देश–समाज

तीन ज्येठ नागरिक सम्मानित

विराटनगर, ०१ माघ। कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले चौथो वार्षिक साधारण सभाका अवसरमा झापाका २ र उदयपुरका १ गरी तीन जना वरिष्ठ ज्येष्ठ नागरिक अभियन्ताहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा झापाको दमकका भवानी प्रसाद दाहाल, विर्तामोडका इश्वरी प्रसाद तिमल्सिना र उदयपुर खिलानाथ घिमिरे रहेका छन् । कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जगदीश प्रसाद ओली र कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मणिकुमार अज्र्यालले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका छन् । भवानी कोशी प्रदेश तथा झापा जिल्ला ज्येष्ठ नागरिक संघको संस्थापक अध्यक्ष हुन् । हाल बिरामी अवस्थामा रहेकाले उनी कार्यक्रममा भनें उपस्थित हुन सकेनन् ।

साधारणसभामा प्रदेश महासंघका अध्यक्ष अज्र्यालले महासंघको वार्षिक प्रतिवेदन पेश गर्दै ज्येष्ठ नागरिकहरुको सम्मानित र मर्यादित जीवनका लागि उनीहरुका सम्बन्धमा बनेका ऐन कानूनहरुलाई सरकारले व्यवहारिक कार्यान्वयनमा ल्याउनुपर्ने जनाए । अध्यक्ष अज्र्यालले ऐनअनुसार सार्वजनिक यातायातमा दिइने भनिएको ५० प्रतिशत गाडी भाडा छुट दिनुपर्ने, सामाजिक सुरक्षा भत्ता समयसापेक्ष वृद्धि गर्नुपर्ने, सार्वजनिक सेवा प्रवाह गर्दा छुट्टै सहायता डेस्कको व्यवस्था गर्नुपर्ने, सार्वजनिक निकायका कार्यालय र स्थलहरु ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने, जिल्ला अस्पतालहरुमा छुट्टै वार्डका व्यवस्था गर्नुपर्ने माग अघि सारे । उनले प्राइमरी एड्भाइजर चिकित्सक राख्नुपर्ने, स्वास्थ्य बिमालाई सहज र सरल बनाउनुपर्ने, ज्येष्ठ भत्ता वितरण स्थानीय बैंक तथा वित्तीय संस्थाहरु मार्फत् सहज ढंगबाट गर्नुपर्ने, दिवा सेवा केन्द्र, वृद्धआश्रमहरुलाई कार्यविधि बमोजिम बनाउन अनुगमन गर्नुपर्ने लगायतका माग राखे ।।

सभामा सह–कोषाध्यक्ष ठगेन्द्र प्रसाद आचार्यको आर्थिक प्रतिवेदन र बाँस्कोटाको विधान संशोधन प्रस्ताव आवश्यक छलफल पछि पारित गरेको थियो ।

You may also like