देश–समाज राष्ट्रिय सम्पादकीय

संस्कृति संरक्षण नै समृद्धिको आधार

देशमा गणतन्त्र स्थापनापश्चात आएको दमकको स्थानीय सरकारले दमकका निम्ति महत्वपूर्ण योगदान गर्ने जाती वा समुदाय खोज्दै गर्दा धिमालहरु अगाडि देखिएपछि उनीहरु पहिलो नागरिक घोषणा गरियो । त्यो घोषणा भएको ७ वर्ष पुगिसक्दा पनि धिमाल बाहेक अरुको हुन नसक्नु पीडादायी रहेको वक्ताहरुले औल्याए ।
धिमाल व्यवस्थापन समिति उर्लाबारी नगरसमितिका सचिव तथा धिमाल जाति विकास समितिका महासचिव मातृका धिमालले दमक नगरपालिकाको गल्लि, गल्लि र चोक चोकमा धिमालले मात्र होइन, यहाँ बसोबास गर्ने सबै समुदाय, विभिन्न जातजातिहरुले यो सातौ स्थापना दिवस मनाउनु पथ्र्यो । कसैले एउटा सानो विवाह पार्टी गर्दा देखिने तामझामले आजको यो कार्यक्रमलाई फिक्का बनाइदिएको महसुस भएको पनि उनले बताए । उनले भने– त्यो बेला दल दल र घना जंगल रहेको दमकलाई सहरमा रुपान्तरण गरेर यहाँहरुलाई बसोबासका लागि योग्य भूमि निर्माण गर्ने धिमालहरु अहिले जनजनको मनमा बस्नु पर्दथ्यो । यो समुदायका मात्रै नभएर दमकबासीका लागि दमकका पहिलो नागरिक घोषणाको विषयलाई गौरवमय र साझा बनाइनु पर्दथ्यो तर त्यसो हुन नसक्नु दुःखदायी रहेको बताए ।
हो साँच्चै नै पृथ्वीनारायण शाहले भने झै नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो । यो फुलबारीमा फुल्ने हरेक फुलहरु यस देशका गहना हुन । सम्पत्ति हुन । यहाँ बसोबास हरेक सबैका आ–आफ्ना संस्कार, संस्कृति, विधि र विधान छन यहि कारणले पनि विदेशीहरु नेपाली संस्कृतिको व्याख्या गर्ने गर्दछन् र हेर्न आउने गरेका छन् । विभिन्न जातजाति, भाषाभाषीको फूलबारीका रुपमा चिनिएको नेपाल सांस्कृतिक रूपमा अन्य विकसित मुलुकहरू भन्दा अगाडि छ। विविध जातिहरूका यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई आफ्ना जातीय संस्कृति, भाषा, भेषभुषा, परम्परा र रितिरिवाजलाई सकारात्मक सन्देशसहित पुस्तान्तरण गर्नुपर्ने दायित्व पनि हामीले बोकेका छौं । त्यसै पनि भावी पुस्ताका लागि इतिहास खुल्ला किताब हो । मौलिक पर्वहरू जोगाई राख्न हरेक समुदायलाई चलायमान गराउन राज्य निकै चनाखो बन्दै स्वच्छ, निष्पक्ष, भाइचारा, एकताका कार्यक्रम ल्याएर सबैलाई एकत्रित गर्न सक्ने ल्याकत सरकारमा हुन आवश्यक देखिन्छ ।
बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक हाम्रो देशमा फरक–फरक धर्म अंँगाल्ने धर्मावलम्बीका फरक–फरक पर्व तथा परम्परा छन् । धर्म संस्कृतिमा विविधता एवं धार्मिक तथा सामाजिक सहिष्णुता नेपाल र नेपालीका विशेषता हुन् । संस्कृति समाजका ऐना हुन् । समाजको पहिचान संस्कृतिले बोकेको हुन्छ र त्यही संस्कृतिमै सभ्यता र पुर्खाको इतिहास मिसिएको हुन्छ । सभ्य र सचेत समाजमा संस्कृतिका नकारात्मक पक्षलाई परिमार्जन गर्दै जगेर्ना, उत्थान र संरक्षणमा लाग्न आवश्यक देखिन्छ ।
विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी कसैले भुल्न हुन्न । सबैका साझा सम्पत्तिका रुपमा विभिन्न जातजाति, धर्म र समुदायका संस्कार, संस्कृतिको गजेर्ना, उत्थान र संरक्षणका निम्ति स्थानीय सरकारका सचेत, निष्पक्ष र स्वच्छ भएर सबैका लागि स्थानीय सरकारको अनुभुत गराउन सक्नु पर्दछ । अरुलाई पाखा लगाएर एउटालाई मात्र गर्ने वा केहीलाई गर्ने र केहीलाई नहेर्ने परिपाटीले हाम्रा संस्कृतिमाथि अतिक्रमण हुन सक्छ, वा लोप हुन सक्ने देखिन्छ । जातजातिका संस्कृति समुदायबीचको एकता अनि प्रेमको प्रतीक बन्न र बनाउन सक्नु पर्दछ । सांस्कृतिक उत्सवहरूले हामीलाई सत्य र नैतिकतामा रहने मार्गदर्शन गरेको हुन्छ । असत्य परित्याग गर्दै सत्य अवलम्बन गर्ने प्रेरणा प्राप्त होस भनेर भर्खरै दशैंमा मान्यवरबाट टिका ग्रहण गर्दै विजया दशमी २०८१ लाई बिदा गरिसकेका छौं । यस्ता मौलिक परम्पराबाट हामीले शिक्षा लिनुपर्ने हुन्छ । सबै जातजातिका संस्कृतिलाई लोप हुन नदिन र तिनीहरुका संस्कृतिको माध्यमबाट एकता, भाइचाराको सम्बन्ध स्थापित गरिरहनका निम्ति पनि स्थानीय सरकारले सबै जातजाति, धर्म र समुदायका निम्ति आवश्यक कार्यक्रम, योजना, नीति र निर्णय गर्न आवश्यक देखिन्छ । यिनैको माध्यमबाट उनीहरुको रोजीरोटी, शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्‍याउन सक्नु पर्दछ । तबमात्र सभ्य, सुसंस्कृति र स्वाभिमानी समाजको निर्माण हुनसक्छ ।

Author

You may also like