समाचार स्थानीय

रतुवा, कमल, विरिङ र मेचीमा बगरखेती विस्तार हुँदै

दमक, १ माघ। बाढीले खेतलाई बगर बनाएपछि जिविकोपार्जन गर्ने अन्य उपाय नभएका किसानले धमाधम बगरमा खेती गर्न थालेका छन् । झापाको सवैभन्दा ठूलो कन्काई नदीको सयौं विगाह खेतीयोग्य जमिन बगरमा परिणत भए पछि बगरमै हुने खरभूजा खेती विस्तार तर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

झापाको दक्षिणी भूभाग खासगरी खोलाबाढीको उच्च जोखिममा रहेको छ । दक्षिणी क्षेत्रमा बर्षेनी धान खेत बगर बन्दै जान थाले पछि किसानले बगरमै उत्पादन हुने कृषि बाली विस्तार गर्न थालेका हुन् ।

झापाको रतुवा, कमल, विरिङ र मेची लगायतका खोलाहरुमा ठूलो क्षेत्रमा बगरखेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यस अघिका बर्षहरुमा केन्द्र मार्फत अनुदान समेत दिएकाले यूवाहरुको आकर्षण बगरखेती तर्फ थप बढ्दै गएको छ ।

झापा जिल्लामा बाढीका कारण ४ हजार हेक्टर भन्दा बढी क्षेत्रफल बगरमा परिणत भएको नदी नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्यालयको तथ्याङक छ । बाढीले बास हराएका सयौं घर परिवारलाई दिगो बाँध निर्माण गर्न सके सयौं विगाह जमिनमा अन्न उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ ।

झापाको कन्काई नदीमा आएको बाढीले मात्र केही बर्षयता सयौं विगाह धानखेत बगर बनाएको छ । खेतीयोग्य जमिन बगरमा परिणत भएपछि किसानले यो वेला बगरमा हुने खरभूजा, काँक्रा, करेला लगायतका बालीहरु धमाधम रोप्न थालेको किसान राजकुमार राजबंशीले बताए । राजवंशीका अनुसार कन्काई नदी आसपास मात्रै १ हजार हेक्टर बढी क्षेत्रफलमा बगर खेती हुँदै आएको छ । एक विगाहमा खेती गर्दा झण्डै २ लाख रुपयाँ खर्च हुने र ४० जना भन्दा धेरै जनशक्ति चाहिने उनले बताए ।

पुस्तौंदेखि नदीको किनारमा बसोवास गर्दै आएका ईश्वर माझीले यो बर्ष ७ विगाह क्षेत्रफल भाडामा लिएर खरभूजा खेती थालेको बताए । झण्डै १० लाख लगानी गरेर थालिएको खेतीले राम्रो आम्दानी भएमा दोब्बर मुल्यको खरभूजा उत्पादन हुने उनले बताए । बर्षातमा डुङ्गा संचालन गर्दै आएका माझीले यस बर्षदेखि आफूले पनि भाडामा जग्गा लिएर खेती थालेको बताए ।

Author

You may also like