:– नकुल काजी–:
हालकाे सरकार र त्यसले फागुन २१ गते गराउन लागेकाे चुनावलाई ‘मध्यावधि’ भनिए पनि त्यसलाई, विश्वमान्य परम्परा बमाेजिम, ‘मध्यावधि’ विशेषणले शाेभित गर्नु उचित थिएन ! जेन-जेड विद्राेहले तत्कालीन सरकारलाई अपदस्त गरेर संविधानिक प्रावधान बाहिरबाट बनाइएकाे वर्तमान सरकार स्वयम् र त्यसलाई प्राप्त मुख्य अधिकारकाे प्रयाेगबाट हुन लागेकाे चुनाव दुवै नै प्रकारान्तरले त्यही आन्दाेलनकाे अनुवंशिक (hereditary ?) विषय वा अङ्ग हुन् । संसदीय लाेकतन्त्रमा ‘मध्यावधि’ विशेषणले विभूषित चुनाव त राज्यकाे कार्यकारी अख्तियारवाहकले संसद भङ्ग गरेर ताजा जनादेशका लागि गराउने वा गरिने चुनाव मात्र हाे ।
अतः आज आसन्न चुनावमा विभिन्न दलसम्बद्ध र ‘स्वतन्त्र’ समेतका तर्फबाट ‘उम्मेदवार’-का मुकुटधारीहरू प्रचार-प्रसारकाे दाैढधूपमा प्रस्तुत छन् । तीमध्ये धेरैले घाेषणा-पत्र, बाचा-पत्र, प्रतिज्ञा-पत्र, प्रतिबद्धता-पत्र, करार-पत्र आदि-इत्यादि नाममा मतदाता-समाजमाथि झटारेका छन् । ती जम्मै पूरा गर्न त नेपाल जत्राे तीन-चारवटा देश चुक्ता बिक्री गर्दा पनि सम्भव हुने देखिँदैन । देशकाे व्यवहार-दैनिकी चलाउने निहुँमा काडेकाे ऋण नै अहिलेसम्म २८ सय अर्ब नाघिसकेकाे छ । यता राज्यकाे आधारभूत खर्च धान्न मात्र पनि आफ्नाे (आन्तरिक) बल-बुताले हम्मे-हम्मे परिरहेकाे लगभग सद्दे दृश्यमै ल्याइँदैछ भन्ने त संघीय निकायहरूका बजेट कटाैतीकाे राेइलाे अन्तर्गत पनि सुनिन थालिएकाे छ । यस्ताे अवस्थामा हुन गइरहेकाे चुनावकाे प्रयाेजनका लागि अरूहरूले जसरी जे गुड्डी हाँके पनि पर्बाह नगर्न गाह्राे थिएन । तर प्रजातन्त्र, लाेकतन्त्र र वर्तमान लाेकतान्त्रिक गणतन्त्रका तीनवटै कालखण्डहरूमा आलाेपालाे देशकाे शासकीय शिविर ओगटेर छाली लप्काइआएका ‘ठूला दल’ मानिनेहरू र कतिपय ‘परिवर्तनका सम्वाहक भएकाे फुर्ति लाइरहेकाहरूले समेत नागरिक (आजका मतदाता)-लाई उल्लु बनाउने किसिमका याेजनाकाे सम्माेहन छरिरहेका छन् । अर्थात्, तिनले आफू सरकारमा पुगेका खण्डमा के-के गरिन्छ भन्ने चुनावी घाेषणा गरे, ती समग्र, देशकै हविगतलाई ठाढै गिज्याउने र कल्पना पनि कहालिने स्थितितिर लगिरहेकाे नै देखिएका छन् । ‘देख्ने अन्धाे’-काे उपमा झैं बनेर उत्ताउलिएकाे अनि उही ‘जेन-जेड आन्दाेलनकाे बाध्याता’ उत्सर्जन गर्ने, मूल जिम्मेवार दल नेकपा (एमाले)-काे घाेषणा-पत्रले त्यस्ता अतिरञ्जित र पूरा हुन सम्भव हुनै नसक्ने याेजनाका छाराेहरू मतदाता नागरिकका आँखामा छर्ने अन्यन्न दल (उम्मेद्वार)-हरूकाे समेत अगुवाइ नै गरेकाे छ । अतः विशेषगरी एमालेले र अन्य केही दलले