— : सत्यवाद केशरी :—
ऐसेलु झाँगे आज एकाबिहानै घाँटी सुकाएर मकहाँ आइपुग्यो र मेरो टेबलमा नियमित हुने पानी भरिएको जग मसँग नसोधी उठाएर पिएपछि भन्यो –“मेरो छोरो ह्यारी अगि बेहान उज्यालो नहुँदै ओछेनमा ढल्केर चुरोस स्वाइँ– स्वाइँ तान्दै र ख्वाइँ–ख्वाइँ खोक्तै, ती क्या त – राम दुलारी, हो तोसित जिक्सीराख्या रछ । र, मैले ’तो चुरोस नखा न हओ केटा, खोकी लागो तँलाई । बरु बाँकी एता ले, तेतिकै ठोसेर खेर फाल्नु पनि हुँदैन, म सर्का ला’र चाइन्जो सकाइदिन्छु’ भनें कि अन्तखेरी तेल्ले थपक्कन दियो विचरा । मैले तीन सर्का तान्दै फिनिस्टिगो नि !… आमामामा तो त हिरोनी कि ब्रौन सुग्गर हो कि गाँजा पो रछ । मलाई त हर्रामी निसा लागेछ – तेस्सिमालाने ! तेसै ट्यामबड तपइँकाँ हिनेको, सुर भा पो ! … इ एतिखेर आइपुगेँ । कता–कता हिनेछु कता–कता, छ्या ! हिन्दा–हिन्दा थाकेर हत्तु ! अैले पानी खाएसि पो पेटमा ठण्डी भो र निक्कै ठीक भो ।“
म खिस्स हाँसें मात्र, केही भनिन । तर, उसको ओैधी नै मैलो भएको पहिरनले भने ममा विशेष कुत्कुति पैदा गरेको थियो । थप कुरो के भने, आजको उसको पहिरनमा –अस्तिको आइतवार आफ्नो छोरोसँग मकहाँ आउँदा छोरो चाहिँले लगाएको टाइट जिन्स पेन्ट, छातीमा मानव खप्परको डेन्जर देखिने नक्सा छापिएको भेस्ट, कम्मरमा ड्र्यागन छाप बग्लस र बी–बीचमा गोलो–गोलो काँटी भएको ’गब्बरसिङ ब्राण्ड’ पेटी अनि थप चाहिँ अगाडिको कान पछाडि पारेर कौडे–प्याचे स्टाइलमा कानेटोपी लगाएको थियो । र, यस विषयमा चाहिँ मैले जिज्ञासा राखें –“हन यी लुगा–कपडा त अस्ति तिम्रो छोरोले पो लगाएको देखेको त मैले ?“
उसले वेपर्वाह भन्यो –“ हो नि, किन होइन्थ्यो । एतिको मैलो भएसि तेल्ले लाउन छोडिहाल्छ । ’एतिकै मैलोलाई साबुन किन खर्च गर्नु ? बरु अब एक–डेढ हप्ता म लाउँछु अनि धोइदिम्ला नि’ भनें मैले । उल्ले इजिलै एस्सेप गरो अनि मैले लाको । आज म बूढो पनि हेन्सम र ब्यूटो देखिइन त ? रामरी हेर त । इकोनोमी पनि गर्नुपर्छ नि उमेर पाकेकाले, होइन्त ?“
ऊ एछिन् अल्मलिए जस्तो भयो र भन्यो – “ ती क्या त हामेरका सन्मान्नीए पराइमिस्टर केप्पी ओलीले– ’ इण्डे र पाकिस्थानको जुद्ध आपुसमा सम्मेमतामा राफसाफ गर्नु राम्रो हुन्छ भन्–र हामेरले सुजाउ–सजेक्सन दिएसि बन् भया हो ।’– भन्–र बुद्दको जनमथलोमै हाकाहाकी भाषण भनेको निउच तपइँले पनि सुन्या हौलाऊ । हामेरू बह्योबिर्दहेरू त तेत्ति पाओरिला पो छउँ त सत्ते चइँ कुरो कथुर्न त !“ …अनि ऊ कति दिनदेखि पानीको मुखै नदेखेर पहेँलिएका उसका नक्कली दाँत देखाउँदै हाँस्यो ।…
