देश–समाज समाचार स्थानीय

दशैंको मुखमा अतिविपन्नको चुल्होमा आगो बाल्न दमक नगरपालिकाको सहयोग

दमक/ दमक नगरपालिकाले आर्थिक पहुँच कम भएका र अतिविपन्न परिवारलाई दशैंको मुखमा खाद्यान्न वितरण गरेको छ ।
सामाजिक विकास संयोजक शारदा भट्टराईको सभापतित्वमा आयोजित सो कार्यक्रममा नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, पूर्व नगरप्रमुख रोमनाथ ओली, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, कांग्रेसका कार्यवहाक सभापति प्रेमप्रसाद भट्टराई, नेकपा एमाले नगरअध्यक्ष राम पौडेल, माओवादी केन्द्रका रवि बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरअध्यक्ष नविन पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष हेम सुवेदी, नगरपालिकाका कर्मचारी, नगरपालिकाका १० वटै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, नगरसभा सदस्यहरु, शाखा प्रमुखहरु, सञ्चारकर्मीलगायतको सहभागिता तथा आतिथ्यतामा सो कार्यक्रम सम्पन्न गरिएको थियो । दमक नगरपालिकाले पहिचान गरेका विपन्न परिवारका ४२ सय मध्येबाट सम्बन्धित वडाअध्यक्षहरुको सिफारिसमा हरेक वडाबाट ३० जना अतिविपन्न परिवार छनौट गरी पठाइएको सिफारिसका आधारमा सो कार्यक्रममा खाद्यान्न वितरण गरिएको नगरप्रमुख थापाले बताए ।
सामाजिक विकास शाखा प्रमुख केशवप्रसाद प्रसाईले सञ्चालन गरेको सो कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले ५० केजी मनसुली चामल, २ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ डल्ला लुगाधुने साबुन र सामान डेलिभरिको लागि प्रतिव्यक्ति २ सय सहित रकममा रुपान्तरण गर्दा ५ हजार १ सय १० रुपैयाँ उपलब्ध गराउने निर्णय अनुसार वितरण गरिएको बताए । अघिल्लो वर्ष नै ५ सय जनालाई खाद्यान्नको व्यवस्था गर्ने योजना बनाएको नगरपालिकामा प्रक्रियागत रुपमा ढिला भएको कारणले अघिल्लो वर्षको कार्यक्रमका रुपमा यसलाई वितरण गरिएको नगरप्रमुख थापाले बताए । यो वर्ष २०८०/०८१ को कार्यक्रम चैत्रमा अन्य विपन्नहरुलाई समेत वितरण गर्ने तयारीमा नगरपालिका लागेको नगरप्रमुख थापाले बताए । स्थानीय सरकार दमकबासीको स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका अन्य सबै सरोकारवाला विषयहरुमा प्राथमिकतापूर्वक अगाडि बढेको बताए । देश विपदको परिस्थितिमा रहेको बेला तरपनि दमकबासी रतुवा र मावाबाट यो परिस्थितिमा धेरै पीडित हुँदै आए पनि करिब ९ किलोमिटरमा गरिएको तटबन्धनले यो वर्ष दमकबासीले विपद्को सामना गर्न नपरेको कारणले पनि दमकबासी भाग्यमानी ठानेको सुनाए ।
