देश–समाज समाचार स्थानीय

दमकमा धनिपूर्जा वितरणका लागि पुनः प्रक्रिया सुरु

दमक । दमकका अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई धनिपूर्जा वितरण गर्न रोकिएको प्रक्रिया पुनः सुरु भएको छ ।
बुधबार वडा नं. २ मा मेयर रामकुमार थापाको उपस्थितिमा सरोकारवाला, टोल समितिहरु, स्थानीय बासिन्दाबीच छलफल भई नापनक्साको मापदण्ड बारे विविध विषयमा सहमति भएको छ । आजबाट प्राविधिकहरुले सहमति अनुसार प्वाइन्टहरु निर्धारण गरेर नापीको कार्यलाई अगाडि बढाउने भएका छन् ।
यसैगरी, नापीको कार्यलाई अगाडि बढाउन बुधबार नै वडा नं. ८ मा एक कार्यक्रमको आयोजना गरिएको थियो । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्यता भएको भेलामा वार्डका लब्ध प्रतिष्ठित व्यक्तिहरु, सरोकारवाला, राजनीतिकर्मीहरुको उपस्थितिमा धनिपूर्जा वितरण सम्बन्धी जानकारीसहित सबैको सहयोगबाट कार्यक्रम सफल पार्न अपेक्षा पनि राखिएको थियो ।
वडा नं. ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख रामकुमार थापाले जनतालाई जग्गाधनी बनाउने कार्यमा राजनीतिक स्वार्थ नलिन आग्रह गर्दै विचौलिया पसेर पैसा उठाउने काम नगर्न चेतावनी समेत दिए ।
यसैगरी उपमेयर रेगिना भट्टराई प्रसाईले सुकुम्बासी समस्या सरकारले हल गर्नुपर्ने उल्लेख गर्दै दमकमा सबैको प्रयासले सकारात्मक रुपमा कार्य अगाडि बढिरहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबैको उत्तिकै दायित्व र जिम्मेववारी रहेको बताईन ।
कार्यक्रमका प्रमुख अतिथि मदन अधिकारीले काम निष्पक्ष हुने र कसैले गलत ढंगबाट फाइदा लिउँला भन्ने सोच नबनाउन आग्रह गरे ।
दमक नपाको वर्तमान कार्यसमितिले आफ्नो पदको शपथ ग्रहण गरेको हप्तादिन भित्रै आयोगको कार्यालय स्थापना गरि धनिपूर्जा वितरणलाई उच्च प्राथमिकता दिएता पनि बीचमा सरकार परिवर्तनले आयोगले काम नगरेपछि धनिपूर्जा वितरणको प्रक्रिया १ वर्ष स्थगित हुन पुगेको हो । त्यति खेरै धनिपूर्जा वितरणको कार्य सुरु भइसकेको थियो ।
सो प्रक्रियाका आधारमा वडा नं. १० मा ३४ जनाले पूर्जा पनि प्राप्त गरे । धनिपूर्जा प्राप्त गर्न सक्नेको तथ्याङ अनुसार भूमिहिन दलित ५५७ जना, भूमिहित सुकुम्बासी २४५६ जना र अव्यवस्थित बसोबासी ३१३७ जनाको फाइल प्रवृष्ट भए भने ५९५० जनालाई निस्सा समेत वितरण भइस्केको छ । फोकल पर्सन डम्बर बरालका अनुसार जग्गा नापजाँचको सन्दर्भमा वडा नं. १० मा ६ सय कित्ता, वडा नं. १ मा ४८० कित्ता र वडा नं. ४ मा २८५ (बगान बाहेक) कित्ता नापजाँच गरिसकेको बताए । यस्तै ९१ वटा फाइल जिल्ला आयोगमा प्रक्रियामा रहेको र थप ३०० फाइल सहजीकरण समितिमा पेश हुने प्रक्रियामा रहेको पनि उनले बताए । यस्तै जग्गा नापजाँचको थप वडाहरुमा १० र ४ मा नापजाँच सम्पन्न भएको र वडा नं. १ मा अन्तिम चरणमा रहेको उनले बताए ।

Author

You may also like