ऊ फेरि मतिर अज्ज नजिक सर्दै भन्न थाल्यो –“म तपइँकाँ के कुराको रिजेल निकाल्ने डिस्केस गर्न आइरथेँ भन्ने पनि भुसुक्कै बिर्से र भा पनि कुरा त मेरा मगजमा लाखम् छन् नि । कुरै मूला त कुक्कुरले नखा ।“… भन्दै उसले जगमा रहेको बाँकी पानी शेष गर्याे र फेरि भन्न थाल्यो –“इण्डे बोडर सायटको भद्रपुर जस्ता ठाममा हामेरका हजुर्बाऊको पनि हजुर्बाऊका पालादेखुन् इन्ड्यान बेहारी ठग–लुच्चाहेरूबड हण्डर खाँदै आका छम् भनेर कल्लाई चइँ था छैन र यार ? बेहारीहेरू पनि के गरुन् र बिचाराहेरू ! चोर्नु, ठग्नु, कमाउनु र लट्ठापारि जमाउनु त उँधेरको जनमसिद्द अदिकार जस्तै छ । अथ्बा गाम–टोलमा हल्ला–कचेडा गर्नु, बाटबाटै गाई–बाख्रा खुट्नु, बाटाका किनारलाई हगासन–मुत्रासन बनाउनु … घोसे मुन्टो ला’र चाइँनेकेरे आफ्ले आर्कालाई नदेख्नु – आर्काले आफ्लाई देख्ता हुने शर्म–उर्म मारो गोली नि…होइन्त ? अन्तखेरी गाम– टोलमा एउडा नयाँ– नुतन बेहारी आयो चने तेसलाई खुट्टो टेकाउन मरिहत्ते गर्नु अनि ऊ समेत सप्पै धुर्रिएर नेपाली लुट्नु र लुटेको बाँडचुँडमा झगडिएर ,नेपाल देशका कमिनिसहेरू जस्तै, एकापसमा फुट्नु इत्तेदि त उँधेरको बर्मा–भग्बान कि भाबीले छइटीका दिन लेखिदिया जातीए पर्विर्ति नै हो क्या ! नाग्रिकताको स्यानो खोस्टो खल्तीमा राखेर अथबा कुनै हबिदले पाटीको टिकस मिला’र चाइँनेकेरे उमेरदार भको ल्याङठोको भोटर भ’र टिक्ने–बिक्ने उनेरको सोभाउमा च्यान्ज हुन्छ भन्नु र छाडा साँढेले कट्टु लाउला भन्नु एउउउडै हो क्या, एउडै हो । साँढेलाई कट्टु नलगाई हिँडदा कुनै अप्ठारो हुने अथ्बा लाज–शर्म हुने भा पो कट्टु लाओस्, होइन्त ताइँको ?“
ऊ मच्ची–मच्ची भन्दै गयो –“उइलेकालमा हनुमान चालिसामा म्याटिक पास गरेकादेखुन् रम्माएनमा एम्मे–बीये पास गरेका बेहारीहरू लद्दी नेपालतिर छिरेर गाँस र बासमाथि मोरु दुई अथ्बा तीन सहे अथ्बा सुख्खा साढे तीन सहेसम्म रुप्पे मैनाबारीमा शिच्छक गर्ने हलि पाइन्थे अरे–अरे भन्–र मेरा बाबैले मैसित भन्थे । ती इसकुल–कालेजमा मास्टर–पोरपेसर गर्न सइल्यै पाइँछ भन्–र आउँथे अरे । मलाई पनि तेस्तै सरहेरूले…खएर एस टपिकमा नकुरा गरम् ।