बङ्गलादेशको लोकतन्त्र र संविधानको बर्खिलाप तख्ता पलट भएको छ । बङ्गलादेशी सेनाहरुले लोकतान्त्रिक विधिबाट निर्वाचित बङ्गलादेशका अवामी लीग पार्टीका नेता तथा देशका प्रधानमन्त्री हसिना वाजेदलाई कञ्चटमा पेस्तोल तेर्साएर आप्mनो पदबाट राजीनामा दिई बङ्गलादेश छोड्न बाध्य पारेको छ । बङ्गलादेशी सेना प्रमुखले सत्ता हत्याए लगत्तै बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बीहरु माथिको नरसंहार थामी सक्नु छैन । हत्या, बलात्कार, लुट, आगजनी जस्ता त्रासदीपूर्ण अवस्था व्योहोरिरहेका बङ्गलादेशका एक करोड भन्दा बढि सङ्ख्यामा रहेका हिन्दु धर्मावलम्बीहरुको जीवनमाथि संकटको पहाड मडारिन थालेको छ । सामुहिक बलात्कार र नरसंहारको पीडा सहन नसकी लाखौ हिन्दु शरणार्थीहरु भारत (पश्चिम बङ्गाल) प्रान्तको भारत बङ्गलादेश सीमा नजिक आएर भारतसित जीवन रक्षाकालागि शरणको माग गर्न थालेका छन् । देशका नव नियुक्त गैर राजनीतिक र असैनिक सरकार, प्रमुख मुहम्मद युनुसले सत्तारोहन गरे लगत्तै देशवासीहरुमा शान्ति स्थापनाको लागि पटक–पटक अपील गरेपनि उन्मादी भीडहरुले मानवतालाई नै कलंकित पार्ने गरी आमा, छोरी, चेलीहरुको इज्जत लुट्दै हत्या र नरसंहार मच्चाई रहेको दृश्यहरु सोशल मिडियाहरुमा प्रशस्त रुपमा देखा परिरहेको छ । यस्तो लाग्छ कि बङ्गलादेशमा राक्षसहरुको शासन (राज्य) कायम भएको छ । बङ्गलादेशका इस्लामिक कट्टर, चरम पन्थीहरुले हिन्दुहरुको पूजा स्थल, मन्दिर, घर, व्यापारिक प्रतिष्ठानहरुमा आगो लगाउँदै, लुट्दै, मानिसहरुलाई निर्दयतापूर्वक आक्रमण गर्दै आगोमा झोस्ने कार्य समेतलाई दिनहुँ निरन्तरता दिई नै रहेको अवस्था छ । यस्तो लाग्छ कि बङ्गलादेशमा सरकार परिवर्तनकोलागि आन्दोलन नभएर सरकार परिवर्तनको निहुँमा झुर इस्लामिक आतंकवादीहरुलाई त्यहाँको अल्पसङ्ख्यक हिन्दु समुदायलाई समाप्त पारेर पाकिस्तान र अफगानिस्तान जस्तै पूर्ण इस्लामिक राष्ट्र बनाउने अभ्यास गराउन थालिएको छ । बङ्गलादेश कुनै समयमा अविभाजित भारतकै अङ्गको रुपमा रहेको थियो । भारतमा लामो समयसम्म शासन गरेका ब्रिटिशहरुले भारतलाई धर्मको आधारमा विभाजन गरेर भारत र पाकिस्तान दुईवटा स्वतन्त्र राष्ट्रको निर्माण गरेपछि यस क्षेत्रमा हिन्दु धर्मावलम्बीहरु माथिको आक्रमण निरन्तर रुपमा जारी रहेकोछ । पाकिस्तानबाट सन् १९७१ मा छुट्टिएको बङ्गलादेशले आप्mनो स्वतन्त्रता प्राप्त गरे लगत्तै बङ्गलादेशलाई धर्म निरपेक्ष राष्ट्रको रुपमा संवैधानिक मान्यता प्रदान गरेको थियो । तर सन् १९७५ मा त्यहाँको कट्टर चरमपन्थीहरुको सहयोगबाट बङ्गलादेशको सेनाले विद्रोह गरेर बङ्गलादेशका सरकार प्रमुख बङ्गबन्धु शेख मुजीबुर रहमानको सपरिवार हत्या गरेपछि बङ्गलादेशमा पहिलो पटक तख्ता पहल भएको थियो । उक्त नर संहारमा शेख मुजीबुर रहमानका परिवारका सबै सदस्य मारिएका थिए । तर संयोगवश, शेख मुजीबुरकी छोरी शेख हसिना वाजेद र उनकी बहिनी देश वाहिर रहेको हुनाले ज्यान जोगिएको थियो । उनै शेख हसिना वाजेदले बङ्गलादेशमा लामो समयसम्म अर्थात् करिब २० वर्षदेखि शासन सत्ता चलाउँदै आइरहेकी थिइन् । उनलाई कडा टक्कर दिने उनका प्रतिस्पर्धी र प्रतिपक्षी दलकी नेतृ बेगम खालिदा जिया भ्रष्टाचारको आरोपमा करीब सात वर्षदेखि बङ्गलादेशको जेलमा जीवन बिताईरहेकी हुनाले उनका समर्थकहरुले कडा प्रतिवाद गर्दै आइरहेको थियो । बेगम खालिदा जियाका समर्थकहरुले पाकिस्तानी सेनाले खडा गरेको आतंकवादी संगठन आई.एस.