देश–समाज विचार/वहस स्थानीय

नेपालमा तख्ता पलट र जेनजीको अन्तरिम सरकार

नेपालमा संसद भङ्ग गरी नयाँ सरकार गठन भएको छ। नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्की नेपालको पहिलो महिला न्यायाधीश हुनुको साथ साथै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पनि प्राप्त गर्नु आफैमा पनि एउटा ऐतिहासिक र उपलब्धिपूर्ण घटना भएको मान्न सकिन्छ । विगत केही दिन देखि नेपालको राजधानी लगायत देशका विभिन्न भूभागमा देखिएको अराजक हिंसा, आगलागी र लुटपुट जस्ता घटनाहरूको अन्त्य हुने अपेक्षाका साथ तत्कालीन प्रधानमन्त्री के पी ओली ले त्यागपत्र दिनु र संसद भङ्ग हुनु नेपालको इतिहासमा एउटा अनौठो, अविस्मयकारी र विश्वलाई नै अचम्भित पार्ने घटनाको रुपमा संसारले हेरि रहेको छ ।
देशमा व्याप्त कानुन विहिनताको अवस्थाबाट देशलाई निकास दिन भर्खरै चर्चामा आएको जेन जी नाम गरेको युवा विद्यार्थीको संगठनले देशव्यापी रूपमै सरकार विरोधी प्रदर्शनहरु गरी रहँदा प्रहरीहरुले चलाएको गोली प्रहार बाट दर्जनौं कलिला विद्यार्थीहरूको दुखद मृत्यु भएको र प्रहरी ले प्रदर्शनकारीहरु माथि चरम र निर्मम दमन गर्दा हजारौं विद्यार्थीहरू घाइते भएको घटनाको प्रतिक्रिया स्वरुप फैलिएको जन आक्रोश र प्रत्याक्रमणको परिणाम स्वरूप भएको व्यापक तोडफोड र आगलागीमा परी देशको सर्वोच्च संवैधानिक संस्थाहरू र देशको अतिनै महत्वपूर्ण मानिएको संसद भवन, सर्वोच्च अदालत,प्रधानमन्त्री कार्यालय, प्रशासकीय भवनहरू,प्रदेश भवनहरू, प्रदेश सरकारको मातहतमा रहेको अन्य कार्यालयहरू लगायत प्रशासनिक भवनहरू समेत ध्वस्त हुन पुग्यो । आन्दोलनकारी समुहहरुले सुरु गरेको आन्दोलन अन्त्यमा अराजक भीडमा हिंसक रूप लिन थाले पछि प्रहरी र सैन्य सुरक्षा अधिकारीहरुले परिस्थितिलाई नियन्त्रण गर्दा गर्दै स्थिति विस्फोटक हुँदै गयो।सरकारी कार्यालय मात्र होइन निजी सम्पत्तीहरुको पनि होलीका दहन गरियो । ठूलो ठूलो व्यापारिक कम्पलेक्सहरूको लंका दहन गरिएको र लुटिएको अवस्थामा देश बचाउने र देश बनाउने युवाहरुको सहभागिता र सक्रियतामा तटस्थ नागरिक समाजबाट सुशीला कार्कीलाई सरकारमा जाने योग्यतम् व्यक्तिको रुपमा छनौट गरी सरकार नै बनाउने गरी जिम्मा लगाइएको कार्यहरू बाट देशभित्रका जनताहरू र मित्र राष्ट्रहरूलाई आड भरोसा दिने वातावरण सृजना भएपछि देशभित्रका अन्तर्विरोधहरूका स्वरलाई केही न केही मात्रामा साम्य पार्न सक्ने वातावरण तयार हुँदै गएको र देशभित्र शान्तिको वातावरण सृजना भइरहेको संकेत आई रहेको देखिन्छ ।
