समय कति बलवान रहेछ नि ! कति छिटो जान्छ, रातपछिको दिन, दिनपछिको रात । सबैलाई जित्न सकिदो रहेछ तर समयलाई कसैले जित्नै सकिँदैन रहेछ । यही समयले कसैलाई मुग्लान पु¥याउँदो रहेछ त कसैलाई यही स्वदेशमै श्रम गर्न सिकाउदो रहेछ । यही जीवनका चर्खाहरुसङ्गै मानवीय जीवन हिडिरहदो रहेछ । यही आँखाले राम्रा – नराम्रा कुराहरू देखिँदो रहेछ । सत्यलाई लुकाउने असत्यलाई बाहिर ल्याएर पुरस्कार पाउने तिनै अपराजित मान्छेहरु हुँदा रहेछन । आज तिनै मान्छेका झुण्डहरु पुरस्कृत भएको देखियो, हेरियो यी आँखाहरुले । यो देशमा सिधा सादाहरु कहिँ कतैपनि देख्न पाइन्न ।
यहाँ त चाकरी, चाप्लुसी, गुलामी, मनि र मसल देखाउनेहरुको बोलवाला छ । हामी राजनीतिक परिदृश्य हेरौं हिजोको दिनमा जेल, नेल भोगेकाहरु कोहि पनि ठूलो पदमा बसेको देखिन्न जो जाली फटाहा छ, तस्करी काम गर्छ उसैलाई सम्मानका साथ पुरस्कार प्राप्त गरेको भिडियो हामी देख्छौ । हिजोको कठिन घडीमा शेल्टर दिनेहरु आज मौन छन, उनीहरूको बोली बिक्री हुन्न । सेटिङ्गमै चलेको छ नेपाली राजनीति । जसले रकम बढी खर्च गर्छ, सुण्ड मुसुण्डको प्रयोग गर्छ, युवाहरूलाई आशा देखाउछ र चुनावमा पार्टीहरुको प्रचारवाजीमा लडाउछ, भिडाउछ आज तिनैका बयोबृद्द मालिकहरुले जी हजुरीमा टिकट पाएर जितेको विरासत हामी देख्न सक्छौ । अनेकन काण्डमा फसेका पटकपटक टिकट पाएका तिनै छन । सबैभन्दा बढी त यो अवसर पाउनेहरु ठूलै दलहरुमा देख्न सकिन्छ । एउटै ब्यक्तिलाई किन पटकपटक टिकट दिदापनि तिनैलाइ जिताउन हामी किन लाग्छौ ।
भारतलाई विस्तारवादी भन्ने अमेरिकालाई साम्राज्यवादी हुन भनेर औंला ठडयाउने अनि तिनै देशलाई हारगुहार गर्ने उनैको आश गर्ने, तिनै मुलुकमा जम्बो टोली लिएर जाने, देश दोहन आफैले गर्ने नेताहरू आफ्नै पार्टीमा रहदासम्म चु नबोल्ने हामी मतदाता खराब छौ । यो कुरा स्वीकार गर्ने कि नगर्ने ? हामीलाई अहिलेसम्म मोहोरा बनाएर, ललिपप खुवाएर कसले हामीलाई जुत्ताको तल्ली बनाइ रहेछ । यो सम्म थाहा पाउदैनौ, हामी । अब त हामी आफैलाइ लाज लजाउनुपर्ने हो त्यो सम्म लजाएकै छैन अहिलेपनि । वादका पछि, प्यानलका पछि, आशाका पछि, प्रलोभनका पछि, रकमका पछिपछि कुदेर हामीले आफ्नो गरिमालाइ ध्वस्त बनाउदैछौ । आफ्नै नेता खराब हुँदासम्म हामी उनीहरूकै समर्थनमा जुटिरहेका छौं, अहिलेपनि । गलतलाई गलत भन्न सक्दैनौ किन ? साचो बोल्न डराउनु किन ? हिजोको उनीहरूको राजनीतिक विरासत पुनः रावलोकन