:– श्वेता घिमिरे –:
पहिलो विषय त, राजनीतिक सामाजिकरण भन्नाले के बुझिन्छ ? राजनीतिक सामाजिकरण भनेको एउटा प्रकृया हो जसमा कुनै पनि एउटा व्यक्तिले राजनीतिक सम्बन्धको बारेमा ज्ञान प्राप्त गर्दछ । यसले समाज र राजनीतिक संस्कृतीलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दछ, जसबाट कहिले राजनीतिक संस्कृतीमा परिवर्तन आउँछ भने कहिले राजनीतिक संस्कृतीलाई यथावत राख्न मद्दत गर्दछ । यो प्रकृयाको अन्त्य भएसंगै हरेक व्यक्तिलाई राजनीतिक संस्कृतीमा ल्याइन्छ र उसको राजनीतिक धारणाको निर्माण गरिन्छ । राजनीतिक सामाजिकरण कुनै अहिले आएको कुरा होइन, यो दशकौ लामो इतिहास बोकेको शब्द हो र प्रकृया हो । यो प्रकृया एउटा बच्चा जन्मिए लगत्तै सुरु हुन्छ र उसको मरणसम्मका लागि जारी नै रहन्छ । राजनीतिक सामाजिकरण प्रजातन्त्र संगै नेपालमा प्रवेश गरेको विषय र प्रकृया हो्र नेपाली समाजले धेरै किसिमको राजनितिक परीस्थिती बाट अगाडी बढ्दै समाजमा राजनीतिक संस्कृतीलाई अझ गाढा ढंगले अंगाल्दै गएको छ । सामाजिक संजाल जस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्वीटर, इत्यादीले अहिलेको समयमा आएर राजनीतिक सामाजिकरण ठुलो भुमिका खेल्न पुगेको छ । सामाजिक संजालले एउटा च्यानलको रुपमा काम गरिरहेको छ जहाँ राजनीतिक अभियन्ता, उनिहरुको धारणा, समाज र समाजको धारणालाई आदान प्रदान गर्न मद्दत पु¥याएको छ । सामाजिक संजालले संसारभरि नै संचार जगतमा एउटा क्रान्ति नै ल्याएको छ भन्दा बेठिक नहोला । यसले न केवल एउटा राजनीतिक सचेतकलाई ठाँउ दिएको छ, यसले त हामी आम नागरिकलाई समेत आफ्नो राजनीतिक धारणा राख्न आधार दिएको छ । प्रमुख राजनीतिक दलहरु र नेताहरु प्रायः सबैजनाले सामाजिक संजाललाई आफ्नो दलको विषयगत धारणा राख्ने मंच बनाएका छन् । अहिले आएर त झन् भनौ राजनीतिक नेताहरुले सामाजिक संजाल र त्यहाँको संलग्नतालाई ‘पावर’ को रुपमा हेर्दै र प्रयोग गर्दै आएका छन् । सामाजिक संजाल र ‘रिल्स’ को आधारमा निर्वाचनमा भोट जित्ने र सत्ता कायम गर्ने क्षमता पनि यसले दिएको कुरालाई नकार्न सकिदैन ्र यिनै कारणहरुले गर्दा ‘पपुलिष्ट नेता’ भन्ने अर्को शब्द हाम्रो समाजको अगाडी देखा परेको छ । तर हामीले के जान्न जरुरी छ भने ‘पपुलिष्ट नेता’ को भाष्य अहिले नौलो लागेको हुनसक्छ, तर नेपाली समाजमा प्राय पपुलिष्ट नेताले भोट जितेर सत्ता र सरकार बनाएको प्रजातन्त्र आउनु लगत्तै हो ।
त्यसो भए हाम्रो कर्तव्य र अधिकार के त ? सामाजिक संजालले हाम्रो समाजमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलिरहेको छ । अहिले फाल्गुण २१ गते को चुनावमा पनि हुरी बतास ल्याउदैन होला भन्न सकिदैन । जब आफ्नो सामाजिक संजाललाई पल्ट्याइन्छ या भनौं ‘स्क्रोल’ गरिन्छ त्यहाँबाट बुझिन्छ की कसरी सामाजिक संजालले हाम्रो एक अर्का प्रतिको सम्बन्धलाई, हाम्रो प्रगाढ मानवतालाई, हाम्रो सोचलाई, हाम्रो विचारलाई, राजनीतिक विश्लेषणलाई, एक अर्का प्रतिको सामाजिक भावनालाई असर परिरहेको छ । यसमा उभिएर हामीले आफ्नो मुल्य र मान्यतालाई दुइचोटी सोच्नु पर्ने, अनि राजनीतिक धारणा बनाउनु पर्ने जरुरी देखिन्छ । सामाजिक रुपान्तरण, राजनीतिक सामाजिकरण र राजनीतिक संस्कृती पुस्तान्तरण गर्न एकदम आवश्यक छ तर हामीले सोध्नु पर्ने प्रश्न, कस्तो खालको ‘राजनीतिक संस्कृती‘ ? कस्तो खालको राजनीतिक पुस्तान्तरण ? कस्तो खालको समाज ? र कुन हिसाबको “पूर्र्व” ? यो हामीले अहिले नै सोच्न र सम्हालिन जरुरी छ । यहाँ हाम्रो कर्तव्य ठुलो छ, जहाँ भोलीको आउँदो पुस्तालाई हामीले जवाफ दिन सकौं । कुनैपनि पुस्ताको राजनीतिक सामाजिकरणमा सामाजिक संजालको विशाल प्रभाव त छ नै, तर संगसंगै परिवारको, साथिभाइको, शैक्षिक संस्थाको, समुदायको उत्तिकै महत्वप‘र्ण योगदान रहन्छ । कर्तव्य संगसंगै मतदान र समाज निर्माण हाम्रो अधिकार हो । समाजमा राजनीतिक प्रगतीलाई दुइवटा विषयमा दाँज्न सकिन्छ ( एउटा राजनीतिक सामाजिकरण र अर्को संविधान । कुनै पनि देशले र त्यसको संविधानले लोकतन्त्रलाई बलियो समाजको आवाज र स्वतन्त्रताको मार्गदर्शक प्रकाश भनेर लिएको छ । यो कुरालाई हामीले आत्मसाथ गर्न पर्ने अत्यन्तै जरुरी समय आएको छ । संविधानले हामीलाई हाम्रो अधिकार दिएको छ र साथसाथै हामीलाई कर्तव्य पनि दिएको छ । हाम्रो अधिकार मतदान गर्ने त हो तर यो संगै नेतृत्व संग जवाफदेहिता माग्ने पनि हो । सामाजिक संजालमा क्याम्पेनिङ्ग गर्ने त हा,े तर यो संगै नेतृत्वलाई समाज निर्माणको आधारभुत विषय सोध्ने पनि हो । कमेन्ट गर्ने त हो, तर यो संगै नेतृत्व संग विकास निर्माणको मुल पक्ष पनि जानकारी राख्ने हो । लाईक गर्ने त हा,े तर यो संगै नेतृत्वलाई सिद्धान्तको विषयमा औला ठड्याउने पनि हो । सामाजिक संजाल क्याम्पेनिङ्गले संदेश सहित आफ्नो दलको मुलभुत आधारलाई झल्काउनु पर्छ भन्ने विषयमा हामी प्रष्ट हुनु जरुरी छ । लोकतन्त्रको आधार(स्पष्टता, समाज निर्माण, लोक कल्याण, विकास, प्रतिकृयाशिलता, स्वतन्त्रता, देशको स्वाधिनता, सार्वभौमसत्ता र कानुनको शासन बाहेक अरु हुन सक्दैन । सामाजिक संजालमा आवाज उठाउनुस् , यो हाम्रो कर्तव्य र अधिकार हो, राजनीतिक सामाजिकरणको महत्वपूर्ण पहल हो तर देश, लोकतन्त्र, आफ्नो नैतिक मुल्य–मान्यता र संविधानलाई आत्मसाथ गरेर, जिम्मेवार नागरिक भएर ।
अन्त्यमा, हरेक नागरिक लोकतान्त्रिक निर्वाचनमा आफ्नो सुझ–बुझ र मताधिकारको प्रोयोगका लागी आफु स्वयम नै सक्षम मानिस बुझिन्छ । त्यस अनुसारले उ आफै सापेक्ष ढंगले त्यस क्षेत्रको प्रतिनिधि छान्न पाउँछ भन्ने स्पष्ट कुरा छ । अनि हो, सबै नेपाली नागरिकले देश निर्माणको विषयमा निर्धक्क आफ्नो राय, आफ्नो विचार राख्न पाउनु उसको मौलिक हक अधिकार हो । त्यसकारणले हामी प्रष्ट हुन जरुरी छ, आफ्नो भाष्य आफै निर्माण गर्नेमा, आवाज उठाउनेमा, आफ्नो अधिकार प्रयोग गर्नेमा । राजनीतिक समाज निर्माण र विकासका पक्षमा प्रश्न उठाउनुस्, औलो उचाल्नुस् लाइक कमेन्ट गर्नुस ्।
(दमक–३ निवासी घिमिरे एमबिए, एमए (राजनीति शास्त्र) हुन् ।)