उनका घाेषणा-पत्रहरूमा जे-जे भनेकाे छन् ती पूरा गर्न उनले कुन स्राेत परिचालन गर्छन् ? भन्ने मुख्य कुरा चाहिँ कतै भनेका छैनन् । अन्तर्राष्ट्रिय सहयाेग जुटाउने बहादुरी नै पाे गर्लान् कि भन्ने हाे भने पनि तीमध्येका चार- चार पटक सरकारकाे नेतृत्व गरेका दलका सरकारकालहरूमा बढेका भ्रष्टाचार, वेथिति, पक्षपात र लुट आदि-इत्यादपका कारण नै, अन्तर्राष्ट्रिय विश्वस्त अध्ययन- पर्यवेक्षण संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’-काे पछिल्लाे प्रतिवेदन ती पार्टीले पनि पढेकै हाेलान् ! अथवा, विश्वमा भ्रष्टाचार र बेथितिका गुम्फन र न्यायकाे छायाँमा निसासिरहेका देशहरूकाे सूचीमा नेपाल ३४ओैं स्थानमा कसरी पुगेकाे छ ? आजकाे नेपाललाई साे संस्थाबाट प्राप्त स्थानबाट माथि उठ्न नसके याे देश विश्व-व्यवस्था अन्तर्गत साेझै ‘कालाे सूची’-मा दर्ज हुनपुग्ने दुर्भाग्यपूर्ण नियति भाेग्नुपर्ने अवस्था छ । र, त्यस अवस्थामा पुगेपछि यस देशले कहीँबाट कुनै प्रकारकाे ऋण-सहायतादि पाउन सक्तैन । अतः याे अवस्थामा खासगरी ‘पुरानाे, अनुभवी र ठूला पार्टी’ मानिने एमालेद्वारा, साविकका अन्य घटनाहरूमा जस्तै, जन-बाेधशक्तिकाे कमजाेरीमाथि हेपायती भाव बर्ताउँदै र देशकाे यथार्थ-विलाेम अन्धाधुन्ध घाेषित चुनाव घाेषणा-पत्र वस्तुतः ओैसत नेपालीमाथि ढाँटकाे पुलिन्दा’ नै बर्षाए झैं देखिन्छ र याे उसैका निम्ति अर्काे आत्मघाती सिद्ध हुने चर्चाकाे ओइराे लागिरहेकाे छ । उक्त ‘घाेषणा-पत्र’ नामे दम्भी ढ्वाँस् पिटाइलाई अहिलेका मुखर सामाजिक सञ्जालहरूले त झन ‘भाङ खाएकाे मान्छे अन्धाधुन्ध बर्बराए जस्ताे’ रूपमा देखेकाे बर्नाइरहेका छन् ! धन्न आम नागरिक (आम मतदाता) यस्ता कुरा बुझ्ने स्तरमा छैनन् !….
देशमा किसिमथरिका उकुसमुकुस बढिरहेका बेला त्यसैकाे बढाेत्तरी लक्षित जस्ताे स्पष्ट देखिने घाेषणा-पत्र प्रस्तुत हुनुले एमालेलाई चुनावकाे नतिजापछिका दिनहरूले तर्छाएर उसलाई हीनभावगत अवसाद (depression)-ले ग्रस्न गराउन थालेकाे आभास दिइरहेकाे छ । किनभने, अन्य कतिपयका घाेषणा-पत्रहरूमा पनि देशकाे याे ताजा वर्तमानसँग पटक्कै नमिल्ने र देशकाे हविगतले आँक्न नसक्ने बुँदाहरू समेटिएका छन् । सम्भवतः तिनै सब देखेपछि, ‘अरू’-लाई ‘ जसरी पनि’ जितेर आफू ‘माथि’ देखिने एमाले मूल-नेतृत्वकाे , झन्नै सत्राे शताब्दीकाे सामन्तयुगीन अहंकारी, घमण्डी र जिताहा प्राकृत चारित्रिक कारण पनि त्यसाे भएकाे हुन सक्तछ । अथवा चुनावमा हारे पनि घाेषणा-पत्रमा सकेसम्म असम्भव याेजनाहरू काेच्ने काम (कि नकाम ?)-मा हार नमानेकाे देखाउने दम्भ पनि नहुन सक्तैन !