देशको अकुत सम्पत्तिको सर्वनाशपछि स्थापित भएको नेपालको नयाँ सरकार समक्ष अनगिन्ती चुनौतीहरू तथा अवसरहरू पनि छन् । सम्भावनाले भरिएको नेपालको भू(दृश्य तथा प्राकृतिक स्रोत संसाधनहरूलाई नियमित तथा व्यवस्थापन गरी उत्पादन बढाउनेतिर लक्षित गर्नु जरुरी छ। देशको विदेशी मुद्रा भण्डार कमजोर छ । पर्यटन प्रवर्धन नै नेपालको सरकारको आम्दानीको एउटा महत्वपूर्ण स्रोत रहेकोले पर्यटनलाई आकर्षित गर्न देशमा शान्तिपूर्ण वातावरण निर्माण गर्नु जरुरी छ । उद्योगधन्दाहरू तथा कलकारखानाहरू लाई पुनः व्यवस्थित गरी सहज अवस्था निर्माण गर्नु अत्यन्त आवश्यक छ। बजारमा पुनः जीवन प्रदान गर्नु जरुरी छ। भारतीय सिमानामा रोकिएर रहेको हजारौं गाडीहरूलाई नेपालभित्र प्रवेश दिने सहज वातावरण निर्माण गर्नु आवश्यक छ । बन्द व्यवसायलाई खुलाएर पुनर्जीवन प्रदान गर्नु आवश्यक छ । पुरानो सरकारले गरेका ढिला सुस्ती र अनियमितता हरूको छानबिन गरी न्याय सम्पादन गर्नु पनि आवश्यक नै रहेको छ । सबैभन्दा महत्वपूर्ण कुरो त के छ भने जेन्जी का उदीयमान युवा समूहहरूको विचार भावना र उत्साहलाई राष्ट्रहितमा प्रयोग गर्नु जरुरी छ । नकारात्मकता बढ्दै गइरहेको नेपाली समाज र राजनीतिलाई सकारात्मकता तिर केन्द्रित गर्नु जरुरी छ। जति पटक पनि नयाँ जनादेश लिनु पर्दा पनि सरकार एक वर्षभन्दा बढी लामो समयसम्म टिक्न नसक्नु नेपाली राजनीतिक इतिहासको बाध्यता रहेको छ । देश अस्थिरतातिर लम्किदै छ । देशको अर्थतन्त्र राजनीतिक भूसको आगोमा स्वाहा हुँदैछ । यसलाई रोक्नु जरुरी छ । राजनीतिकर्मी हरुमा विवेक आस्था र राष्ट्रभक्तिको भावना जगाउनु जरुरी छ । धेरै नै सहज झैँ लाग्ने सानोसानो कुराहरू पनि राजनीतिक विवादको मुद्दा बन्न जाँदा देशले ठूलो मूल्य चुकाउनु परेको छ । नेपालको आफ्नो अर्थतन्त्र समेत देशको लागि अनुकूल बन्न सकेको छैन। नेपालको संविधान २०७२ ले अङीकार गरेका कानुनहरू जनताको पक्षमा आउन सकेको छैन । भाइभतिजावाद, नातावाद, कृपावाद, जातिवाद र क्षेत्रीयता वादका कुराहरू राजनीतिक क्षेत्रमा सर्वस्वीकार्य नै भइसकेकोले देश भष्मासुरी माया जालमा फस्न लागेको छ । यस्तो अवस्थामा देश लाई कहाली लाग्दो अवस्थामा पुग्नुबाट रोक्नु जरुरी छ। नेपालको जनजीवन र नेपाली जनताका आवश्यकताहरू लाई प्राथमिकतामा राखेर सरकारले कामकाज गर्नुपर्दछ । अशान्ति, अराजकता, आतंकवाद र अपारदर्शितालाई जसरी भएपनि नियन्त्रण गर्ने रणनीति सरकारले अपनाउनु जरुरी छ । देशको वास्तविक अवस्था बारे नयाँ पुस्तालाई जानकारी गराउनु जरुरी छ । नेपालमा बढ्दै गइरहेको भ्रष्टाचार र कानुन विहिनता को स्थितिलाई नियन्त्रणमा ल्याउनु जरुरी छ। न्याय र विधिको शासन स्थापना हुन सकेन भने अन्तिममा दुःख पाउने जनता का छोराछोरीहरु नै हुन् यसलाई अत्यन्त संयमपूर्वक विवेक पु¥याएर मनन गर्नु र विवादहरुलाई समाधान गर्नु जरुरी छ। कसैलाई काखा र कसैलाई पाखा लगाएर नै विगतका सरकारहरूले देशको यस्तो हविगत गरेको कुराको यथार्थ बारे सबैले बुझ्नु जरुरी छ । राजनीतिक संस्थामा व्याप्त रहेको छल प्रपञ्चवाद, जातिवाद र भेदभाव जस्ता अपारदर्शी कुराहरू तथा विचारहरू बाट देशलाई उन्मुक्ति दिलाउन सकिएन भने देशमा कानुनी राज्य स्थापित हुन गाह्रो छ। देशमा हिमाल भएर पनि हिमाल जतिको उचाइ र सम्मान जनताले पाउन सकेको छैन। विश्वमा शान्ति स्थिरता र विकासको गतिलाई अगाडि बढाउन सकिएन भने जुनसुकै र जस्तोसुकै अग्रगामी क्रान्ति र योजनाहरू पनि असफल हुन सक्छ। त्यसकारणले देशलाई सकारात्मकतातिर उत्प्रेरित गरी देशको सिर उच्च हुनेगरी सरकारले योजनाहरु तयार गर्नुपर्दछ ।
