समाचार स्थानीय

कोशीमा लगानी सम्मेलन : एक खर्ब बराबरको लगानी परियोजनामा सम्झौता हुने

दमक/ ३२ करोड देखि १० करोडसम्मका ६५ देखि ७० वटा परियोजना प्रस्तुत गर्ने गरी कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी अगाडि बढाएको छ ।
आउँदो माघ ११, १२ र १३ गतेका सो लगानी सम्मेलन हुने भएको छ । लगानी सम्मेलनमा एक खर्ब बराबरको योजनाको सम्झौता गर्ने सरकारको लक्ष्य छ । लगानी सम्मेलनबाट झण्डै एक खर्ब बराबरका परियोजनामा लगानी सम्झौता (एमओयु) गर्ने लक्ष्य रहेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले जानकारी दिएका छन् ।
अधिकतम् लगानी ३२ करोड रुपैयाँदेखि न्यूनतम १० करोड रुपैयाँसम्मका ६५ देखि ७० वटासम्म परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको कोइरालाले बताएका छन् । ‘ति परियोजनाहरु साढे २ खर्ब बराबरका छन्, जसमा १ खर्बको हाराहारीमा एमओयु गर्ने लक्ष्य छ’ उनले भने, ‘कृषि, पर्यटन, उद्योग, उर्जा, आइटी र पूर्वाधार क्षेत्रका परियोजनाहरू तय गरिएको छ ।’
छनौट हुने परियोजनाको बारेमा लगानीकर्तासँग छलफल भइरहेको कोइरालाले जानकारी दिएको छन् । संघ सरकार र कतिपय प्रदेश सरकारले यसअघि गरेको लगानी सम्मेलनमा भएको सम्झौता अनुसार काम नभएको सन्दर्भमा त्यस्तो नहोस् भनेर सचेत भएको उनले बताए । ‘हामीले यथेष्ट होमवर्क गरेका छौं । केन्द्रका पुराना लगानी बोर्डका सिइओहरुसँग पनि सम्वाद गरेका छौं’ उनले भने, ‘हामीले परियोजनालाई परियोजनास्थलमै लगेर सोकेसिङ गर्नेभन्दा पनि अहिलेदेखि नै सम्भावित लगानीकर्तासँग सम्पर्क गरिरहेकोले कार्यान्वयन हुने सम्झौता गरिनेछ ।’
केन्द्रको लगानी सम्मेलनमा समझदारी पत्रमा हस्ताक्षर हुने र प्रतिबद्धता व्यक्त हुने गरेको जानकारी दिँदै कोइरालाले कोशी सरकारले भने १ खर्ब लगानी गर्ने समझदारी पत्र (एमओयु)मा नै हस्ताक्षर गर्ने तयारी गरेको बताए । ‘एमओयु भनेको लगानी सुनिश्चितताको महत्वपूर्ण खुड्किलो हो’ उनले भने, ‘एमओयु गरेपछि सिधै डिपिआरको चरणमा प्रवेश गर्छौं ।’
प्रदेश सरकारले परियोजना छनौटका लागि सोकेस समिति नै बनाएको छ । जसको नेतृत्व लगानी प्राधिकरणको सिइओ डा.कोइरालाले गरिरहेका छन् । समितिमा अर्थ, कानून, पर्यटन, भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालय, योजना आयोगका महाशाखा प्रमुखहरु र निजी क्षेत्रबाट तीन जना सदस्य मनोनित छन् । समितिले १३७ वटै पालिकालाई पत्राचार गरेर १० करोडभन्दा बढीका निजी लगानीमा सम्पन्न गर्न सकिने वा सार्वजनिक निजी साझेदारीको मोडलमा गर्न सकिने कुनै परियोजनाको आधारसहित पठाउन पत्राचार गरेको छ । त्यहाँबाट ६५ वटा परियोजना आइरहेको जानकारी दिँदै कोइरालाले त्यसमध्ये २५ वटा राम्रा परियोजना छनौट गर्ने लक्ष्य रहेको बताए ।

Author

You may also like