नगरउपप्रमुख रेगिना भट्टराई प्रसाईले मानविय संशोधन विकासलाई दिनपर्ने, एउटा मानिस भएर मानिसका लागि बाँच्न अति आवश्यक व्यस्थापन छ कि छैन भनेर नगरपालिकाले महत्वका साथ धेरै कार्यक्रम गर्दै आएको बताईन । उनले खान पनि नपाईरहेको अवस्थालाई मध्यनजर गरेर छुन, देख्न र अनुभुति गर्न सक्ने सरकारको तर्फबाट यहाँको जीवनयापनमा केही सहज होस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताईन । सबै वडामा विधिपूर्वक, नीतिसम्बद्ध, ऐन र नियमलाई ख्यालमा राखेर विपन्न त धेरै हुनुहुन्छ तथापि विपन्नमध्येबाट पनि अति विपन्न भन्ने शब्दलाई जोडेर घरगृहस्थीको व्यस्थापन नै अत्यन्तै कमजोर छ, जीवन जिउने कुरा नै अत्यन्तै नाजुक छ त्यस्तो व्यक्तिलाई फोकस गरेर कार्यक्रम आयोजना गरिएको बताईन । शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुगोस् भनेर दिर्घकालिन र अल्पकालिन कामहरु भएको पनि उनले बताईन् ।
सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईले नदी उत्खनन् गर्ने, जथाभावी गिटी र बालुवा निकाल्ने, नदीलाई जथाभावी अतिक्रमण गरेर घर बनाईदिने, सबैलाई त्यसले रोक्ने सबै मिलेर काम गर्न अगाडि बढ्न आग्रह गरे । उनले नगरपालिकाले जे कामहरु गरिरहेको छ त्यो अत्यन्तै सह्रानीय काम भईरहेको पनि उनले बताए ।
पूर्व मेयर रोम ओलीले संवैधानिक मौलिक हकको संरक्षण गर्दै अति विपन्न परिवार नैसर्गिक अधिकार रक्षाका लागि गरिएको कार्यक्रम रहेको बताए । उनले ऐनले सँधैभरि पाल्ने भन्ने कुरा नहुने तर उनीहरुलाई रोजगारमूलक कार्यक्रमहरु राज्यले अगाडि सार्न पर्ने पनि बताए । नगरपालिकाले गरेको आजको यो कार्यक्रम निकै अगाडि हुनुपर्ने तर तथ्याङ्क संकलनको कामले ढिलै सुरु भए पनि राम्रै भईरहेको उनले बताए । यस्ता मानविय सेवाका कामलाई थप व्यवस्थित, मर्यादित बनाउन सबैको साथ र सहयोग रहने कुरा पनि ओलीले औंल्याएका छन् ।
यसैगरी, सभापतित्व गरिरहनु भएकी सामाजिक विकास समिति संयोजक शारदा भट्टराईले नेपालको संविधानले तोकेको खान पाउने, लाउन पाउने, बस्न पाउने, स्वास्थ्य र सुरक्षा पाउने संवैधानिक अधिकार भएपनि नेपालको परिस्थितिले गर्दा हामीले अप्ठ्यारोमा परेका गरिबीको रेखामुनी रहेका नगरबासीलाई त्यो सबै कुरा उपलब्ध गराउन नसकेको भए पनि उनीहरुको हितका लागि कार्यक्रमहरु भईरहनेछन् । उनले नगरभित्रका विपन्न, अतिविपन्न र गरिबीको रेखामुनी रहेका व्यक्तित्वहरुलाई राहत दिनका लागि हरेक वार्डबाट २ सय देखि ३०० जनाले पाउनुपर्ने पनि उनले बताईन । अहिले गरिबीको अत्यन्तै चरम अवस्थामा रहेका व्यक्तित्वहरुलाई आजको यस कार्यक्रमबाट सहयोग विपतरण गरिएको पनि बताईन । उनले बाटो बन्ने, पुल बन्ने, ठूला ठूला स्टक्चर बन्छन, बाढीले धेरै बाटाका पुलहरु बगाएको छ, यि संरचनाहरु बनिरहन्छन, बगिरहन्छन तर मानवले पाउने औषधी उपचार, खान पाउने, बाँच्न पाउने अधिकार सबैभन्दा महत्वपूर्ण कुरा रहेको उनले बताईन ।
नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट स्वीकृत ‘जहाँ विपन्न त्यहाँ खाद्यान्न’ भन्ने कार्यक्रम अन्तर्गत रु १५ लाख रुपियाको वजेटमार्फत ती खाद्यान्न वितरण गरिएको कार्यक्रममा बताइएको छ । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले नगरबासीलाई आउँदै गरेका पर्वको अवसरमा शुभकामना दिएका थिए ।

Author

You may also like