किन गर्दैनौ ? देशमा हिजो के – के गरे , के – के गरेनन, मूल्यांकन गर्दैनौ, हामी । हिजोको २५ बर्षे उमेर ढल्केर बैशाखी बोकेर हिडने नेताहरूलाईनै आफ्नो अमूल्य मत दिनुपर्छ भनेर हामी किन चर्किन्छौं, चिया चमेना गृहमा ? हामीले हाम्रो भविष्य आफै अन्धकारमय बनाउदैछौ, दिनदिनै । हाम्रा आँखाले सबै देख्या छ, भोग्या छ । बिगतलाई नियाल्दा यस्तो लाग्छ कि यो देशमा क्रान्तिकारीको नारा उरालेर सत्ताको लिस्नो चढ्ने कुनैपनि कम्युनिष्टहरु सही मार्गमा हिडेका छैनन । हिजो क्रान्तिको बाटो हिडने डाक्टर बाबुराम भट्टराई, सिपी मैनाली, राधाकृष्ण मैनाली लगायतका धेरै नेताहरु आज झण्डा र चुनाव चिन्ह बदलेर अर्कै पार्टीमा रुपान्तरण भएका छन ।
अब बुझौं कि को सक्कली र को चाहिँ नक्कली हो यो बुझ्न टाढा जानैपर्दैन । पटकपटक संसद भङ्ग गर्ने फेरि ब्यूताउने नेता को हुन ? उनीहरूको माग के हो ? कार्यदिशा के हो ? अबको मार्ग चित्र के हो ? भन्ने सम्म बुझ्न सकेका छैनन, देउवा, दाहाल र ओली लगायतका बृद्ध नेताहरूले । अर्को कुरा नयाँ पुस्ताहरुमा नाम कमाएका जेन – वाइ नेताहरू गगन, बिश्व प्रकाश, लेखनाथ नेउपाने, बालेन लगायतका आशा बोकेकाहरुलाइ नेतृत्व वर्गले पदभार ग्रहण गर्न दिएनन तापनि उनीहरू एक ढिक्का भएर अघि बढन नसक्दा मियो बिनाको दाइ गरिरहेका छन तीन नेत्रधारी नेताहरूले । हिजो भाद्र २३ र २४ गतेको सबैभन्दा ठूलो जेन – जीहरुको आन्दोलनले ल्याएको तिलस्मीमय परिवर्तनबाट भएको परिवर्तन जेन – जी युवाहरूको एकापसमा लडाइँ झगडाले गर्दा सही दिशामा अवतरण हुन सकेन,नेपाली राजनीति । अहिलेपनि हिजोकै बयोबृद्द नेताहरुकै गोलचक्रमा हिडिरहेको देखिन्छ । युवाहरु जति बहस गरुन जे गरून् मतलब भएन तर उनीहरू लडाउने भिडाउने उहीँ पुरानै दलहरुका नेताहरूनै छन । युवाहरूको आवाज एकीकृत हुन सकेन । तै ठूलो मै ठूलो बन्ने अहमताले गर्दा आज हिजोको त्यागले ७६ जना युवाहरूको बलिदानको उत्सर्ग त्यसै खेर फाले जेन – जीहरुको नेतृत्वले । उनीहरूले जसरी बर्तमान प्रधानमन्त्री शुशीला कार्कीको नेतृत्व ल्याए उनीहरूको मुख्य भूमिका आगामी फागुन २१ मा चुनाव गराउने छाटकाट पटक्कै देखिएन । मन्त्री परिवर्तन गर्ने छोडने अनि बिदेशी प्रभुहरुलाइ चटक देखाउने शिवाय केही गर्न सकेन कार्की नेतृत्वको सरकारले ।
