झापा हल्दिबारीमा ३१ वर्षीय रामकुमार अधिकारीको करेन्ट लागेर भएको मृत्यु अर्को दुःखद उदाहरण हो, जसले गाउँ–सहर सबैलाई पुनः सावधानी अपनाउन सचेत गराएको छ । खेतमा पानी पु¥याउने साधनकै रूपमा विद्युतीय मोटर प्रयोग गर्ने बाध्यता, र त्यसमा पनि असुरक्षित तारजोड र अस्थायी पोलले किसानको जीवन जोखिममा राखिरहेको छ । यो घटना कुनै एक व्यक्तिको दुर्भाग्य मात्र होइन, समग्र कृषि संरचनाको कमजोरीको चित्र हो । समयमै वर्षा नपर्ने, स्थायी सिँचाइ प्रणाली नहुनु, र विद्युतीय उपकरणको सुरक्षित प्रयोगबारे चेतनाको अभावका कारण मिलेर खेत नै मृत्युको थलो बन्दै गएको छ । प्रहरी तथ्यांकअनुसार वैशाखयता झापामा करेन्ट लागेर ७ जनाले ज्यान गुमाइसकेका छन्, जसमा धेरैजसो खेतमै पानी लगाउने क्रममा भएका छन् ।
खडेरीले खेत रोप्न ढिलाइ हुँदा किसानले विद्युत प्राधिकरणसित समन्वय, प्रक्रिया पूरा नगरी हुकिङबाट बोरिङ सञ्चालन गर्दा करेन्ट लागेर मृत्यु हुने घटना बढ्न थालेका हुन् । वैशाख यता नै झापामा यस प्रकारको सिंचाई गर्दा ४ जनाको ज्यान गएको छ । जथाभावी हुकिङ गर्दा ज्यान जान्छ भन्ने हेक्का नराख्दा करेन्ट लागेर मृत्युका घटना बढिरहेका हुन् । विद्युत प्राधिकरणले हुकिङ नगर्न सम्झाउँदै आए पनि किसानले अटेरी गर्दै आएको जनाएको छ । किसानहरू खेतमा मोटर, बोरिङबाट सिँचाइ गर्दा ११ हजार भोल्टको तल ४०० भोल्टको खम्बामा सिधै तार अड्काएर बोरिङ मेसिनमा जडान गरेको पाइएको छ । यसरी लापरबाहीपूर्ण तरिकाले प्रयोग गर्नु अत्यन्तै जोखिम भएको विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा प्रमुख धीरेन्द्रकुमार यादव बताउँछन् । ‘हामीले किसानलाई सम्झाई बुझाई यसरी तार राख्ने काम नगर्नुस् त भन्छौं । तर उनीहरूले भनेको नटेर्दा अवस्था गम्भीर बन्न जान्छ । करेन्ट लागेर अकालमा ज्यान गइरहेको छ,’ उनले भने । विद्युत कर्मचारीका अनुसार खेतमा पानी पटाउने निहुँमा किसानले नांगो तारमा सामान्य प्लास्टिक बेरेर लैजाने गर्छन् । त्यस्तो तार पानीमा परे पछि बाहिर करेन्ट सप्लाई भएर मानिसको मृत्युका घटना भएका हुन्छन् ।
समस्या समाधानको बाटो स्पष्ट छ तर कार्यान्वयन टारिँदै आएको छ । पहिलो, सरकारले विद्युतीय मोटर मात्र वितरण गरेर जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । सुरक्षित पोल, मिटर, र ग्राउन्डिङ प्रणाली अनिवार्य गर्नुपर्छ । दोस्रो, किसानलाई विद्युतीय उपकरणको प्रयोग, तारजोड, र आपतकालीन सुरक्षा उपायबारे व्यावहारिक तालिम दिनुपर्छ । तेस्रो, दीर्घकालीन रूपमा स्थायी सिँचाइ संरचना विस्तार नगरी यो समस्या टर्ने छैन । जथाभावी खसेका, लत्रिएका तारहरुको व्यवस्थापनमा विद्युत प्राधिकरण चनाखो बन्नु उत्तिकै जरुरी देखिन्छ । सबैभन्दा ठूलो कुरा किसानको खेतमा सिंचाई सुविधा कसरी पु¥याउने भन्नेमा सरकार दृढसंकल्पित हुन जरुरी छ ।
राज्यको दृष्टिकोण उत्पादन बढाउनेमा मात्र केन्द्रित भएर किसानको सुरक्षा बेवास्ता गर्ने हो भने, उत्पादन बढाएर के गर्ने? किसान नै बाँचेनन् भने खेतमा धान फलाउने सपना कसले देख्ने ?
सिंचाईमा वैकल्पिक उर्जाकै माध्यम अपनाउने हो भने सिँचाइ र सुरक्षा दुवैलाई समान प्राथमिकता दिएर उत्पादन बढ्ने र किसानको ज्यान जोखिम नहुने तरिका अपनाउनु जरुरी छ ।