देश प्रसव पीडामा छ । सरकार चलाउनेहरु बेखबर छन । यहाँ जसले जे गरेपनि भयो । मियो बिनाको दाइ चलेको छ, यतिबेला । कसैले कसैलाई केही भन्नेवाला छैनन । ज्यूदो मान्छेलाई उ लास हो यो हो त्यो हो । चोर हो देश द्रोही हो, लोकतान्त्रिक गणतन्त्र सिध्यायो । यस्ता उटपट्याङ्ग कुरा गरेर थाक्नेवाला छैनन, यहाँ । आखिर लोकतान्त्रिक गणतन्त्रका दोषी को हुन त ? यसको अपजस जनता हुन कि नेता ? यी प्रश्नहरु जनजनमा आउन थालेको छ, आज । तर आएपनि जनता तिनैका पिच्छलग्गु भने हुन छाडेनन । तिनैको भजन कीर्तनमै ब्यस्त छन । यहाँ फेहरिस्त अनुहार हेरौ कसैको गुन्जायसै छैन, मानौ कि उत्साह र जनलहर अनि बिद्रोहका स्वर उर्लिन थालेका छन । यहाँ चुनावमा भाग कसैले लिदैनन, चुनावै हुन्न भन्ने मनगढन्ते कुरा र मसिना स्वरहरु चिया चमेना गृहमा चल्न थालेका छन । यो सब मिथ्या कुरा सिवाय अरु केही हुनै सक्दैन । तपाईं छातीमा हात राखेर कसम खानुहोस कि यहाँ तत्काल चुनाव होस जनता जागरुक भएर चुनावी मैदानमा उत्रिन्छन तर जनमत कता जाने हो त्योभने अडकल गर्न नसकिने अवस्था छ अहिले ।
हामी पुरानो विरासत हेरौ सबैभन्दा ठूला दल एमाले, नेपाली काङ्ग्रेस, माओबादी यी दल पहिले कुन अवस्था थिए र आज कुन अवस्थामा छन, हिजो फराकिलो अवस्थामा थिए आज खुम्चिएका छन । यो अवस्था बनाउने कोहि होइनन, हुन त यिनै जनता जनार्दन हुन । कसलाई कहाँ पुर्याएर छोडने उनीहरूकै हातमा छ । गोप्य जनमत कहाँ जान्छ भन्ने नजर अन्दाज गर्न सक्ने अवस्थै छैन, हिजोदेखि आजसम्म प्रधानमन्त्रीको स्वाद चाखेर देशलाई दोहन गर्ने हाम्रा नेताहरू हामीले चिनेकै छौ त । अनि गुणगान गाउनु किन ? हामी क्रान्तिकारी, हामी सर्वैसर्वा, लोकतान्त्रिक गणतन्त्रको हिमायती हामीनै हौं भन्नू ब्यर्थ छ, अहिले । यो लेख्दासम्म यो कलमीलाइ कसैले कुनै दलको हनुमानको पगरी गुथिदेला तर सत्य यहाँ छ कि कुनैदिन दलहरुको हविगत अवस्था नजिकबाट नियालेर हेरेको र अन्धभक्त भएर झण्डा समातेर डण्डा खान उद्दत चाहिँ भएकै इतिहास छ पुरानो अतित केलाउदा । गरिबका झुपडीमाथिको राजनीति नजिकबाट नियालेको मान्छे हो यो कलमी । यही झापाको दमकमा जन्मिएर, हुर्किएर, पढेर, विद्यार्थी राजनीति गरेर कयौ रात मादल र हार्मोनियम, बासुरीमा जनवादी गीतमा नाचेको हिडेको कहानी तरोताजै छ । त्यो त देख्नुहुने मेरा आदरणीय महानुभावहरुलाइ थाहै छ, त्यो कुरा मैले यहाँ उठान गर्नै चाहिन । तर वस्तु तथ्य कुरा भने आज उठान गर्न चाहान्छु कि देशको वर्तमान अवस्था कस्तो छ ? कुन गतिमा चलिरहेको छ । अबको राजनीति अवस्था के होला ? कता जाला ? ज्योतिषीहरुले मनगढन्ते वकालत गरेको अभिव्यक्ति भने यो कलमीले आज उठान गर्दैन । गर्छ भने आजको सडक आन्दोलन तताउने जनता कसले बनाइरहेछ । ती आवाज केका लागि बुलन्द छन ? यो हो देखिएको यथार्थ हो ।
नेपाली राजनीतिमा छाएको आशा होइन निराशा उठान गर्दैछु, आजको वस्तुतथ्य लेख, जुन लेख स्वतन्त्र यथार्थ छ । प्रसङ्ग बदलौ, आज नेपाली राजनीतिमा विश्वासको संकट दिनानुदिन गहिरिदै गएको छ । सरकार चलाउने र नयाँ सरकार बनाउनेहरुको भीड छ । यो रङ्गमन्चमा हामी जनता हेरालु भएका छौ । यसले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्ने प्रतिवद्दताको जग जाहेर गर्दछ कि पुरानो राज्यसत्ताको चलखेललाई अझै दरिलो बनाउने मार्गहरु कोर्ने बाटो हिजोआज खोलिदिदै गरेको अवस्था प्रतीत छ किनकि यिनै सिनारियोहरु दर्विलो रूपमा देखिदैछन त्यो त घामजस्तै छर्लङ्ग छ । आखिर खुल्ला सडकदेखि नेताहरुको सदनमा बोल्ने गरेका बेढङ्गका स्वरहरु हेर्दा हामीलाई लाग्छ कि पुरानो विरासत फेरि कतै ब्यूतने त होइन, प्रश्न तरङ्गित छ ।