जेन – जी युवाहरूको हिजोको जुन वाचा र जनचासोको कदम सही देखिएन, यतिबेला । आशाको दीप युवादेखि बृद्धबनितासम्म थियो हिजो, आज सबै तिर निराशा बनिदियो । अहिलेको राजनीति परिदृश्य यसो हेर्दा लाग्छ जेन – जी युवाहरूलाई पक्रेर जेल हाल्ने उनीहरूको मागलाई बेवास्ता गर्नै अनि पुरानै दलहरुलाई फेरिपनि सत्ताको चावी सुम्पिने छाटकाट देखाइरहेको छ । आगामी चुनाव आउन अब केही महिना बाँकिरहँदा सम्म यो सरकारले कुनै अभियान ल्याउन सकिरहेको देखिन्न चर्काचर्का भाषण गरेर दुनियाँ हसाउने मन्त्रीहरुको हर्कत मात्र देखियो । चुनावी रणनीति भने केही देखिएन । चुनाव होला या नहोला स्पष्ट मार्गचित्र यो सरकारले देखाउन सकेन । अहिले जनता कुन नेताहरूको कुरा सुनौ या नसुनौ दोधारमा छन । नक्कली – नक्कली बिचको असली को हो ? छुट्ट्याउनै सकेका छैनन, आम मतदाताहरुले । हिजोआज बेजोडसङ्ग बिषयबस्तु उठान गरेका छन, चर्चाको पात्र बनेकाछन तीन ब्यक्तिहरु बालेन, कुलमान घिसिङ र रबि लामिछाने आगामी फागुन २१ गतेको निर्वाचनमा उठ्ने कुरा । त्यसमापनि यो कलमीको निर्वाचन क्षेत्र नम्बर – ०५ मा उठ्ने कुरा पटक – पटक सामाजिक संजालमा उठाएका उठाएकै छन । सर्वाधिक चर्चाको बिषय बन्यो झापाको निर्वाचन क्षेत्र नम्बर–०५ को । जसमा पटकपटक निर्वाचित भएर गएका प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र चर्चित बन्यो । बाजि कसले मार्ला भनेर अडकलबाजी गरिरहेका छन । धेरैले बालेनको जमानाजफत हुन्छ, उठ्नुहुन्न भन्ने जस्ता मनगढन्ते कुरा सामाजिक संजालमा उठाइरहेका छन । यसले के बताउछ भने यो देशमा धेरै भविष्य बक्ता, त्रिकालदर्शी ब्यक्ति रहेछन जसले भविष्यमा हुने कुरा अघि देख्छ । त्यो भूगोलमा गएर कतिको अनुसन्धान गरेर नेपाली जनताको राय सल्लाह संकलन गरेको हो या होइन, यो सम्म सुझबुझ गरेर बोल्ने ब्यक्ति खोजेर भेट्न सकिन्न । हिजो आकलन जुन थियो अहिले त्योसबै फेल हुने सम्भावना बढी देखिन्छ । हामी गाउँमा जाउ, सबैको मनसाय बुझौ कि पुरानो दल र पार्टीहरुको कुरै सुन्न मान्दैनन बुढापाकाहरु । आखिर यसो किन गरिरहेका छन त हाम्रा अग्रजहरु । जसले हिजो राणाशासन, पञ्चायतकाल, राजाहरुको शासन प्रत्यक्ष र परोक्ष देख्यो । अहिले पुराना दलहरुको अदलबदल युवा जेन – जीहरुले देखे भने अबको राजनीतिक परिदृश्य के होला त ? के अबपनि बिबेक पुर्याउदैनन त नेपाली जनताले । पुराना दलहरु सच्चिने कि सक्किने ? यो जनचासोको बिषय बन्न सक्नुपर्छ, अब । यो चुनाव हाम्रो होइन, राम्रोलाई चुन्नुपर्छ । स्वविवेक प्रयोग गरौं योग्य उमेदवारलाई भारी मतले बिजय गराऔ । जय जनता ।