संस्कार मानिसको जीवनमा अपरिहार्य रहन्छ । संस्कार विनाको मानिस लगाम विनाको घोडा झै हुन्छ । हरेक क्षेत्रमा संस्कारको आवश्यकता पर्दछ । संस्कार भएन भने जुनसुकै क्षेत्र पनि बदनामको शिकार बन्दछ । त्यस्तै संस्कार नभईनहने क्षेत्र हो राजनीति । पुराना नेताहरुले संस्कार सिकाउन चाहे वा सिकाएर गए पनि त्यसको सिको गर्न पछिल्लो पुस्ताले नमानिरहेको देखिन्छ । लोकतान्त्रक अभ्यासका खेलाडीहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहनलगायतका धेरै पुराना पुस्ताका नेताहरुले राजनीतिक संस्कार दिन खोजे तर त्यो संस्कार पछिल्लो पुस्तामा देखिएन ।
पछिल्लो राजनीतिक पुस्ताका नेताहरुमा मात्र सत्ता र स्वार्थ बाहेक कुनै संस्कार नदेखिएकै कारण यतिखेर गल्ति गल्लिमा जिन्दावाद र मुर्दावादका नारा लाग्न थालेका छन् । लोकतान्त्रिक गणतन्त्र विश्वकै नमूना व्यवस्था भए पनि संस्कारविहिन व्यक्तिको आचारण, शैली, व्यवहार, विधि र पद्दतिका कारणले व्यवस्था नै खराब हो भन्नेमा पु¥याई सकेका छन् । त्यसैले होला यतिखेर पुरानो व्यवस्थातिर मानिसहरुको लगाव ढल्किँदै गईरहेको देखिन्छ, भेटिन्छ र सुनिन्छ । नियम, कानुन, विधि र पद्दतिलाई एकातिर पन्छाएर तेरो र मेरोको सीमा रेखाबाट विभेदको राजनीति गरिरहेको सन्दर्भ यतिखेर निकै उछालिएको छ ।
नेपालको राजनीतिमा जे पनि हुनसक्छ । बाघले घाँस पनि खान सक्ने र बाख्राले मासु पनि खान सक्ने प्राकृतिक नियम विपरीतको विरोधाभास सिद्धान्त लागु हुनसक्छ । कुनै वर्गीय या कुनै विचारमिल्ने पक्षहरु मिलेर उनीहरुकै दलको सिद्धान्त र घोषणापत्रमा भने अनुसार काम होला भन्ने आधार कमजोर बनेको छ । कुन दल के आधारमा राम्रा र के आधारले कमजोर भन्ने छुटयाउने मापदण्ड नै भेट्न छोडिइसक्यो । सिद्धान्तका आधारमा कुन कम्यूनिजमवाला ? कुन डेमोक्र्याट्सवाला र कुन राजतन्त्रवाला भनेर छुट्याइराख्नु नपर्ने हुँदै गएको छ । सत्ता नपाउन्जेल पानी बाराबार हुने तर सत्ताको स्वार्थ मिलेपछि उनीहरुकै भाषामा ‘अन्त्यन्तै ठूला शत्रु’ पनि अन्त्यन्तै ठूला मित्रु हुने गरेको लाजको राजनीति विद्यमान छ ।
सत्तामा आफुहुँदा गरेको काम सबै राम्रो अनि आफु सत्तामा नहुँदा अरुले गरेको काम सबै नै खराब भन्ने द्वैध चरित्र बोकेका नेताहरुले राजनीतिक संस्कारलाई तिलाञ्जली दिएको पाइन्छ । राम्रो वा नराम्रो त गुण वा दोषका आधारमा मात्र हुने हो । अर्थात् उसले गरेको कामको आधारमा भनिने हो । तर आफ्नो आङ्मा भैंसी पनि नदेख्ने र अरुको आङ्मा जुम्रा समेत देख्ने पक्षपाती दृष्टिकोणको विकास भइरहेको छ । गलतलाई सही र सहीलाई गलत बनाएर सिद्धान्तलाई उल्टो पार्ने र आउने पुस्तालाई त्यही घोकाउने अधोगतिको काम भइरहेको देखिन्छ ।
राजनीतिक प्रसंगको कुरा गर्दा अहिले देशमा नयाँ सत्ता समीकरण भएर विल्कुल अलग अलग सिद्धान्तका पार्टी मिलेर सरकार चलाउन थालेका छन् । सरकारले गति लिन नसकेको, लोकतन्त्रको संस्थागत विकासमा जोड दिन नसकेको, जनताका आधारभूत आवश्यकताका विषयमा उदासीपन देखाएको जस्ता आलोचना गरेर एमाले र माओवादीबीचको एकता टुटाएर एमालेले कांग्रेससँग मिलेर सत्ता समीकरणको जोडघटाउ बनायो । यि दुई देश देशका सबैभन्दा ठूला दल पनि हुन् । दुई ठूला ठूला दल मिलेर सत्ता समिकरणबाट राज्य सञ्चालन गरेको सम्भवतः यो नै विश्वको एक मात्र देश होला । यस अवस्थाले सत्ता परिवर्तन जतिखेर पनि हुने र जोसँग पनि सहकार्य हुनसक्ने कुरा अझ टड्कारो बनाएको छ । सत्ता स्वार्थमा कतिपय विषयमा स्वार्थ नमिल्दा, सहमति हुन नसक्दा स्वार्थ मिलाउने पक्षसँग सरकार बनाउने परिपाटी ले देश उदाङ्गो मात्र बनेको छैन राजनीति प्रति जनताको हेराई बदलिन थालिसकेको छ ।
साँच्चै नै मुलुकको चिन्ता लागेर देशलाई अग्रगमनमै लैजाने हो भनें देश र जनताका लागि मात्र सरकार बन्नुपर्दछ । तर यहाँ विपरित छ । सरकार जनताको मतबाट बन्छ पक्षपोषण धनाढ्य, तस्कर, हत्यारा, घुस्याहा, लुटेरा, कालाबजारिया, जनता डुबाउनेको पक्षमा लाग्ने गरेको देखिन्छ । त्यसैले जनताले भन्न थालेका छन– देशमा व्यवस्था बदलियो तर जनताको अवस्था ज्युँका त्युँ रह्यो । अहिले त जनताको गाँस, बास र कपासको सवालमा जसले राम्रो गर्न सक्छ उ नै राम्रो दल भएर निस्कन्छ । तर राजनीतिक दलहरुले त्यसलाई भिड र अराजक भन्न पछि परेका छैनन । राजनीतिक दलका कार्यकर्ता मात्र देख्ने तर जनताको पक्षमा बोल्ने र लाग्नेलाई अराजक बनाईदिने परिपाटी नै पक्षपाती देखिन्छ । पार्टीको घोषणापत्रमा अत्यन्तै ठूला, महान दर्शन, विचार र परिवर्तनका कुरा सामान्य बन्न सक्छ । तर जसरी पनि आफु सत्तामा पुगिछोड्न गरिएको राजनीति अथवा समीकरणले अन्ततः दल, नेता र कार्यकर्तामा हानी पु¥याउँछ भन्ने हेक्का नहुनु नै संस्कार बिग्रिनु् हो । तसर्थ, अरुले गरेका राम्रा कामको पनि जस दिँदै आफ्ना कमजोरीलाई पनि स्वीकारेर देश र जनताका लागि सरकार निर्माण गर्ने संस्कार बसालौं । राजनीतिक संस्कारले मात्र देश परिवर्तनको महसुस गराउन सक्छ ।