अहिलेको सरकार सरकार काम चलाउ मात्र छ। काम चलाउ सरकारका प्राथमिकताहरू फरक किसिमका हुन्छन्। आन्दोलनमा सहभागी भएका जेन्जीहरूका प्राथमिकता र मागहरूलाई सरकारले प्रमुखताका साथ लागू गर्न सक्नु पर्दछ। सकेसम्म विवादमा नपरेका र कुनै किसिमको आर्थिक प्रलोभनमा नफसेका व्यक्तिहरू तथा कुनै अपराधिक कार्यहरू मा संलग्न नभएका व्यक्तिहरूलाई अग्रपंक्तिमा राखेर सरकारले देशका गरिब भन्दा गरिब जनताहरूको कल्याणको लागि हितकारी योजना हरू तर्जुमा गर्नु पर्दछ। मन्त्रीको छोरो गाडीमा जनताको छोरा खाडीमा भन्ने जस्ता असमानता बढाउने खालको विचारलाई व्यवस्थित बनाउनु पर्दछ। पुराना भन्दा पुराना भ्रष्टाचारका आरोप लागेका व्यक्तिहरू माथि छानबिन गरी त्यसको न्याय निरूपण गराउनु पर्दछ। जबसम्म नेपालबाट भ्रष्टाचार ,अनियमितता र अपारदर्शिता को अन्त्य हुँदैन देशमा समावेशी राज्य प्रणाली सफल हुन कठिन छ। देशमा राजनीतिक स्थिरता ल्याउनको लागि पनि भ्रष्टाचार माथि अंकुश लगाउनु जरुरी छ। भ्रष्टाचारको बढ्दै गइरहेको ग्राफले यही सार्क देशभित्र पर्ने नेपाल भ्रष्टाचारमा अब्बल रहेको छ। जबकि नेपालको अर्थव्यवस्था अत्यन्त जर्जर र नाजुक मोडमा आइसकेको छ ।नेपालको अर्थतन्त्र व्यर्थ तन्त्रमा रुपान्तरण भइसकेको छ। विदेशबाट प्राप्त भएको सरकारी अनुदान ऋण र सहयोगहरु को परिमाण बढ्दै गएको देखिए पनि त्यसलाई सही तरिकाबाट उपयोग गर्न सकिएको छैन।
विश्वमा लगातार अशान्तिको तुवालो बढ्दैछ। विश्वयुद्धको बाटोमा लम्किँदै गइरहेको शक्तिशाली मुलुकहरूले सानासाना मुलुकहरूलाई वास्ता गर्दैनन्। ठूलाठूला मुलुकहरूको स्वार्थ अनुसार चल्न गरिब देशहरूलाई गाह्रो छ ।देशको सार्वभौमिकता अखण्डता र जनतामा व्याप्त रहेको राष्ट्रिय भावना को संरक्षण गर्नु जरुरी छ। संविधानमा देखिएका त्रुटि हरूहरूलाई जनभावना र जनमत अनुकूल सच्याउनु पर्दछ। प्रादेशिक संरचनाहरू निर्माण गर्दा देखिएका कमीकमजोरीहरूलाई पनि सच्याउनु पर्दछ ।
सुशीला कार्की जस्तो प्रतिबद्ध इमान्दार र लोकतन्त्रवादी प्रधानमन्त्री पाउनु देशको लागि फलदायी हुन सक्छ। उहाँ न्याय मूर्ति र प्रमुख न्यायाधीशकै आसनमा रहिरहँदा ठूलोठूलो भ्रष्टाचारका मुद्दाहरूलाई निराकरण गर्नु भएको इतिहास छ। कसैको पक्षमा वा विपक्षमा नलागी नै न्याय सम्पादन गर्नु एउटा न्यायमूर्तिको जीवनको लक्ष्य हुनुपर्दछ र त्यही लक्ष्य प्राप्त गर्नको लागि आज नेपालको इतिहासले एउटा संवैधानिक जिम्मेवारी दिएर उहाँलाई देशको महत्वपूर्ण ठाउँमा पुर्याएको छ।देशको संविधान र संवैधानिक ढाँचालाई सम्मान गर्नु जरुरी छ ।

Author

You may also like