पुराना-नयाँ दलका अन्य नेता-नायकहरूलाई कता हाे कता उछिन्दै बिझालु छुच्चाे र अचाढू बखेडाबाजीमा उतारु एमाले नायकले पूर्वदीप्ति (flash-back)-मा घाेरिने नैतिकताले सम्मान कहिल्यै गरेनन् भने जसरी पनि अरूभन्दा ‘भयंकर’ देखिने दुर्व्यसनमा रमाउने नेताकाे रूपमै याे गणतन्त्र नेपालकाे इतिहासमा चिनिन चाहेकै (?) बुझिन्छ । दल नै पनि निजी कम्पनीकाे रूपमा चल्दै आएकाे पाइन्छ, जसमा संलग्न अन्यहरूका विचारमाथि लाेकतान्त्रिक हकभाेग-अधिकारकाे लवलेश गुञ्जायस हुँदैन । त्यस्ताे हकभाेग चाहने सहधर्मी-सहकर्मीहरू नित्य दण्डित-अपमानित हुँदै आइरहेका छन् भन्ने पनि सबैले पर्याप्त देखे-जानेकै विषय हाे ।
त्यसाे त, पञ्चायती झापाका असाध्यै साेझा र इमानदार पञ्च मानिने पुहाँतु चाैधरी (हाल स्वर्गीय) तीन पटक चन्द्रगढी गाउँ पञ्चायतका प्रधान पञ्च हुनु भएकाे थियाे र ती कार्यकाल उहाँले एकदमै सफलतापूर्वक गुजार्नु भएकाे थियाे । ती कार्यकालले उहाँलाई साेझाे-सिधा, निर्लाेभी, सदाचारी सद्गुणी व्यक्ति आदिकाे ख्यातले आफ्नाे अख्तियार क्षेत्रमा मात्र हाेइन देशकाे याे भूभागमै लाेकप्रिय बनाएकाे थियाे । त्यसपछि उहाँ राष्ट्रिय पञ्चायत सदस्यकाे चुनावमा उम्मेदवार बन्नु भएकाे हाे । त्यसबेला, उहाँलाई जिताउन केही झापाली अगुवाहरू पनि स्वतस्फूर्त रूपमा गाउँ-गाउँमा खट्नु भएकाे थियाे । ती अगुवाहरू भन्थे – उनीहरूले भेटेका मतदातामध्ये केही मुखरले उनीहरूसँग -” कुन्नि, पुहाँतु चाैधरी जस्ता साेझा र शालीन व्यक्तिलाई ‘चङ्खे-चतुरेहरूकाे याे समय’-ले पत्याउलान् के ? लपनछपन केही जान्दैनन् । र, जित्नु नै भएछ भने पनि उहाँलाई सदनमा आफ्नाे जिम्मेवारी निभाउने माैका दिइएला के त ?”…इत्यादि । अर्थात् , पुहाँतु चाैधरीकाे कमजाेरी भनेकै उहाँ सिधा, सदाचारी र जन-सेवामा इमानदार हुनु भने झैं साेचिएकाे ती अगुवाहरूका कथनबाट बुझिने गरिएकाे पनि याे कलमकर्मीलाई सम्झना छ । अहिले झापा क्षेत्र नं.३-मा नेकपा (एमाले)- का तर्फबाट उम्मेदवार हरिबहादुर राजवंशीकाे कमजाेरी पनि भद्र, शालीन र इमानदार हुनु हाे भन्ने झैं अनुभूत गराउने किसिमबाट चर्चा गर्नेहरू निकै छन् । अर्थात् , उम्मेदवारकाे रूपमा त हरिबहादुर राजवंशी बिल्कुल याेग्य हुन् तापनि उनी भद्र, शालीन, इमानदार आदि सद्गुणवान् व्यक्ति भएकाले अहिलेकाे ‘समय’-ले साथ देला कि नदेला भन्ने संशय हाे भन्ने बुझिन्छ !….यस्ताे मनाेविज्ञानद्वारा निर्देशित याे समय-सन्दर्भमा हुन गइरहेकाे चुनावमा चङ्खे-चतुरे, ढाँट-छलीहरूकै बाेलवाला हुने हाकि ? तसर्थ उनीहरूका विरुद्ध जति नै साधार आलाेचना कथुरे पनि थाेरै नै हुन्छ त्याे कति पाे प्रभावाेत्पादक हाेला र ? तैपनि अझै पर्खाइकाे दश दिन पूरै बाँकी छ । मतदाताले केही त विवेक अवश्य वर्ताउलान् कि !…
त्यसै आजलाई चाहिँ यत्ति नै !!…
+++++++