… तेस्ता सरहेरू कतिपएले होइन धेरैपएले आफ्ना छोरा–साला क्याटमाडुँ लगेर तिहाँका थोत्रा राणाका थोत्रा मइयाँको जोइमा टाँचलेसन गरेर ’स्यो’ र ’स्योस्’ पनि सिकेर खपिसक्नु छैन भन्थ्यो मेरो छोरो ड्याबिट ह्यारीपर्साद । ड्याबिट ह्यारी जइसो विध्वानमा पर्तिस्टितले तेस्सै तेसो भनेको होइन क्या । … तिनले ’स्यो’ र ’स्योस्’ आफ्ना बोलिमा जइन् गरेर बोलेको सुन्दा मलाई त मेरै कान्छो भाइ छ नि, क्या त कामरेडे जँड्या हरिरामे ल्वाँठ ? हो तेल्ले र उस्की लबर्नी मुसीकी आमाले कोदो अथ्बा खुदीको ऐंठनप्याट्रा खाएर लठारिँदै इङलिस बोले जइसो लाग्छ…र भा नि रामरी चलेकै छ केरे !“
मैले ‘ए…’ ‘/अँ त नि ?’/ ‘ए हो र ?’/ इत्यादि भन्नु बाहेक दिमागले कामै गर्न छाडे जस्तो, मैले नै डेभिड ह्यारीको जुठो मादक धुवाँ ताने जस्तो भएको थियो ।… ऐंसेलु झाँगे चाहिँ बोलेको बोल्यै थियो र भन्दै गयो –“अस्तिका दिन एउडा ठेलामा साकसब्जी बेचुवा ठेट बेहारी देखिने बेहारीसित छोरो ह्यारीले काँक्रा किन्नु भन्यो र मैले तेसलाई ’तो ठेलासँघै आँगनमा आइए त हौ आप !’ भनें र काँक्रा किनेर दाम दिँदैगर्दा तेसले भन्यो –“भहुत प्यास भइसकेछ मैलाई, तापाञीको कोइ नौकर होइसिन्छ तो तनिक पानी मगाइस्योस् न अंकल !“ पो भन्छ तो त, ए ! होइन त्यो छुँदाखाँदाको बेहारीले आफ्लाई नेपाली देखाउन त तेसो भनेको होइन ? भन्–र है–खै गर्छु त तो नेपालमा कैल्यै खुट्टै नटेकी मेरै हर्रामी भाइ हरिरामेकै सोस्फोस् ला’र पन्ध्र वर्खदेखुन् ’नापाली लाग्रिक छुँ’ पो भन्दो ए ! म त छअ…क्क पो परें यार ! अनि मैले ’आपले यो स्योस्–ओस् कताड सिकेका हाय ?’ भनिकिन डिट्टेलिङमा सोदेको त तेसको मउसा उइले नै झापामा इसकुल मास्टर थिएछ र तो मउसाकी बूढीको काकाको सालोकी बूढीकी बुइनीको बूढा क्याटमाडुँको एउडा मिस्तिरीको हेल्फर गर्ने एइ ठेलाबालाको भाइ रहेछ र एसले उसैबड सिकेको बइन् पो दिन्छ ए रात्तै ! तो बेहारी त…“
यति मात्र भनेपछि ऐंसेलु झाँगेले बरण्डको भित्तोमा झुण्डाको घडी हेरेर आत्तिए झैं गर्दै एक्कासी जुरुक्क उठ्यो र “ला… आज ह्यारीको जनम दिनको बेहान तेस्सै ग’छ । तपइँ पनि सारै खत्तम रछौ ! मेरो एत्रो ओैधी ट्याम खाने हो त ? अब ह्यारी आग्गो…“ – भन्दै धमाधम उसको घरतिर लोक्तियो ।
ऊ गइरहेतिर हेर्दै अनि मैले आफैसित भने –“ छोरो गँजडी, बाऊ गँजडी…हन यी बाऊ–छोरा पनि भित्रभित्रै ऐलेको सरकारी पार्टीमा घुस्रेर लटरपटरको सुरक्षित व्यवहारमा मस्त छन् कि क्या हो हन ??“…