हिजोका दिनमा जनताका जस्ता समस्यै समस्या थिए, आजपनि उस्तै छन कुनै परिवर्तनै छैन । यहाँ क्रान्तिकारी स्वर जो जसले बेस्सरी उठाउन ती सबै सत्ताको भर्याङ्ग चढने खेल सिवाय केही छैन । हिजोको एकतन्त्रीय राज्यसत्ता र अहिले लोकतान्त्रिक गणतन्त्रको शासन पद्धति हेर्दा अहिले “छोटेराजा” हरु धेरै भए, तिनीहरूलाई राज्यले पालेर देश दोहन गर्दैछ, आर्थिक भारमा देशलाई बुरुण्डी बनाउनु सिवाय अरु केही रहेन । आज आन्दोलनका उपलब्धि संस्थागत गर्ने क्रममा देखिएका राजनीतिक उल्झनले राजनीतिलाई दिनप्रतिदिन अनुत्पादक बनाइरहेको छ ।
यो सन्दर्भमा भएका गल्ती र कमजोरी सुधार्न नेताको इमान्दारी व्यबहारमा भने पटक्कै देखिन्न । एकले अर्काको राजनीति समाप्त बनाउने भाषणदेखि बाहेक अरु केही देखेनन शीर्ष नेताहरुले । कति स्थानमा नेताहरुलाइ घम्साघम्सी गरेका खबर र भिडियो प्रसारित भए, उनीहरूलाई धारेहात लगाएर भाषण गरेका फोटाहरु आए । यो आउनु शुभ सङ्केत हो कि अशुभ हो ? यसको जानिफकार लोकतान्त्रिक गणतन्त्र ल्याउने राजनीतिक दलका नेतृत्व हुन कि जनता, यहाँ लाज लजाइरहेको छ कि नेताले यसको अबको निकास र रुपान्तरण भने पहिल्याउन सके जस्तो देखिन्न देखिन्छ त “त कुटेजस्तो गर म रोएजस्तो गर्छु” भन्नेमात्र देखियो । यहाँ बिगतका राजाहरुलाइ नराम्रो गालीगलौज गरेर दुनियाँ हसाउनु सिवाय अरु केही रहेन । हिजोका दिनमा स्वतन्त्रता, सार्वभौमिकता, सामाजिक न्याय तथा अधिकारका लागि करोडौं करोड जनता २०४६ र सशस्त्र जनयुद्धमा धेरै मरेका थिए र देशमा गणतन्त्रको बिजारोपण भयो तर के पाए झुपडीमा कठ्याङग्रीएका भोको पेटहरुले ? भ्रष्टाचार मौलाउदो छ, महङ्गीले आकाश छुन लाग्यो । हामीलाई स्पष्ट रूपमा हिजोदेखि आजसम्म थाहै छ कि ६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त जनताको लोकतान्त्रिक गणतन्त्र स्थापित भएकै हो, जुन इतिहासमा धेरै अर्थले सर्वाधिक महत्त्वपूर्ण छ । लामो समयदेखि एक ब्यक्ति अथवा एउटा संस्थालाई सार्वभौम ठानी रहेका जनता प्रथम पटक सार्वभौम जनताको प्रतिकका रूपमा स्थापित भएकै हुन तर त्यसलाई संस्थागत गरेर हिजो जुटेपनि अहिले किन सडकमा बढेको निरासा के दलहरुप्रतिको आक्रोश हो भन्ने कि नभन्ने ? अनि एकोहोरो सुगारटानझैँ पुरानो सत्ताका हिजोका मालिकलाई गाली गर्ने ? गम्भीर र सोचनीय बिषय यहाँ बनेको छ ।
राजा ल्याउने, भित्र्याउने, फुलमाला गर्ने, राजगद्दीमा राख्ने नारा जुलुस यो ख्यालठट्टा होइन यो दलहरुले बुझे हुन्छ । एउटा दृश्य होइन यो, हजारौं – हजारको दृश्यपनि होइन यो दृश्यमा ल्याकत देखियो, आक्रोश देखियो । यो सब राजनीतिक दल र तिनका नेताहरूले बेलैमा सोचेनन भने सडक बिद्रोह हुने निश्चितप्राय ः छ, यो लेखेरै राखे हुन्छ । जनताले राज्यलाई तिरेको करको भारबाट पोसिएका नेताहरू आज त्यही करलाइ बाडीचुडी खाइरहेका छन । यो सही हो कि गलत हो ? नेताले छुट्ट्याउने कि जनताले ? सबैले छुट्ट्याई सकेका छन त । यहाँ भाषण दिएर केही हुन्न अब र हुनेवालै छैन । यदी दलहरुले गर्दै गरेको जुन सत्ताको राजनीति छ यसलाई मिलाएर लोकतान्त्रिक दल अब अघि बढ्न थालेनन भने याद गर्नुस हेक्का राख्नुस, रक्तपातको अव्यवस्था आउन सक्ने स्थिति नजिकै छ यसमा नेताहरू र तिनका आसेपासेहरुले मनन गरे हुन्छ । अहिले सडकमा रातो र पहेंलो बस्त्रका ध्वजाका स्वरहरु किन उर्लिए ? अबको गन्तव्यको यात्रामा हामी एकजुट हुने कि नहुने भन्ने कुरा बुझ्न सकेनन भने हिजोको जस्तै भूमिगत जीवन दलहरुले ज्यूनुपर्छ भन्ने कुरामा ध्यान केन्द्रित भए हुन्छ । यसमा सबै लोकतान्त्रिक दलहरुले सोचेर अघि बढनु आजको आवश्यकता बन्न सकोस ।

Author

You may also like