आईसँगै मिलेर सडकमा आएपछि र त्यसलाई बङ्गलादेशमा छात्र संगठनहरुले सघाउन थालेदेखि करीब एक महिनादेखि सरकारको विरोधमा उग्र आन्दोलनको शुरुवात गरेको थियो । शुरु–शुरुमा आन्दोलनको उद्देश्य सरकारले शहीद परिवारहरुलाई दिँदै आएको आरक्षणको सुविधा समाप्त पार्ने माग नै प्रमुख थियो । आन्दोलनलाई दबाउन बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले सेना परिचालन गरे पनि उक्त विद्रोहलाई दबाउन सरकारलाई हम्मे–हम्मे परिरहेको थियो । आन्दोलनमा सहभागी हुनेहरु मध्येबाट करीब ३०० जति आन्दोलनकारीहरुको सेनाको गोलीबाट मृत्यु भए पनि आन्दोलन शान्त हुने कुनै छाँटकाँट नदेखिएपछि सरकारले आन्दोलनकारीहरुले उठाईरहेको आरक्षण सम्बन्धी माग फिर्ता लिएको थियो । सरकारले प्रतिपक्षी दलकी नेतृ बेगम खालिदा जियालाई पनि जेलबाट छोड्ने आदेश दिईसकेको थियो । यति हुँदाहुँदै पनि आन्दोलनमा हिंस्रक र अराजक कट्टरबादी इस्लामिक समूहरुको अगुवाई हुन थालेपछि उनीहरुले सरकारी कार्यालयहरु र भवनहरु माथि आक्रमण घनीभूत रुपमा बढाउँदै लगिरहेका थिए । सरकारलाई जुनसुकै हालतमा सत्ताबाट हटाउने अडान आउनासाथै बङ्गलादेशका सेना प्रमुखले शेख हसिना वाजेदलाई ४५ मिनट भित्र प्रधानमन्त्री पदबाट राजीनामा दिई देश छोडेर जान आदेश दिएपछि शेख हसिना वाजेद थोरै इन्धन भएको बङ्गलादेशकै सेनाको एउटा हेलिकप्टरमा चढेर भारतको त्रिपुरामा आकस्मिक अवतरण गरेकी थिईन् । त्यसपछि भारतीय सेनको विमानले उनलाई भारतको अगरतलाबाट नयाँ दिल्लीस्थित गाजीयावाद विमान स्थलमा अवतरण गरेको थियो । त्यस बेलादेखि शेख हसिना वाजेद विमान स्थलकै अतिथि गृहमा बसेकी छिन् अथवा भारतीय सेनाले उपलब्ध गराएको कुनै गोपनीय स्थानमा शेल्टर लिई बसेकी छिन् । शेख हसिना वाजेदलाई बेलायती सरकारले शरण दिन नमानेपछि सम्भवतः कुनै अन्य इस्लामिक राष्ट्रमा शरण लिने तयारी गरिरहेकी छिन् । औपचारिक रुपमा भारतसँग पनि शरणार्थीको रुपमा बस्न प्रस्ताव न गरिएको हुनाले भारत सरकार पनि यस सम्बन्ध मौन छ । शेख हसिना वाजेदको बीस वर्ष लामो कार्यकालमा बङ्गलादेशको आधुनिकीकरण र विकास सम्बन्धी थुप्रै कार्यहरु सम्पन्न भएको छ । खास गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले बङ्गलादेशलाई विकसित र आधुनिक देशमा रुपान्तरण गर्नको लागि थुप्रै परियोजनाहरुमा पनि लगानी गरेको बुझिएको छ । तर श्रीलंकाको जनविद्रोह पछि एक वर्ष भित्रैमा बङ्गलादेश भित्र पनि त्यस्तै किसिमको सरकार विरोधी विद्रोह हुनुमा अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको ठूलै हात हुन सक्ने धेरै सम्भावना छ । आन्दोलन लोकतन्त्र बचाउनकै लागि गरिएको हो भने बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको मूर्ती फुटाउनु भित्रको के अर्थ छ ? त्यो स्पष्ट छैन । बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दु समुदायमाथि चरम अन्याय र अत्याचार गर्ने गराउने समूहहरुको उद्देश्य के हो र यस सम्बन्धमा खुलासा हुनु जरुरी छ । के इजराइल र प्यालेस्टिाइनी बीच चलेको युद्ध मानसिकता यस भारतीय महाद्धीपमा पनि पैmलाउँदै जाने योजना कुनै इस्लामिक चरमपन्थीको हात छ ? ढिलो–चाँडो यसको छिनोफानो हुने नै छ । तर पाकिस्तानको लोकतन्त्र जसरी पाकिस्तानी सेनाको नियन्त्रणमा छ । त्यसरी नै बङ्गलादेशको लोकतन्त्र पनि सेनाकोे हातको कठ्पुतली बनेको छ । अन्तराष्ट्रिय समुदायहरुले लोकतन्त्रलाई जोगाउन र आफ्नो संस्कृति, सभ्यता र विरासतलाई जोगाउन, यस्ता अतिवादी सोच र उग्रवादलाई बढवा दिने विचारहरुलाई निर्दयतापूर्वक दमन गर्न जरुरी छ । अनिमात्र लोकतन्त्र र हिन्दु संस्कृतिलाई हामी अक्षुण राख्न सक्छौँ ।